देश चलाउन विदेशी ऋणकै भर !

Nayabimarsha (Weekly Newspaper from Nepal)
अनुसा थापा

सरकारले निर्माण व्यवसायी र दूध किसानको अर्बाैं रुपियाँ भुक्तानी दिन सकेको छैन । अर्थ मन्त्रालयले तिनको भुक्तानी दिने भने पनि राज्यको ढुकुटीमा पैसा छैन । निर्माण व्यवसायीको ६० अर्ब र दूध किसानको सात अब रुपियाँ भुक्तानी बाँकी छ । अर्थमन्त्री वर्षमान पुनले जसरी पनि तिनको रकम भुक्तानी गरिदिने भनेको सुन्नमा आएको छ ।
चाहे त्यो विदेशीसँग ऋण लिएरै किन नहोस् नेपाल पहिले नै विदेशी ऋणको चंगुलमा फसिसकेको छ । २७ खर्ब रुपियाँ सरकारले ऋण लिइसकेको छ । राजश्व नउठ्दा ऋण नै लिएर सरकार कर्मचारी पाल्ने, सरकारी खर्च धान्ने काम भइरहेको छ । सरकारले एकातिरबाट ऋण लिन्छ, अर्कोतिर साँवाब्याज तिर्छ ।
यस्तो पाराले देश कसरी चल्छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई देश निजी सम्पत्तिजस्तो भएको छ । मनलाग्दी ऋण लिएको छ, खर्च गरेको छ । दाहाल र पुनलाई दूध किसान र निर्माण व्यवसायीले आफ्नो भुक्तानी गरिदिएमा माओवादीको कार्यकर्ता बन्ने भनेका छन् ।
यसले माओवादीलाई त फाइदा होला तर देशलाई त घाटा हो । २०४६ सालअघि नेपाललाई विदेशी ऋण थिएन । राजनीतिक दलहरुले मनलाग्दी ऋण लिँदा आज नेपाल ऋणकै दलदलमा फसेको छ । जहाँबाट उम्किन पनि महाभारत छ । नेताहरुले पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था ल्याए ।
त्यो व्यवस्था हटाएर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याइयो । जुनसुकै व्यवस्था आए पनि जनताले के पाए त ? अहिले समग्र नेपालीले उठाएको प्रश्न हो यो । देशले ऋण उपहार पायो, जनताले वैदेशिक रोजगारी । युवा जति जम्मै विदेशी भूमिमा रगतपसिना बगाइरहेका छन् ।
लोकतन्त्र गणतन्त्र कसको लागि रहेछ ? यो त पुष्टि नै भइसकेको छ । हिजो चप्पल लाउन नसक्ने नेताहरु महलमा बस्ने भए । सरकारी कर्मचारीले भ्रष्टाचार गर्ने थलो पाए । कार्यकर्ताहरुले चाप्लुसी गरेर कुनै न कुनै पद पाए । जनता हेरेको हे¥यै । भटाभटी ऋण त लिइरहेका छौं, तर चुक्ता गर्ने कसरी ? नेताहरुसँग भिजन छैन् ।
जता पनि खाने नै खाने छन् तर राज्यको आम्दानी शून्य छ । वडाध्यक्षदेखि प्रमुख, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, बहाल र भूपू कर्मचारी सबैले तलबभत्ता खान्छन् । सरकारी सेवासुविधा लिन्छन् । अब सरकारले तिनलाई कसरी पाल्छ ? आम्दानीबिना खर्च मात्र भइरह्यो भने के हुन्छ ? यो सबैले बुझेकै छौं ।
सरकारले नबुझेको देख्दाचाहिँ आश्चर्यचकित लाग्छ । नेताहरुका कारणले भोलि नेपालीले नेपाल भन्ने अवसरमा गुमाउनुपर्ने अवस्था आउने देखिएको छ । एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली केही महिना अघिसम्म दाहालले देश सकायो भन्थे । अहिले उनले ‘काँचुली’ नै फेरेका छन् ।
आफू सरकारमा जानेबित्तिकै अर्थतन्त्र सुदृढ भएको, देशमा विकास आएको ओलीको दाबी छ । सत्ताका लागि जे पनि गर्ने यस्ता नेताहरुलाई के भन्ने ? कुनै शब्द नै छैन् । झुठ र फटाहा बोल्ने यस्ता नेताहरुले देश सकाएरै छाड्छन् । सांसदहरुले तलबभत्ता खाइरहेका छन्, काम केही गर्दैनन् ।
जनप्रतिनिधिहरुलाई दलाल गर्दै ठिक्क छ । सरकारबाट तलबभत्ता लिने र सरकारी गाडी चढ्ने अनि कामचाहिँ दलाल गर्दै हिँड्ने । सरकारी कर्मचारीबाट त केही अपेक्षा नै नगरौं । सरकारी कर्मचारी देशकै लागि बोझ बनेका छन् । बहालदेखि भूपूसम्म खाने नै खाने छन् तर आम्दानीको स्रोतचाहिँ के छ ?
विदेशी ऋण ! जनताले विदेशी ऋण लिन नहुने बताउँदै आएका छन् । ‘ऋण भनेको घिन हो’ र यसले भोलि आफैंलाई अप्ठेरो बनाउन सक्छ । तैपनि सरकार रोकिँदैन । हप्तैपिच्छे मन्त्रिपरिषद्बाट ऋण स्वीकृत हुन्छ । आफ्नो सत्ता टिकाउनका लागि जनतालाई भ्रममा पार्ने खेलो मात्र भइरहेको छ ।
सरकारले न खर्च कटौती गर्न सक्छ न यहाँ राजश्व उठाउने स्रोत छ । सरकारसँग एउटै उपाय छ, विदेशीबाट ऋण ल्याउने खाने अनि ऋण तिर्न नसकेपछि नेपाल विदेशीलाई जिम्मा लगाइदिने । देश धितो राखेर यहाँ जुन मोजमस्ती गरिएको छ, त्यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
नेपाल समग्र नेपालीको हो । नेताहरुले आफ्नो व्यक्तिगत सम्पत्ति झैं गरेका छन् । केही दिनअघि बाबुराम भट्टराईले ऋण काँढेर घिऊ खाने सरकारको चलन अहिले पनि नहटेको बताए । सार्वजनिक पदमा आएको एक महिनाभित्र आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ । चाहे त्यो प्रधानमन्त्री होस् या वडाध्यक्ष ।
सम्पत्ति सार्वजनिक गर्नैपर्छ तर कसले सम्पत्ति सार्वजनिक ग¥यो त ? अहिले कसैले सम्पत्ति सार्वजनिक गर्दैनन् । नेतादेखि लिएर कर्मचारीसम्मको पैसा विदेशी बैंकमा छ । यहाँ राख्दा भ्रष्टाचारको पोल खुल्ने भएपछि तिनले विदेशी बैंकमा लगेर लुकाएका छन् । अहिले जति नै देशभक्तको गाना गाए पनि सबैले यिनको असली अनुहार देखिसकेका छन् ।
भोलि अलिकति छिरिक्क भयो भने यिनीहरु देश छोडेर भाग्छन् । सम्पत्ति जति विदेशी बैंकमा लगेर लुकाइसके, अनि देश सकिए पनि यिनलाई के मतलब ? यिनीहरुले नेपाललाई तहसनहस बनाए । खोक्रो भाषण दिएका छन्, देश लुटेका छन् । जनताले तिरेको करले नपुगेर विदेशीबाट ऋण लिएरसमेत खाएका छन् ।
अहिले नेपालमा के छ ? सानो भएपनि शक्तिशाली नेपाललाई नेताहरुले खोक्रो बनाइदिए । उद्योग, कलकारखाना सबै बन्द भइहाल्यो । छिमेकीलाई पोस्न दलालहरुले उद्योग, कलकारखाना बन्द गराए । यता, रोजगारी नभएर भेडाबाख्राझैं नेपाली विदेशमा बेचिनुप¥यो । सानो देशलाई ऋणको भारीभन्दा अरु केही छैन ।
योभन्दा बढी प्रगति के नै चाहियो ? नेपाल यति लाचार भयो कि के भन्ने ? छिमेकीले नेपालको भूभाग मिचिरहेका छन् । कतै चुइँक्क बोल्ने ठाउँ छैन । जनता मनमा नेताहरुप्रति यति घृणा पैदा भएको छ कि के भन्ने ? जनताको दुःख जनतासँगै छ । यहाँ सुनिदिने कोही छैन ।
विदेशी ऋण ल्याए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आएको होइन । हिजो जनता जहाँ उभिएका थिए, आज पनि त्यहीँ छन् । परिवर्तन आएको त नेता र सरकारी कर्मचारीलाई मात्र हो । नेताहरुलाई जे गर्न पनि छुट भयो । आफ्नो पार्टी बलियो बनाउने भन्दै उनीहरुले सोच्दै नसोचिकन मनमौजी निर्णय गरे ।
जसको परिणाम केही वर्षमै भोग्नुपर्छ । अहिलेका नेताहरुले देश विकास गर्छन्, रोजगारी पाइन्छ, अर्थतन्त्रमा सुधार हुन्छ, महंगी घट्छ, विदेशी ऋण मिनाहा हुन्छ भन्नु जनताले दिउँसै सपना देख्नु हो । विदेशी हस्तक्षेप बढेको बढ्यै छ । विदेशीको अगाडि नेपाल यति निरीह छ, वर्णन गरिसाध्य छैन ।
अन्य मुलुकको सामुन्ने नेपाल चुपचाप बस्नुपर्ने बाध्यता छ । दाहालले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको १६ महिना हुन लाग्यो । पहिलो पटक यति लामो समय प्रधानमन्त्री बनेका उनले अर्थतन्त्र सुधार्ने होइन, सकाउने कामचाहिँ गरे । दाहालसँग अलिकति देश र जनताको माया छ भने पद छोडिदिए हुन्छ ।
दाहाल नै प्रधानमन्त्री बनिरहे भने देश झनझन् नाजुक बन्छ । जनताले कर तिर्न छोडिसके । बिहान बेलुका छाक टार्न समस्या परेको बेलामा कसले कर तिर्ने ? जनताले दाहालमाथि विश्वास गर्दैनन् । त्यसलै पद ओगटिरहनु भन्दा मार्ग प्रशस्त गरिदिए हुन्छ । पद ओगटेर मात्र देशले निकास पाउँदैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *