दाहाललाई ओलीबाट खतरा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सत्तास्वार्थका लागि जस्तोसुकै जोखिम उठाउने र उथलपुथल गर्न सक्ने अस्थिर नेता हुन् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल । नीति, विचार र सिद्धान्तलाई प्रमुख आधार मानेर गत २०८० फागुन २१ गते नेपाली काँग्रेससँगको गठबन्धन भत्काएर नेकपा एमाले, रास्वपा, जनता पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को पाँच दलीय गठबन्धनबाट दाहाल प्रधानमन्त्री कायमै छन् ।
प्रधानमन्त्री दाहालको एक महिना पाँच दलीय गठबन्धनका नेताहरुको घरदैलो गर्दैमा व्यतित भएको छ । काँग्रेसलाई सत्ता बाहिर राखेर दाहाल–ओलीको अजेण्डाविहीन यात्राको आयु लामो समयसम्म नटिक्ने छाँटकाँट नेकपा एसका अध्यक्षले देखाई सकेका छन् । पार्टीको भविष्य नदेखेका अध्यक्ष नेपालले बागमती प्रदेशको मुख्यमन्त्रीलाई लिखित गरेर विश्वासको मत दिएबाटै खटपटको संकेत देखिइसकेको छ ।
एमालेबाट पटक पटक धोका खाँदा पनि वामपन्थी एकताको नाममा अध्यक्ष ओलीको पाउमा दाहाल लम्पसार पर्न बाध्य भएका छन् । पाँचदलीय गठबन्धनबाट भाइ नारायण दाहाललाई राष्ट्रियसभाको अध्यक्ष बनाउन सफल भएका दाहाललाई सत्तासमीकरणमा लचिलो बनेका ओलीले सबै हिसाबकिताब गरेर अघि बढेका छन् । ओली क्रुर प्रतिशोध साँध्ने नेता मानिन्छन् भने कांग्रेसका सभापति शेरबहादुर देउवा वचनका पक्का भएका नरम नेता मानिन्छन् ।
त्यसैले प्रधानमन्त्री दाहाललाई देउवाबाट भन्दा ओलीबाट खतरा देखिएको राजनीतिक वृत्तमा चर्चा चलेको छ । काँग्रेसलाई सत्ताबाहिर राखेर मध्यावधिमा गएर देशलाई समृद्ध हैन टाट पार्ने ओलीको दाउमा दाहाल फसेको जानकारहरुले बताएका छन् । दाहाललाई चारैवर्ष सत्ताको ललिपप देखाएर सत्ताच्यूत गर्ने भित्री रणनीतिमा ओली लागेको श्रोतले बताएको छ ।
२०७४ सालको आलोपालो गर्ने लिखित सहमतिलाई कार्यान्वयन होला कि भन्ने डरले प्रतिनिधिसभा विघटन गरेका ओलीको घटनालाई विर्सेर दाहाल, नेपाल र चुनावी सरकारको प्रधानमन्त्री ओली बन्ने सहमति कागजको खोस्टो बन्नेमा शंका छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *