अनुसा थापा
सर्वसाधारणलाई घरबाट निस्किएपछि सबैभन्दा बढी दुइटा कुराले सताउँछ । पहिलोः बाटो कहाँबाट काट्ने ? दोस्रोः दिसापिसाब लाग्यो भने कहाँ जाने ? काठमाडौं उपत्यकामा नजिक–नजिक आकाशे पुल छैनन् । यता, भएका जेब्राक्रसहरु पनि मेटिसकेका छन् । सार्वजनिक शौचालय पनि पर्याप्त छैनन् ।
राजधानीमा जति सार्वजनिक शौचालय छन्, ती छिर्न सक्ने अवस्थाका छैनन् । हिजो दिँउसोको कुराको बागबजारस्थित पिके क्याम्पसको छेउमा एक जना युवक सबैले देख्नेगरी पिसाब फेरिरहेका थिए । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचित भएर आउनेबित्तिकै सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने घोषणा गरेका थिए ।
उनले आफ्नो निजी शौचालयलाई सार्वजनिक बनाउन चाहनेसँग आवेदनसमेत आह्वान गरेका थिए । सयौंले आवेदन दिए तर एउटाले पनि कार्यान्वयन गरेनन् । सस्तो लोकप्रियता कमाउन र चर्चामा आउनका लागि व्यवसायीहरुले त्यो गरेको प्रमाणित भइसकेको छ ।
महानगरले सार्वजनिक शौचालय बनाउनतर्फ चासो देखाएको छैन । यही बसोबास गर्नेलाई समेत बिहान हिँडेपछि शौचालय प्रयोग गर्न मुस्किल छ । झन् गाउँगाउँबाट आएकालाई महाभारत छ । कामले टाढा–टाढाबाट आएकालाई साह्रै समस्या छ । सार्वजनिक शौचालय प्रयोग गरेबापत १० देखि २० रुपियाँ लिन्छन् । पैसा नभएकाले त शौचालय प्रयोग गर्न नपाउने भए । अनि उनीहरुले के गर्ने ? सडकमै दिसापिसाब गरिदिने ? कसैले दिसापिसाब थेग्न सक्दैनन् । कसैलाई दिसापिसाब च्यापेर धेरै नै समस्या परेको हुन्छ । उनीहरुले बाटोमा नगरे कहाँ गर्ने ? काठमाडौं उपत्यकाका पालिकाहरुले यो कुरा सोच्नु पर्दैन ?
न सार्वजनिक शौचालय बनाउन चासो दिन्छन् न भएकामा सरसफाइ छ । प्रमुख बालेनलाई प्रश्न,‘पैसा नहुनेले कहाँ गएर दिसापिसाब गर्ने ? महानगरपालिका र वडामा आएर गर्ने ?’ दिसापिसाब गर्न त निःशुल्क हुनुप¥यो । कर उठाउने नै हो भने अन्य क्षेत्र छन् । बानेश्वर, रत्नपार्कमा सडकभरि दिसा हुन्छ ।
सर्वसाधारणलाई हिँड्न पनि सकस छ । महानगरपालिकाले सार्वजनिक शौचालय बनाउन चासो दिएको भए र शौचालय प्रयोग गरेबापत पैसा नलिइदिएको भए सडक त फोहोर हुँदैनथ्यो । पहिले पहिलेका बुढापाकाहरु भन्थें, ‘काठमाडौं दिसा पनि बिक्री हुने ठाउँ हो ।’ अहिले आएर ठ्याक्कै त्यस्तै भएको छ ।
दिसा गरेको पनि पैसा तिर्नुपर्ने । होटल, रेष्टुरेण्टवालाहरुले खाना बेच्छ, पैसा लिन्छ । ग्राहकले शौचालय प्रयोग गर्नुप¥यो भन्नेबित्तिकै ताला लगाएको बहाना बनाउँछन् । होटल, रेष्टुरेण्टहरुले आफ्नो खाना बेच्न छोडिदिए हुन्छ । अहिले पनि आकाशे पुलमाथि हेर्नुपर्छ, दिसाको थुप्रो हुन्छ । काठमाडौंका प्रमुख बालेनले सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्छ । अहिले सार्वजनिक शौचालयले लिइरहेको शुल्क हटाउनुपर्छ । होइन भने दिसापिसाब च्यापेकाले बाटोमै गरिदिन्छन् । काठमाडौं दुर्गन्धिन शहर बन्छ । उपत्यकाभित्रको सडक निकै फोहोर छ । हतारोमा हिँड्दा कहिलेकाँही जुत्ताले दिसा कुल्चिन्छ ।
पैदलयात्रीलाई पनि निकै समस्या छ । केही महिना अगाडिको कुरा हो, भक्तपुरको सूर्यविनायक नगरपालिका अगााडिको मूल सडकमै एक जना महिला दिँउसै दिसा गरिरहेकी थिइन् । नगरपालिकामा सेवा लिन आएकी उनले समस्या परेपछि चाबी मागेकी थिइन् । नगरपालिकाका कर्मचारीले चाबी नदिएपछि उनले बाध्य भएर सडकमै दिसा गरेकी बताइन् ।
भनिन्छ नि,‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ । ठ्याक्कै त्यस्तै अवस्था बनेको थियो । बाटो हिँड्नेहरुलाई पनि त्यो दृश्यले समस्या भयो । त्यो घटनापछि पनि नगरपालिकाको चेत खुलेको छैन । नगरपालिकाको शौचालय बाहिर छ । कर्मचारीहरु आफूले प्रयोग गर्नुपर्ने बेला चाबी लान्छन्, फेरि बन्द गर्दिहाल्छन् ।
यसले गर्दा सेवाग्राही मर्कामा परे । उसै पनि सरकारी काम निकै ढिलो हुन्छ । बिहान कार्यालय खुल्नासाथ आएका सेवाग्राहीको काम कार्यालय बन्द हुँदासम्म सकिँदैन । यस्तोमा शौचालय कहाँ जाने ? झन् भक्तपुरमा त सार्वजनिक शौचालय नै छैनन् । सार्वजनिक शौचालय प्रयोग गरे पनि पैसा लिइन्छ । के सुविधा छ ? सार्वजनिक शौचालयको नाममा लुटतन्त्र मच्चाइएको छ । सार्वजनिक शौचालय भएको स्थानको परपरसम्म दुर्गन्ध आइरहेको हुन्छ । पराग खाएर थुकेको हुन्छ । कतिपय शौचालयमा चुकुल हुँदैन । चुरोटका ठुटाहरु फँ्यालिएको हुन्छ । न पानी हुन्छ न साबुन ।
सरकारले ‘दिसापिसाब मुक्त राष्ट्र’ घोषणा गरिसकेको छ । मुलुक दिसापिसाब मुक्त भएको हेर्न कँहीकतै जानै पर्दैन, हिँड्दाहिँड्दै पुलमूनि हेरे हुन्छ । पुलमूनि दिसापिसाब गरिराखेका हुन्छन् । बाटोमा हिँड्ने सबैसँग पैसा हुँदैन । कुनै माग्न बसेका हुन्छन्, कुनै मानसिकता गुमाएका हुन्छन् ।
उनीहरुलाई कहाँ छ शौचालयको व्यवस्था ? सडक छेउछाउ पेट्रोल पम्प छन् । लामो यात्रामा घण्टौं यात्रा गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा दिसापिसाब लाग्न सक्छ । पेट्रोल पम्पवालाहरुले पेट्रोल बेच्छन्, तर शौचालय प्रयोग गर्न दिँदैनन् । पछिल्लो समय काठमाडौं उपत्यकामा सुगरका रोगी र मृगौलाका रोगी छन् । तिनले दिसापिसाब च्याप्न सक्दैनन् । दिसापिसाब सबैलाई लाग्छ । दिसापिसाब गर्न दिनुपर्छ भनेर जनतामा पनि चेतना आएन सरकारमा पनि । एक ठाउँबाट अर्को ठाउँ सबैका लागि नौलो हुन्छ । बुढापाकाले भन्छन् नि,‘कुकुर पनि आफ्नो ठाउँमा नायक नै हुन्छ ।’ ललितपुरबासी भक्तपुर, भक्तपुरबासी ललितपुर, काठमाडौंबासी ललितपुर जान्छन् ।
अब दिसापिसाब लाग्यो भन्दैमा घर फर्किने कुरो रहेन । त्यतिबेला कति समस्या हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । अप्ठेरो परेकोलाई घरमा शौचालय प्रयोग गर्न दिँदा केही बिग्रिने त होइन् । अर्को समस्या हो जेब्राक्रस र आकाशे पुल । बाटो काट्न निकै गाह्रो छ । जेब्राक्रस र आकाशे पुल टाढा–टाढा छन् । जेबाक्रसका सेता धर्काहरु पनि मेटिसकेका छन् । फुटपाथ व्यवसायीहरुले सडकपेटी त ढाके नै, त्यतिबेला नपुगेर आकाशे पुल पनि ढाकेका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीहरु पछिल्लो समय अलिक सुस्ताएका छन् । जसले गर्दा पुनः फुटपाथ व्यवसायीहरु सल्बलाउन थालेका छन् ।
काठमाडौंमा ७७ वटै जिल्लाका सर्वसाधारण आउँछन् । कुनै रोजगारीको खोजीमा आउँछन् त कुनै पढ्नका लागि । उपचार गर्नका लागि पनि काठमाडौं नै आउने गरिएको छ । गाउँबाट आएकालाई सबैले ठग्छन् । काठमाडौं लुट्ने ठाउँ रहेछ भन्ने त छर्लङ्ग भएको छ । सार्वजनिक शौचालयको नाममा पनि ठगेकै छ ।
होटलदेखि लिएर सार्वजनिक यातायात सबैले लुट्छन् । सीधासाधी देख्नेबित्तिकै ‘मुर्गा’ बनाउने । काठमाडौंबासीमा मानवता नै भएन । देशको राजधानी सबैभन्दा फोहोर ठाउँ बनेको छ । उपत्यकाभित्रका जनप्रतिनिधिहरु मुलुकको राजधानी भनेर घमण्ड गर्छन् । जुन ठाउँमा सडकमा दिसापिसाब गरिन्छ, त्यो ठाउँको जनप्रतिनिधि भनेर के घमण्ड गर्नु !
काठमाडौंबासी कति स्वार्थी छन् भन्ने आकंलन लगाउन गाह्रो छैन । उनीहरु शौचालय प्रयोग गर्न त दिँदैनन् तर बाहिरी जिल्लाबासीले त पानी दिएका छन्, फोहोर फाल्न दिएका छन् । अन्न पठाएका छन् । अनि त काठमाडौंबासी बाँचेका छन् । बाहिरी जिल्लाका आम नागरिकले पानी रोकिदिने, खाद्यान्न नपठाउने र फोहोर फाल्न नदिने हो भने काठमाडौंबासीको अवस्था के होला ?