राष्ट्रियसभाको ‘अध्यक्ष’ गठबन्धनलाई घाँडो

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/ प्रधानमन्त्रीका रुपमा रहेका पुष्पकमल दाहालको विकल्प खोज्न थालिएको चर्चा चलेको छ । वर्तमान सरकारले चाहे अनुसार कार्य गर्न नसकेको भन्दै खासगरी नेपाली कांग्रेस भित्र प्रधानमन्त्री दाहालको विकल्पको खोजी भैरहेको भनी चर्चा चलिरहेको छ । यसै क्रममा सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल गर्न नहुने टिप्पणी गरेका छन् । कांग्रेसका नेताहरुले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने बताएका हुन् ।
नेता नेपालले प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले यस्तो बेलामा प्रधानमन्त्री फेरबदलको विषय अप्रासंगिक भएको बताएका छन् । उनले यो विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने भन्दै राष्ट्रियसभा अध्यक्षको चयनको विषयमा हाल सत्तारुढ दलहरु छलफलमा रहेको जानकारी दिएका छन् । यो विषय पनि विवादको विषय नबन्ने उनले जिकिर गरेका छन् ।
नेता नेपालले माथिका अभिव्यक्ति दिए पनि तिनै विषय अहिलेको राजनीतिक माहौलमा बढी चर्चाको विषय रहेको राजनीतिक विश्लेषक रामेश्वर ढकाल बताउँछन् । उनका अनुसार नेता नेपालको टिप्पणी सत्तारुढ दलको नेताको हैसियतमा ठीकै देखिए पनि अहिले यही विषय बढी चर्चामा र विवादित अवस्थामा रहेको छ । विश्लेषक ढकाल भन्छन्, ‘राजनीतिमा ठीक उल्टो हुने गरेको छ । जेमा विवाद छैन भनी नेताहरुले भन्छन् त्यही कुरामा बढी विवाद भैरहेको हुन्छ ।’
यता, प्रधानमन्त्री दाहाल वर्तमान गठबन्धनबाट प्रधानमन्त्री बन्दाको समयमा दुई वर्षका लागि भनी बनेको भनी त्यही बेला नै चर्चा चलेको थियो । यसरी हेर्दा उनको कार्यकाल अझै दुई वर्ष बाँकी नै छ । दाहालले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरेपछि नेता नेपाललाई प्रधानमन्त्री बनाइने सहमति त्यही बेला भएको बताइन्छ । नेता नेपालपछि अन्तिम वर्ष अर्को निर्वाचन समेत गराउने कार्यभारसहित कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइने भनी सहमति भएको समाचार स्रोतको दाबी छ ।
यसरी आफ्नो कार्यकाल पूरा नहुँदै आफ्नो बहिर्गमनको कुरा गर्न कांग्रेसका नेताहरुले थालेकोलाई प्रधानमन्त्री दाहालले सकारात्मक रुपमा लिएका छैनन् । कांग्रेसले आधिकारिक रुपमा तथा कांग्रेसका सभापति देउवाले यो विषयमा केही कुरा नगरेका कारण दाहालले बढी महत्व नदिए पनि कांग्रेसजनबाट संशकित भने भएको अवस्था छ । यसका लागि खासगरी हालै भएको राष्ट्रियसभाको कोशी प्रदेशको निर्वाचन परिणामले दाहाललाई झस्काउने कार्य गरेको छ ।
देशव्यापी रुपमा १८ जना गठबन्धनका उम्मेदवार हुँदा कोशी प्रदेशमा भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पराजित भएकी थिइन् । उक्त निर्वाचन परिणामले माओवादीका नेताहरु कोशी प्रदेशमा मात्र होइन कि देशव्यापी रुपमा चिढिएको अवस्था छ । कोशी प्रदेशमा कांग्रेसबाट उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलालाई विजयी बनाउन खासगरी प्रधानमन्त्री दाहालले नै मुख्य भूमिका निभाएका बताइन्छ ।
अब हुने राष्ट्रियसभाको अध्यक्षमा सिटौलालाई ल्याउने मनसायसहित दाहालले नै सिटौलाको पक्षपोषण गर्दा कांग्रेसमा उनी निर्विकल्प उम्मेदवारका रुपमा रहन पुगेका थिए । यसरी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले प्रस्ताव गरेका सिटौलाले विजयको माला पहिरिएको अवस्थामा माओवादी केन्द्रकी उम्मेदवारले पराजय भोग्दा माओवादी केन्द्र समर्थकहरु चिढिएका छन् ।
यस्तो अवस्थामा राष्ट्रियसभाको अध्यक्षका लागि सिटौलाको विकल्पमा माओवादी केन्द्रबाट उर्मिला अर्यालको नाम अघि सारिएको छ । कोशीमा माओवादी केन्द्रलाई दिइएको धोकाको बदलास्वरुप पनि अध्यक्ष पाउनुपर्ने माग माओवादी केन्द्रका नेताहरुले राख्न थालेका छन् । यो विषय अहिले सत्तारुढ दलहरुका बीचमा विवादको बीजको रुपमा देखिन थालेको छ ।
सत्तारुढ गठबन्धनले उठाएको उम्मेदवारलाई सत्तारुढ गठबन्धनका मतदाताहरुले इमान्दारितापूर्वक मतदान गरेको अवस्थामा अध्यक्ष स्वतः निर्वाचित हुने अवस्था छ । यस्तो अवस्थामा सत्तारुढ घटकहरुका बीचमा विवाद हुँदा वा फ्लोर क्रस भएमा अध्यक्ष पद गुम्न समेत सक्ने अवस्था रहेका कारण यो पदका लागि आगामी महिना हुने भनिएको निर्वाचन सत्तारुढ गठबन्धनका लागि घाँडो पनि हुन सक्ने भनी राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *