सत्तारुढ दलहरुमा छटपटि: एमालेको टीआरसी कार्ड,  ‘क्रस भोटिङ’ को त्रास

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ राष्ट्रियसभाको सदस्यका लागि आगामी माघ ११ हुने भनिएको निर्वाचनको विषयलाई लिएर सत्तारुढ गठबन्धनमा छटपटि भएको छ । सत्तारुढ दलहरुले एक ढिक्का भई विभिन्न ठाउँमा मिलाएर उम्मेदवारी दिए पनि दलहरु मतदानको विषयलाई लिएर ढुक्क नभएका हुन् । मतदानको समयमा मतदाताले क्रम भोटिङ पो गर्ने हुन् कि भन्ने चिन्तामा सत्तारुढ दलका नेताहरु देखिएका छन् । यसको खास कारणमा नेपाली कांग्रेसले उम्मेदवार छनौट गर्ने कार्यमा कांग्रेसका नेताहरु एकमत हुन नसक्नुलाई हेरिएको छ । कांग्रेसले उम्मेदवार चयन गर्ने क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लिखित रुपमा असहमति जाहेर गरेका कारण पनि आगामी निर्वाचनमा कांग्रेसका मतदाताले गठबन्धनलाई मतदान गर्ने हुन् कि होइनन् भन्ने कुराले नेताहरुमा त्रास छाएको अवस्था छ ।
१९ स्थानका लागि हुने निर्वाचनमा कांग्रेसका लागि १० स्थान छुट्याइएको थियो । त्यसरी छुट्याइएको संख्यामा समेत कांग्रेस नेताहरुले आपसी भागबण्डा खोजेका थिए । सोही कारण कांग्रेसका नेताहरुकाबीचमा विवाद हुँदाहुँदै उम्मेदवारी दिइएको अवस्थामा उनीहरुको विवादको असर मतदातासमक्ष पुग्ला कि नपुग्ला भन्ने कुराको त्रासमा सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरुमा रहेको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दलको हैसियतमा बसेको नेकपा (एमाले) ले समेत भागबण्डा खोजेको थियो । एमालेले प्रतिपक्षी दलको मूल्य र मान्यतालाई विर्सिएर पदीय भागबण्डा खोजेको भनी चर्को आलोचना हुँदा समेत एमालेका नेताहरु लाज पचाएर बसेका थिए । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी) लाई पारित गर्ने भनी एमालेले बचन दिएको अवस्थामा उसलाई केही समितिको अध्यक्ष समेत दिइसकेको अवस्था थियो ।
यसरी समितिमा समेत भागबण्डा खोजेको एमालेले त्यसबाट पल्किएको थियो । बाहिर देखिने गरी आफूहरुलाई केही नचाहिने भन्ने गरेको एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली लुसुक्क नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटक पटक भेट्न पुगेका थिए । त्यसरी टीआरसीलाई देखाएर केही थान सांसद हात पार्न चाहेका ओलीले संसदीय मान्यता विपरितको कार्य गर्ने मनसाय राखे पनि त्यसले मान्यता भने पाउन नसकेको अवस्था छ ।
सत्तारुढ दलहरुले आन्तरिक भागबण्डामा सहमति हुन नसकेको अवस्थामा एमालेलाई कुनै पनि भाग नदिने बताएपछि एमालेका नेताहरु रन्थनिन पुगेका छन् । सोही कारण सबै ठाउँमा आफ्नोतर्फबाट उम्मेदवारी समेत दिएको अवस्था छ ।
राष्ट्रियसभाको सदस्यको निर्वाचनका लागि प्रदेशका सांसदहरु र स्थानीय तहका प्रमुख र उपप्रमुखहरु मतदाता हुने व्यवस्था छ । उनीहरुको मतभार पनि फरक फरक छ । यस्तो अवस्थामा एमाले भने त्यहाँ पनि खेल्ने पक्षमा देखिएको छ । कांग्रेसमा उम्मेदवार चयनका समयमा देखिएको विवाद तथा सत्तारुढ दलकै केही दलहरुले भागबण्डा नपाएको अवस्थालाई एमालेले अवसरको रुपमा उपयोग गर्ने सोच बनाएको समाचार स्रोतले जानकारी दिएको छ ।
सत्तारुढ दलहरुका बीचमा भागबण्डा हुँदाका बखत जसपाले थप एक स्थानको लागि माग गरेको थियो । यसैगरी लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले भागबण्डा पाएका छैनन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले पनि आफ्नै उम्मेदवार लडाएको अवस्था छ । यो स्थितिमा एमाले भने उनीहरुका बीचमा खेल्ने प्रयासमा रहेको छ ।
मतभारको हालको अवस्थालाई ख्याल गर्ने हो भने सबै स्थानमा सत्तारुढ गठबन्धनको विजय निश्चित देखिएको छ । यसरी एमालेका उम्मेदवारहरु सबै स्थानमा पराजित हुने प्रारम्भिक अनुमानको अवस्थामा समेत एमालेले क्रम भोटिङको आशासहित आफ्ना उम्मेदवारहरुलाई लडाएको स्थिति छ ।
कांग्रेस भित्र खेल्न सकिएमा वा अन्य साना दलहरुलाई समेत आफ्नो पक्षमा पार्न सकिएमा कुनै स्थानमा विजयी भइ पनि हालिएला भनी एमालेले आशा भने गरेको अवस्था छ । एमालेले आफ्नो मतभारको भन्दा पनि अन्य दलमा बेमेल उत्पन्न हुने आशासहित उम्मेदवारी दिएको अवस्था छ ।
राजनीतिक विश्लेषक रामेश्वर ढकाल भने एमालेको यो सोच व्यवहारमा लागू नहुने तर्क गर्छन् । उनी भन्छन्, ‘कांग्रेस लोकतान्त्रिक पद्दतिमा विश्वास गर्ने दल भएकाले उम्मेदवारी हुनुअघि त्यो दलमा छलफल हुनु, विवाद हुनु स्वाभाविक हो । कांग्रेसका मतदाताले गठबन्धनबाहेकका उम्मेदवारलाई मतदान नगर्ने निश्चित छ । यस्तो अवस्थामा आफ्नै दलका उम्मेदवारलाई त मतदान नगर्नेसम्मको हर्कत हुँदैन । एमालेले आशा नगरे हुन्छ ।’
उता, उम्मेदवारी नै नदिएका साना दलका केही मतदाता एमालेको उम्मेदवारको पक्षमा कुनै विशेष कारणवश देखिई नै हाले भने पनि विजयसम्मको यात्रा एमालेका उम्मेदवारले नदेख्ने अवस्था रहेको बताइन्छ । यसकालागि राप्रपा र नेमकिपाले आफ्नै उम्मेदवार बनाउनु एमालेका लागि घातक हुने देखिन्छ । कुनै कारणबश एमालेको मत बढ्यो नै भने पनि त्यो विजयको अवस्थासम्म पुग्नै नसक्ने विश्लेषक ढकाल दाबी गर्छन् । उनी भन्छन्, ‘एमालेका कुनै पनि उम्मेदवारले जित्ने अवस्था छैन । एमालेको भन्दा सत्तारुढ गठबन्धनको मतभार तुलनात्मक रुपमा पनि धेरै फरक अवस्थामा छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *