प्रधानमन्त्री दाहाल तनावमा: ओलीलाई ‘मुक्का’, देउवालाई धक्का

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन् । उनको पछिल्लो तनाव भनेको उनकी छोरी गंगा दाहाल विवादित बन्नु हो । यसैगरी अर्की छोरी रेनु दाहालकी छोरीको विवाह समारोहले पनि प्रधानमन्त्री दाहाललाई बेचैन देखाएको छ । यसैगरी एनसेलको शेयर खरिदविक्रीको काण्डले पनि दाहाललाई तनाव दिएको छ । यस्तै आफ्नै दल तथा सत्ता गठबन्धनमा हुने गरेका मनमुटावले दाहाललाई थप तनावमा पारेको उनैले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा व्यक्त गर्ने धारणामा देखिन थालेको छ ।
विगतमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदा उनकी छोरी सुजाता कोइराला विवादमा परे जसरी अहिले प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहालको नाम विभिन्न काण्डमा जोडिएर बाहिर आउने गरेको छ । विभिन्न ठेक्कापट्टादेखि तस्करी काण्डमा समेत उनको नाम जोडेर समाचार आउने गरेका तथा कतिपय नेताहरुले उनलाई विवादमा पर्ने गरी अभिव्यक्ति दिन थालेपछि प्रधानमन्त्री दाहाल सार्वजनिक रुपमै त्यसको बचाउका लागि बोल्न थालेका छन् । प्रधानमन्त्री दाहालले आफ्नो पारिवारिक अवस्था एकदमै कठिन अवस्थाबाट गुज्रिएको बताउँदै छोरी गंगा दाहाललाई विभिन्न काण्डमा अनावश्यक रुपमा मुछ्ने गरिएको भन्दै आक्रोश पोखेका छन् ।
खासगरी एनसेलको शेयर खरिदविक्री प्रक्रिया सार्वजनिक हुँदा त्यसमा गंगालाई जोडेर समाचारहरु बाहिर आएका थिए । नेपाल सरकारलाई ठग्ने नियतले हाल सिंगापुरमा बस्ने एक व्यापारीले एनसेलको शेयर छ बर्षपछि सरकारको नाममा स्वतः जाने अवस्थालाई रोक्नका लागि चलखेल गरेको आरोप लागेको छ । यस्तो कार्यमा उनलाई सहयोग गर्न प्रधानमन्त्री दाहालकी छोरी गंगालाई समेत प्रयोग गरिएको भन्ने खालका समाचार सार्वजनिक भएका थिए ।
ती व्यापारीसँग प्रधानमन्त्री दाहालको राम्रो सम्पर्क रहेको तथा त्यसकै बलमा व्यापारीले छोरीलाई प्रयोग गरी शेयर खरिदविक्री प्रकरण मच्याएको भन्ने खालका समाचारहरु बाहिरिएका छन् । यसको बचाउ गर्ने क्रममा प्रधानमन्त्री दाहालले तीतो यथार्थ पनि पोखेका छन् । दाहालले ती व्यापारीसँग आफ्नो सम्बन्ध रहेको कुरालाई नलुकाई पत्नी सीता दाहालको उपचारको क्रममा सिंगापुर जाँदा उनकोमा बस्ने गरेको स्वीकारेका छन् । यसैगरी ती व्यापारीसँग आफ्नो मात्र नभई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली समेतको उस्तै सम्बन्ध रहेको खोल्ने कार्य प्रधानमन्त्री दाहालले गरेका छन् । सिंगापुरमा कुनै काम विशेषले पुग्ने नेपाली नेताहरुलाई ती व्यापारीले आतिथ्यता प्रदान गर्ने गरेको पनि दाहालको दाबी छ ।
आफू र अन्य नेताहरुको सम्बन्ध रहेको कुरालाई सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले आफूले पदको दुरुपयोग गरी उनलाई लाभ पुग्ने गरी कुनै पनि कार्य नगरेको दाबी पनि गरेका छन् । उनले आफ्नो परिवारलाई विवादमा पार्ने कार्य भैरहेको भनी त्यस्तो कार्य नगर्न अनुरोध पनि गरेका छन् ।
यसैगरी प्रधानमन्त्री दाहालकी अर्की छोरी रेनु दाहालले आफ्नी छोरीको विवाह गरेको समारोह पनि विवादमा परेको छ । रेनु दाहाल भरतपुर महानगरपालिकाका प्रमुख पनि हुन् । कम्युनिष्ट पार्टीका सदस्य तथा प्रधानमन्त्री पिता रहेका बखत छोरीको विवाह निक्कै नै तडक भडकका साथ गर्नु दाहाल परिकारका लागि विवादमा पर्ने कार्यको रुपमा देखिएको छ । पाँच तारे होटलमा कानूनी व्यवस्थाको खिल्ली उडाउँदै गरिएको विवाह समारोह तथा प्रधानमन्त्री दाहालको सहभागितालाई लिएर प्रधानमन्त्री दाहाल स्वयम् नै विवादमा पर्ने कार्य भएको छ । यो विवाह समारोहको विषयलाई लिएर माओवादीले गरेको कथित जनयुद्धको विपरितको कार्य भनी आलोचना भैरहेको छ ।
उता प्रधानमन्त्री दाहाल आफ्नै दलको समस्यामा पनि जेलिन पुगेका छन् । माओवादी केन्द्रको हिजो विहीबार पदाधिकारी बैठक बसेको छ । मङ्गलवार दिउँसो बालुवाटारमा बसेको बैठकमा अध्यक्ष दाहालले चार महिने अभियानको समीक्षा, राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी, सरकारको एक वर्षे कार्यकालको समीक्षा, पार्टी एकता, विधान सम्मेलन लगायत विषयलाई बैठकमा पेस गरेका थिए ।
सोही बैठकमा प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामाको विषय पनि उठेको थियो । प्रधानमन्त्री दाहालको कार्यशैली, सरकारको निराशाजनक उपलब्धीलाई आधार बनाएर गजुरेलले राजीनामा दिएको कुरा आएपछि यो विषयले पनि प्रधानमन्त्री दाहाललाई थप तनाव दिएको समाचार स्रोतले दाबी गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भर्खरै लोकमार्ग केन्द्रित महाकाली–मेची अभियान चलाए पनि त्यसले एमालेमा खासै हलचल ल्याउन सकेन । एमालेले सोचे अनुसारको जनसहभागिता नहुनु तथा सोही अभियानको दौरान धनकुटामा अध्यक्ष खड्गप्रसाद शर्मा ओलीमाथि ‘मुक्का’ प्रहारको घटना हुनुले एमालेमा उत्साह भन्दा पनि सन्नाटा छाएको अवस्था देखिएको छ ।
मुक्का काण्डको दृश्य सार्वजनिक हुँदा ओलीमाथि एकजना मानिसले हानेकै देखिएको अवस्थामा पनि एमालेले त्यस घटनालाई लुकाउने प्रयास गरेको देखिन्छ । आफ्ना अध्यक्ष तथा आफ्नो दलप्रतिको आक्रोशको रुपमा उक्त घटना आउने भएमा एमाले रहेको देखिन्छ । महाकालीदेखिको अभियानमा सहभागी हुँदै आएका ओलीलाई आफ्नै कोशी प्रदेशमा आक्रमणको प्रयास भएको थियो । त्यसो त पूर्वमा चलेको पहिचानवादीहरुको आन्दोलनका कारण यसअघि पनि ओलीमाथि आक्रमण भएको थियो ।
उता, सत्ता संचालकको प्रमुख दल नेपाली कांग्रेसमा आन्तरिक द्वन्द्व चलिरहेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा र उनलाई मन नपराउनेहरुका बीचमा देखिएको तीक्तता झनै बढेर गएको अवस्था छ । कांग्रेसमा मधेस प्रदेश सम्मेलन हिजो विहीबार शुरु हुँदा पनि कांग्रेसमा रहेको तीक्तता रहेको देखिएको छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुँदा सो सम्मेलनमा कांग्रेसका नेता शेखर कोइराला सहभागी भएनन् ।
प्रदेश राजधानी जनकपुरधाममा हुँदा सभापति शेरबहादुर देउवाले सम्बोधन गरे । यसैगरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहितका शीर्ष नेताहरूले सभालाई सम्बोधन गर्दा कोइराला भने सुनसरी कांग्रेसको आयोजनामा हुने कार्यक्रममा सहभागिता जनाउन पुगेका थिए ।
यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा कोइराला सहभागी थिए । प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिका रुपमा नबोलाएपछि उनीनिकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेको बताइएको छ ।
कोइरालाले हालको सरकारमा सहभागिता जनाएको तथा प्रधानमन्त्री दाहालको पिछलग्गु बनेको भनी सभापति देउवालाई धक्का दिंदै आएका छन् । कोशी प्रदेशको मुख्यमन्त्रीको निर्वाचनमा आफ्नो ताकत देखाएका कोइराला पछिल्लो समय प्रधानमन्त्री दाहालका लागि पनि खतराको घण्टीको रुपमा देखिँदै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *