एमाले ‘मोही माग्दै, ढुङ्ग्रो लुकाउँदै’: कांग्रेसमा मत बाझिँदै, राप्रपा भाउ खोज्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा छटपट्टि देखिएको छ । उक्त निर्वाचनमा हालको सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा एकता गरी निर्वाचनमा जाने तयारी भैरहेको अवस्थामा एमालेमा अतालो भएको हो । एमाले हालको अवस्थामा रहँदा वा उसलाई सत्ता गठबन्धनले कित्ताकाट गरेको अवस्थामा एमाले उक्त निर्वाचनमा शून्यमा पुग्ने देखिएको छ । यही कारण एमाले रणभुल्लमा परेको हो ।
गत वर्ष भएको संसदीय निर्वाचनमा दोस्रो स्थानमा पुगेको एमालेकै सहयोगमा पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए । कांग्रेसको साथमा रही निर्वाचनमा गएका दाहालको दलले अपेक्षाकृत निर्वाचन परिणाम प्राप्त गर्न नसकेको अवस्थामा उनी अत्तालिन पुगेका थिए । दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवाका बीचमा सहमति भै पाँच वर्षे कार्यकाललाई बाँडफाँड गरी सरकार चलाउने सहमति भएको थियो ।
उक्त सहमतिमा पहिला को प्रधानमन्त्री बन्ने भन्ने विवाद चलेको थियो । सोही विवादमा देउवाले पहिले आफू बन्ने भनी अडान राखेका कारण दाहाल नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको शरणमा पुगेका थिए । ओलीले दाहालको पक्षमा बहुमत जुटाई दिएपछि कांग्रेसलाई लात हानेर प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपतिको निर्वाचनको मुखमा एमालेलाई लात हानी फेरि कांग्रेससहितको सरकार बनाएका छन् । यसरी दाहालको अस्थिरताका कारण एमाले अहिले प्रतिपक्षमा पुगेको छ ।
यसरी प्रतिपक्षमा पुगेको एमालेका अध्यक्ष ओली आफ्नो दल एमाले आगामी राष्ट्रियसभाको निर्वाचनमा एक स्थान पनि नजित्ने अवस्था आएपछि ओली दाहाल समक्ष हात फैलाउन पुगेका छन् । उनले प्रधानमन्त्री दाहाललाई पटक पटक भेटी राष्ट्रियसभामा एमालेलाई पनि भाग दिन आग्रह गरेका समाचार स्रोतले दाबी गरेको छ । अध्यक्ष ओलीले यो कुरा सार्वजनिक रुपमा नराखे पनि दाहालले सत्तारुढ दलहरुको संयुक्त बैठकमा ओलीको याचनाका बारेमा जानकारी गराएका थिए ।
एमालेले छ सिट मागेको बताइएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले छ सिट मागेको दाहालले जानकारी गराएका थिए । ‘शान्ति प्रक्रिया टुंग्याउन एमालेलाई पनि सहमतिमै लिएर जाउ भन्ने आफ्नो प्रयास हो, के गर्न सकिन्छ ?’, भनी दाहालले भनेका थिए ।
गठबन्धनमा रहेका अन्य दलले एमालेले पहिला पनि संसदीय समितिमा आपूmले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर दुइटा समिति दिए पनि पछि बहानावाजी गरेको बताएका कारण दाहाल अक्क न बक्क परेका थिए । चार दलबीचको एकतामा आँच नआउने गरी र टीआरसी तत्काल पारित हुने गरी एमालेलाई पनि समेटेर लान सकिन्छ भन्ने कुरा भएको थियो । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले समितिका सभापति दिने सवालमा पनि दुईवटा सभापति टीआरसी बिल पारित गर्नका लागि भनेर दिइएको तर त्यसपछि ओलीको भाषा फेरिएको बताए ।
उता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने एमालेलाई कुनै पनि किसिमको भाग नदिने पक्षमा स्पष्ट रुपमा देखिएका थिए । नेपालले बैठकमा एमालेले फुर्ती लगाउँदै आफूहरु कसैसँग केही सांसद चाहियो भनी नहिंडेको भनी डिङ हाँक्दै हिंड्ने अनि प्रधानमन्त्रीसँग लम्पसार परी भाग माग्ने भनी एमालेको उछितो काडेका थिए । उनले एमालेका अध्यक्ष ओलीको शैली ‘मोही माग्ने, ढुंग्रो लुकाउने’ जस्तो भएको भनी टिप्पणी पनि गरेका समाचार स्रोतले बताएको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री दाहालको कार्यशैलीलाई लिएर कांग्रेसमा मत बाझिँदै आएको छ । दाहाल पछिल्लो समय शान्ति प्रक्रिया टुंग्याउने नाममा ओलीको फन्दामा पर्दै गएको बुझाइमा कांग्रेसका केही नेताहरु पुगेका छन् । सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा देखिएका कांग्रेसका नेताहरु दाहालले ओलीलाई अघि सारी आफ्नो सत्ताको आयू लम्ब्याउने चाल चलेको भनी बुझि रहेका छन् ।
उता, कांग्रेस सभापति शेरबहादुर देउवा भने शान्ति प्रक्रिया टुंगोमा पुग्ने हो र ओलीले हात फैलाएकै हुन् भने एमालेलाई केही दिएर भए पनि ठेगानमा राख्नु उचित हुने भन्ने पक्षमा छन् । हालको सत्ता गठबन्धनमा कुनै दरार उत्पन्न नगर्ने सर्तमा एमालेलाई केही दिंदा ऊ थान्को लागेर बस्छ भने आफूहरुको भागबाट केही कटाएर भए पनि एमालेलाई थन्क्याउनु नै ठीक हुने भन्ने कुरा देउवाको मनमा रहेको भन्ने कुरा समाचार स्रोतले बताएको छ ।
देउवाको कुरालाई कांग्रेसका कतिपयले आफूहरुलाई यो कुरा सहज नभएको भनी बताउने गरेका छन् । एमाले प्रतिपक्षमा बस्न नसकेको तथा कुनै पनि बेला अप्ठेरोमा पारी सत्तामा जान लालायित रहेको भन्ने कुरालाई देउवाले नबुझेको भन्ने बुझाइमा उनीहरु रहेका बताइएको छ । देउवाले एमालेलाई भाग दिने कुरा गरेको खण्डमा कांग्रेसबाट राष्ट्रियसभामा जानेहरुको संख्या घट्ने मात्र होइन कि विभिन्न विधाबाट ल्याइने सक्ने विज्ञहरुसमेत कटौतीमा पर्ने संभावना रहेको देखिन्छ । यस कारण पनि कांग्रेसमा नयाँ अनुहारहरु आउनुपर्छ भन्ने मान्यता राख्नेहरुले एमालेलाई स्थान दिइनु नहुने भन्ने कुरामा जोड दिन थालेका हुन् ।
उता, राप्रपा पनि राष्ट्रियसभाको निर्वाचनलाई आफ्नो मौकाको रुपमा परिणत गराउने पक्षमा देखिएको छ । राप्रपा २३ वर्षपछि राष्ट्रियसभामा आफ्नो एकमात्र स्थान भए पनि हत्याउने पक्षमा देखिएको छ । यसका लागि राप्रपाले कोशी प्रदेशको कुरालाई च्याँखे दाऊको रुपमा देखाउने गरेको छ । कोशी प्रदेशमा प्रदेशसभालाई जीवन्त राख्नका लागि राप्रपाले कम्तिमा सभामुख पद लिई दिनुपर्ने अवस्था छ । सोही कुरालाई आधार बनाउँदै राप्रपाले राष्ट्रियसभामा समेत भाग खोजेको हो ।
यता, नागरिक उन्मुक्ति पार्टीले पनि सुदूर पश्चिममा आफ्नो १७ मतदाता रहेको भन्दै एक स्थानको माग गर्दै आएको छ । यसैगरी सरकारमा रहेका जनता समाजवादी पार्टी नेपालले थप एक सिटको माग गर्दै आएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले समेत आशा गरेर बसेको अवस्था छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *