‘कम्युनिष्ट’ नेताहरुविरुद्ध सूचना जारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेकपा (एकीकृत समाजवादी) का नेताहरुका विरुद्धमा ऋण तिर्न आउनु भनी बैंकले ३५ दिने सूचना जारी गरेको छ । यसरी सूचना जारी भएका नेताहरुको सूचीमा डा. विजय पौडेल लगायत रहेको बताइएको छ । प्रभु बैंक लि.ले फागुन २ गते नै ऋण तिर्न आउने सम्बन्धी ३५ दिने सूचना जारी गरी उनीहरुको नाम सार्वजनिक गरेको हो ।
जनता टिभीका लागि लिइएको ऋणको सावाँ तथा ब्याजको भुक्तानी नभएको भन्दै सञ्चालक डा. विजय पौडेल, डा. रमेशचन्द्र पौडेल, उदया शर्मा पौडेल तथा माक्र्सवादी चिन्तक गोपीरमण उपाध्याय, प्रेमलकुमार खनाल र नारायणप्रसाद सुवेदीको नाम पनि उल्लेख छ । यसैगरी नेकपा (एमाले) का नेताहरू अरुण नेपाल र भगीरथ सापकोटाको नाम पनि सार्वजनिक गरिएको छ । यसैगरी जमानतकर्ताको नाममा ठेकेदार लंकबहादुर के.सी. र व्यवसायी पोमनारायण अधिकारीका नाम पनि बैंकले सार्वजनिक गरेको छ ।
प्रभु बैंकले जारी गरेको ऋण तिर्न आउने ३५ दिने सूचनामा बैंकबाट ऋणीले लिएको कर्जाको साँवा तथा ब्याज भुक्तानी सम्बन्धमा शर्त तथा कबुलियत उल्लंघन गरेको कुरा उल्लेख छ । यसैगरी पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको उल्लेख छ ।
सो अवधिभित्र ऋण तिर्न नआएमा ऋणीसहित जमानतकर्ता लगायतको नाम कालोसूचीमा राख्ने समेत बताएको छ । डा. रमेशचन्द्र पौडेल राष्ट्रिय योजना आयोगका सदस्यसमेत हुन् । त्यसैगरी अर्का सञ्चालक तथा जमानतकर्ता नारायणप्रसाद सुवेदी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष हुन् भने रम्भा पौडेल डा. विजयकुमारकी पत्नी हुन् ।
जनता प्रकाशन तथा जनता टेलिभिजन सञ्चालन गर्न विभिन्न बैंकबाट लिएको ऋण तिर्न नसकेपछि बैंकले ऋण तिर्न आउने ३५ दिने सूचना जारी गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *