धरापमा सत्तासमीकरण: दाहाल ढुक्क, रवि दिक्क,ओली रुष्ट

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार :
कौशल कुमार भट्टराई

भक्तपुर/ नेपालको राजनीति नयाँ ढङ्गबाट अघि बढ्ने सङ्केत मिल्न थालेको छ । सत्तासमीकरणका लागि जता पनि पल्टिन तयार रहने गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्रका कारण सत्तासमीकरण धरापमा पर्ने सङ्केत देखिएको हो । विगतमा आफ्नो पदीय स्वार्थका कारण समीकरणलाई धरापमा पार्ने गरेको आरोप लाग्ने गरेका दाहाल यस पटक भने त्योभन्दा माथि उठ्ने अवस्था आएको हो । विवादित अवस्थामा रहेका रवि लामिछानेलाई उपप्रधान सहित गृहमन्त्री नदिने स्पष्ट अडानमा रहेका दाहालको यो अडानलाई भने राम्रो मानिएको छ ।
लामिछानेलाई तात्कालिन अवस्थामा उपप्रधानमन्त्री सहित गृहमन्त्रालयको जिम्मेदारी दिन दाहाल राजी हुनुपरेको थियो । सरकार गठनका लागि लामिछानेले मागेकै मन्त्रालय दिएर भए पनि प्रधानमन्त्री बन्नुपर्ने बाध्यतामा दाहाल थिए । गत पुस १० गते प्रधानमन्त्रीको दाबी पेश गर्नका लागि लामिछानेलाई मागेको मन्त्रालय दिएर भए पनि दाहालले आफ्नो प्रधानमन्त्री बन्ने चाहनालाई पूरा गरेका थिए ।
पछिल्लो समयमा परिस्थिति फेरिएको छ । सुशासन र सदाचारको नारा दिएर नथाक्ने लामिछानेले प्रयोग गरेको नागरिकतालाई सर्वोच्च अदालतले अवैध ठहर गरिदिएको छ । सोही नागरिकता प्रयोग गरेर चितवन क्षेत्र नं.२ बाट निर्वाचन जिती उपप्रधानमन्त्री समेत बन्न भ्याएका लामिछानेको सांसद पद समेत गुम्ने गरी अदालतबाट फैसला आएको अवस्था छ । यो स्थितिमा उनी अहिले सांसदविहीनको अवस्थामा छन् । उनलाई मन्त्री बनाउन सहज अवस्था छैन ।
खारेजीको अवस्थामा रहेको नेपाली नागरिकताको अनधिकृत प्रयोग गरी नेपाली राहदानी लिएको, सोही समयमा अमेरिकाको नागरिकता तथा राहदानी समेत प्रयोग गरेको जस्ता विषय अहिले पनि छानविनकै अवस्थामा रहेको छ । यसरी उनीमाथि लागेका आरोपहरुको विषय विचाराधीन अवस्थामा हुँदा लामिछानेलाई मन्त्री बनाउने पक्षमा प्रधानमन्त्री दाहाल अनिच्छुुक देखिएका हुन् ।
दाहालले यो विषयलाई लिएर आफ्नो स्पष्ट धारणा राखेका छन् । कम्तिमा अदालतको पूर्ण पैmसला नआएसम्म लामिछानेलाई आफूले मन्त्रीमा नियुक्ति नगर्ने स्पष्ट अडान दाहालको रहेको छ । दाहालको यो कुरालाई ठीक मानिएको छ किनकि छानविनकै दौरानमा रहेका लामिछानेलाई गृहमन्त्रालय सुम्पिएमा आफैं विवादमा पर्ने बुझाइमा दाहाल रहेका छन् । त्यसमाथि पूर्ण फैसलामा लामिछानेका अन्य गतिविधि तथा कार्यहरुका सम्बन्ध जस्तै राहदानी, विदेश यात्रा, नेपालमा टेलिभिजनमा काम गरेको विषय तथा धनसम्पत्ति जोडेको विषयलाई समेत पूर्ण फैसलामा केही कुरा आउन सक्ने भनी प्रधानमन्त्री दाहाल ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् ।
उता, यही विषयलाई लिएर सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली भने रुष्ट बनेका छन् । लामिछानेलाई स्थान दिएर आफ्नो स्वार्थसिद्ध गर्न चाहिरहेका ओलीलाई भने दाहाल र लामिछानेको टकराबले तनावमा पारिदिएको छ । लामिछानेलाई सरकारमा राखेरै आफ्नो स्वार्थसिद्ध गर्न सहज ठानिरहेका ओलीले दाहाललाई लामिछानेलाई पुनस्र्थापित गराउन दबाब दिंदै आएका छन् । ओलीले यसरी दबाब दिनुमा मुख्य रुपमा ओलीले चाहे अनुसारको सत्तासमीकरण कायम रहोस् र आफूले चाहेका व्यक्तिहरुलाई महत्वपूर्ण स्थानहरुमा स्थापित गर्न सकियोस् भन्ने रहेको समाचार स्रोतको दाबी छ ।
ओलीको मुख्य चाहना केही हप्तापछि हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारलाई जसरी विजयी बनाउनु रहेको बताइन्छ । दाहाललाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेको भागमा पारेका ओली सोही अनुसार आफ्नो ‘रबर स्टाम्प’ लाई राष्ट्रपति बनाउने योजनामा रहेका उनी निकटको स्रोतले जानकारी दिएको छ । पछिल्लो घटनाक्रमले ओलीको चाहनामा रोक लगाइदिएको छ ।
नेपाली कांग्रेसले समेत दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि परिस्थिति फेरिएको छ । कांग्रेसप्रति दाहाल सकारात्मक बनेका छन् । राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोजिनुपर्ने भनी दाहालले आफ्नो दलबाट निर्णय गराई सकेका छन् । त्यो भनेको एमालेले चाहे अनुसार राष्ट्रपति स्वाट्टै पाइहाल्ने स्थिति छैन है भन्ने हो । दाहालको दल नेकपा (माओवादी केन्द) ले राष्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेदवारलाई मतदान नगर्ने स्थिति आएमा एमालेको उम्मेदवार निर्वाचित नहुने अवस्था अहिलेसम्मको अंकगणितले देखाएको छ ।
त्यसमाथि लामिछानेले सरकार छाडे वा राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई मतदान नगरे झनै मुस्किल अवस्था आउने आंकलन ओलीले गर्दै आएको स्रोतले बताएको छ । ओली पछिल्लो समयमा आफू प्रधानमन्त्री बन्नका लागि पनि यही सत्तागठबन्धन कायम रहनुपर्छ भन्ने कुरामा स्पष्ट छन् । उनले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्र होइन कि भोलिका दिनमा विभिन्न संवैधानिक पदहरुमा समेत आफू निकटकालाई ल्याउन पनि सत्तागठबन्धन कायमै रहनुपर्छ भन्ने बुझेका छन् ।
ओलीको यही बुझाइ दाहालका लागि भने खतरनाक अवस्था रहेको भन्ने बुझाइमा प्रधानमन्त्री दाहाल रहेका छन् । हालका राष्ट्रपति विद्यादेवी भण्डारी ओलीको इसारामा चल्ने गरेको, दलीय स्वार्थमा रहेको जस्ता कुरा दाहालको मनमा छ । सोही कारण भोलिका दिनमा राष्ट्रपतिमा ओलीको ‘एस म्यान’ आए आफूलाई काम गर्न अप्ठेरो पर्ने बुझाइमा दाहाल रहेका छन् । यसैगरी भोलिका दिनमा दोस्रो चरणमा ओलीलाई प्रधानमन्त्री बनाइएका खण्डमा ओलीले राष्ट्रपतिको आडमा अनेक हुने नहुने कार्य गर्ने बुझाइ समेत दाहालको रहेको छ ।
यो अवस्थामा दाहाल पनि ओलीको चाहना पूरा गर्ने पक्षमा देखिएका छैनन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने खालको व्यक्तिव्य वा उस्तै परे नेपाली कांग्रेसले उठाउने उम्मेदवारलाई मतदान गराई विजयी बनाउनु उचित हुने बुझाइमा दाहाल पुगेको स्रोतले जानकारी दिएको छ । यो अवस्था आएमा हालको सत्तागठबन्धनबाट एमाले बाहिरिन सक्ने अवस्था आए पनि त्यसले आफूलाई प्रधानमन्त्रीबाट हटाउन नसक्ने बुझाइमा दाहाल रहेका छन् । उनको बुझाइ अनुसार सरकारबाट एमाले बाहिरिए कांग्रेसको साथमा सरकारमै रहने सोचाइमा दाहाल ढुक्क रहेको स्थिति छ ।
उता, वर्तमान सरकार गठन गर्ने बेलामा कांग्रेस, एमाले, माओवादी केन्द्रभन्दा बढी हतोरो अवस्थामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने दिक्क भएका छन् । गृहमन्त्री सहितको उपप्रधानमन्त्री पदबाट हात धुन पुगेका लामिछाने सांसद विहीन रहेको हालको अवस्थामा पनि सोही पदमा आसीन हुने चाहना अनुसार कहिले ओली निवास त कहिले दाहाल निवासमा दौडने गरेका छन् । आफूलाई पुन ः मन्त्री नबनाएमा आफ्नो दल सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएका लामिछानेलाई प्रधानमन्त्री दाहालले भने खासै महत्व नदिएको बताइएको छ ।
लामिछानेको दल सरकाबाट बाहिरिए पनि फरक नपर्ने बुझाइमा दाहाल रहेका स्रोतले जानकारी दिएको छ । लामिछानेको दल सरकारबाट बाहिरिएमा त्यसको विकल्पमा माधवकुमार नेपालको दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गराउने पक्षमा दाहाल देखिएका छन् । यो विषय एमालेका अध्यक्ष ओलीका लागि भने प्रत्युत्पादक अवस्था हो ।
एकीकृत समाजवादीलाई सरकारमा ल्याए त्यसलाई ओलीले सहज रुपमा नलिने स्थिति छ । यसैगरी राष्ट्रपति पदमा समेत माओवादीले आफूलाई अप्ठेरोमा पारिदिए सरकारबाट बाहिरिनु नै एमालेका लागि उचित हुने बुझाइमा समेत ओली पुगेको समाचार स्रोतले जानकारी दिएको छ । सरकारबाट बाहिरिने चेतावनी एमालेले दिएमा त्यसले पनि आफूलाई फरक नपार्ने भनी दाहाल भने ढुक्क अवस्थामा छन् । एमालेको विकल्पमा कांग्रेस रहेको तथा जनमत पार्टी समेत सरकारबाट बाहिरिएमा लोकतान्त्रिक समाजवादी पार्टीको समेत साथ लिएर प्रधानमन्त्रीमा अकन्टक रहने अवस्थामा आफू रहेको बुझाइमा दाहाल रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *