देश धितो राखी विदेशी ऋण !

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले विपक्षमा छन् । विपक्षको दायित्व जनताको समस्या उठाउने, सरकारले गर्न थालेको कामहरु जनता र राष्ट्रको हितविपरीत भएमा खबरदार गर्ने हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार बनेको एक वर्षको अवधि कटिसकेको छ । यो अवधिमा सरकारले जम्मा एउटा मीटरब्याजसम्बन्धी विधेयक पारित ग¥यो । यसले नै सरकार असफलताको बाटोमा हिँडेको पुष्टि गर्दछ । यता, मुलुक संकटतर्फ गएको छ । हरेक क्षेत्रमा बेतिथि छ । आर्थिक मन्दीका कारण मुलुक शिथिल अवस्थामा छ । व्यापार–व्यवसाय सुस्ताएको छ ।
महंगीले आम सर्वसाधारणको ढाड सेकेको छ । बेरोजगारी प्रतिशत दिनप्रतिदिन बढिरहेको छ । नेपाल छोड्नेको लर्को दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । भ्रष्टाचारले मुलुकलाई थिलथिलो बनाएको छ । सरकारले लक्ष्यअनुरुप राजश्व उठाउन सकिरहेको छैन । सरकारी खर्च धान्न नसकेर विदेशीसामु हात फैलाउनुपर्ने अवस्था छ । विदेशी ऋण निरन्तर उकालो लागिरहेको छ । केही वर्षकै अवधिमा एक जना नेपालीको थाप्लोमा एक लाख रुपियाँ विदेशी ऋण पुग्न थालिसकेको छ । देशमा विदेशीको नाङ्गो हस्तक्षेप बढेको छ । आम सर्वसाधारण जताततै ठगिएका छन्, लुटिएका छन् ।
सरकारी अड्डाहरु घुसको अखडा बनेको छ । सरकारी कर्मचारीहरु जनताको काम छोडेर विदेश शयरमा जानमै व्यस्त छन् । राज्यको ढुकुटी दोहन गर्ने कार्य व्यापक भइरहेको छ । यातायात क्षेत्रमा वर्षौंदेखि सिण्डिकेट छ । यातायात व्यवसायीहरुले बाटो कब्जा गरेर यात्रु लुटिरहेका छन् । सरकार निरीह भएर हेरिरहेको छ । कालो र हरियो प्लेटको ट्याक्सी, फो–स्टक टेम्पो र ढुवानी गाडीको दर्ता दशकौं देखि बन्द छ । नयाँ दर्ता नखोल्दा सिण्डिकेटधारीहरु मौलाएका छन् ।
एउटै व्यक्तिको करोडौं रुपियाँसम्म डुबेको खबरहरु बाहिरिरहेका छन् । सहकारीमा देखिएको समस्या समाधानमा सरकारलाई चासो छैन । वर्ष दिनमा एउटाबाट दुईटा विधेयक पारित गर्न सक्दैनन्, तर तलबभत्ता लिन र सरकारी गाडीचाँहि चढ्नचाँहि छोड्दैनन् । विपक्षी दल पनि त्यही नै हो । संघदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिले राज्यको ढुकुटी दोहन गरेका छन् ।
अहिले देशमा ‘मिसन ८४’ अभियान चलिरहेको छ । जुनसुकै पार्टी होस्, चुनाव जित्न र भ्रष्टाचार गर्नमै ध्याउन्न छ । रास्वपाका सभापति रवि लामिछाने २०८४ सालमा पहिलो पार्टी हुन्छौं भनेर जोडतोडका साथ लागिपरेका छन् । हाल जनता कुन अवस्थाबाट गुज्रिरहेका छन् ? त्यो थाहा छैन । अर्को चुनावमा हामी पहिलो पार्टी हुन्छौं भन्न यिनीहरुलाई लाज पनि नलाग्दो रहेछ ! राप्रपा राजतन्त्र र हिन्दूराष्ट्रको नारा लगाएर हिँडिरहेको छ । जनताको समस्याबारे सरकारलाई घच्घचाउन छोडेर राजतन्त्रको अजेण्डा बोक्ने राप्रपा अर्को चुनावमा शून्य हुन्छ । एमाले अरुमाथि हिलो छ्याप्नमै व्यस्त छ ।
अहिले सर्वसाधारणलाई विपक्षीमा पनि कुनै दल छ र ? भनेर लाग्न थालिसकेको छ । सबै आ–आफ्नो व्यक्तिगत स्वार्थमा लागेका छन्, जनताको समस्या कसले हेर्ने ? विपक्षी र सत्ताधारी दुवै उस्तै छन् । देश धितो राख्ने, ऋण ल्याएर मोजमस्ती गर्ने । खरबौं रुपियाँ विदेशी ऋण नेपाल सरकारले लिएको छ ।
राजश्वले सरकारको खर्च नधानेपछि धमाधम विदेशी ऋण लिने काम भइरहेको छ । सरकारी कर्मचारीलाई विदेशी ऋणबाटै तलबभत्ता खुवाइएको छ । राज्य सञ्चालक र जनप्रतिनिधिको हकमा पनि त्यही नै हो । ‘राजा’ ज्ञानेन्द्रले केही दिनअघि एउटा कार्यक्रममा आफू यहीँ भएको बताएका थिए । उनले भनेका थिए,‘म यहीँ छु । यहाँ के भइरहेको छ म नजिकबाट नियालिरहेको छु ।’ उनले जे भने पनि के फाइदा ? राजतन्त्र हटिसक्यो, उनको हातमा केही पनि छैन ।
उनले जहाँ गएर जे बोले पनि नेताहरुले देश बेचेको हेर्नु बाहेक कुनै विकल्प छैन । अरुको सातो खाने लामिछानेको आफ्नै होश गुमेको छ । सहकारीको मुद्दामा उनी कारागार जान्छन् भनेर अड्कलबाजी लगाउन थालिएको छ । मनमोहन अधिकारी र मदन भण्डारीको नाम बेचेर देश लुट्ने आरोप लागेको एमालेका लागि एउटा दुर्गा प्रसाईं नै काफी भए ।
जनताको काम गर्न छोडेर राजाको झोले बनेको राजेन्द्र लिङ्देन र उनको पार्टीलाई जनताले पाठ सिकाउँछन् । राजा हटाउने पुष्पकमल दाहालकै सरकारमा उनी मन्त्री भए । जनतालाई कतिसम्म ढाँट्न जानेको ? विपक्षी दलमा रहेको एमालेले राष्ट्रिय सभामा समेत आफ्नो भाग खोजेको छ । विपक्षीले कहीँ भाग खोज्छ ? वास्तवमा भन्ने हो भने ओलीसँग टेम्पो चलाएर खाने क्षमता पनि छैन । कुन पार्टीलाई राष्ट्रको कति माया रहेछ ? भन्ने त अहिलेको अवस्थाबाट प्रमाणित भइसकेको छ ।
देश नाजुक अवस्थाबाट गुज्रिरहेको छ तर विपक्षी दलका नेताले तलबभत्ता खान छोडेका छैनन् । ‘देश सकिए सकियोस्’ भनेर उनीहरु घोडा बेचेर सुतेका छन् ।
सांसद चित्रबहादुर के.सी. अनेकथरी ‘स्टन्टबाजी’ गर्छन् । सफा टेम्पो चढ्ने उनी माइक्रोबस चढ्दा घाइते समेत भए । झलनाथ खनाल प्रधानमन्त्री हुँदा आफ्नो छोराले सरकारी जागिरमा भनिदिनुभन्दा जे गरेर खान्छस् खा भनेको भनी अभिव्यक्ति दिएका उनलाई जनताले सच्चा नेता ठान्थे । घट्टेकुलोमा एउटै कोठामा २१ वर्ष बसेको विषयमा पनि व्यापक चर्चामा आयो । उमेरले ८२ वर्ष भइसकेका उनी अहिले पनि देश धितो राखेर लिएको पैसाले तलबभत्ता लिइरहेका छन् ।
८२ वर्ष नेपाली भूमिमा बिताइसकेकालाई त देशको माया भएन भने अरुको के कुरा गर्नु ? नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल सदनमा जुनसुकै विधेयक पेश भए पनि उभिएर विरोध गरिहाल्छन् । उनको पेशा नै विरोध गर्ने हो । तर, उनी पनि राज्यबाट पाउने एउटा सेवासुविधा छोड्दैनन् ।
कसैले ऋण तिर्न सकेन् भने प्रहरीले लगेर थुन्छ । राजनीतिक दलका नेता, सांसद सबैले मिलीजुली देश बेचिसकेका छन् । यिनीहरुलाई कसले समात्ने ? जनताले समात्न सक्दैनन्, प्रहरीले सलाम ठोक्छ । जनता कार्यकर्ता बन्दा देश तहसनहस बन्यो । आफ्नो पार्टीले जतिसुकै नराम्रो काम गरोस्, चुइँक्क आवाज निकाल्दैनन् ।
अभिभावकले छोराछोरी जन्माउछन्, पाल्छन्, हुर्काउँछन् । पछि कतिपयले आफ्नै बाबुआमालाई मार्छन् । नेताहरुले पनि देश र जनताका लागि काम गछौं भनेर पार्टी खोले । अहिले देश नै बेचिदिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *