इलाममा चुनावी चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

इलाम/ इलाममा चुनावी सरगर्मी बढेको छ । निर्वाचन आयोगले इलाम क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको हो ।
नेताहरु टिकटका लागि दौडधुपमा लागेका छन् । आगामी बैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । गत चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच कडा प्रतिस्पर्धा भएको थियो ।
गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डम्बर खड्कालाई एक सय १४ मतले मात्र पछि पार्दै नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङले विजयको माला पहिरिएका थिए । एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको २०८० भदौ २६ गते निधन भएवपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएको हो ।
कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्का र महासमिति सदस्य भेषराज आचार्यको नाम चर्चामा छ । यसैगरी पूर्वजिल्ला सभापति तथा पूर्वसांसद केशव थापा र नगेन्द्र कुमालको नाम पनि चर्चामा छ ।
उता, एमालेबाट स्व. नेम्वाङका छोरा सुहाङ नेम्वाङको चर्चा छ । जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रविन्द्र सुवेदीले पनि दौडधूप बढाएका बताइन्छ । स्व. नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनालको नाम पनि चर्चामा छ ।
सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले यस पटकको निर्वाचनमा कांग्रेससँग गठबन्धन नगरी आफ्नो छुट्टै उम्मेदवार उठाउने भनी भन्न थालेको छ । माओवादी केन्द्रकातर्फबाट प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू, पूर्वजिल्ला इञ्चार्ज धीरेन्द्र शर्मा (रमन), जिल्ला सह–इन्चार्ज कान्छा लावती र जिल्ला अध्यक्ष विजय राईका नाम चर्चामा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि खटाएर अवस्था बुझ्ने र उम्मेदवार टुंगो लगाउने बताएको छ । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद (के.पी.) पालुङ्वाको नाम चर्चामा छ । उनलाई पहिचान पक्षधरले सहयोग गर्ने चर्चा छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालको चर्चा छ । उनी गएको निर्वाचनमा इलाम १ बाट पराजित भएका थिए । खनाल आफूलाई गठबन्धनका तर्फबाट उम्मेदवार बनाइनुपर्ने भन्ने पक्षमा रहेको बताइएको छ । ढल्पले स्वभावका खनाल उस्तै परे एमालेबाट उम्मेदवार बन्न सक्ने बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *