नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ एम्नेष्टी इन्टरनेशनलको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने मुलुकको सूचीमा नेपाल पनि परेको छ । बुधवार विश्वभर एकसाथ सार्वजनिक गरिएको सन् २०२३ को मानव अधिकार अवस्था बारेको एम्नेष्टीको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
विश्वका अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि अभिव्यक्ति स्वतन्त्रता र अधिकार माग्न पाउने अधिकारमाथि अंकुश लगाउन खोजिएको भनी उल्लेख छ । यसैगरी नेपालमा पनि मानवअधिकारको अवस्था सन्तोषजनक नभएको जनाइएको छ । यसको आधारका रुपमा टिकटकमा प्रतिबन्धदेखि माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा लगाइएको कुरा उल्लेख गरिएको छ । यसरी प्रतिबन्ध लगाउने कार्यले नागरिकको बोल्न पाउँने, अधिकार माग्ने कुरा कुण्ठित गर्न खोजिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी प्रतिवेदनमा विश्वमा बढ्दो द्वन्द्वले नागरिक चपेटामा परिरहेको पनि उल्लेख गरिएको छ । विश्वभर हत्या, हिंसा, दुव्र्यवहार, विभेद, दमन र गिरफ्तारीका घटनाहरु बढिरहेको उल्लेख छ । नेपालमा पनि नागरिकमाथि हुने दमन, हिंसा, दुव्र्यवहार र अधिकार माग्नेमाथि अत्यधिक बल प्रयोगका घटनाहरु भएको एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले जानकारी दिएका छन् ।
यस्तै, न्याय माग्नेक्रममा मिटर ब्याजपीडितमाथि दमन, प्रहरी हिरासतमा भएका मृत्यु जस्ता मानव अधिकार उल्लंघनका घटनाहरुलाई प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्कातर्फ सशस्त्र द्वन्द्वकाक्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाका पीडितहरुलाई न्याय पनि सरकार विफल भएको कुरा उल्लेख गरिएको छ ।
एम्नेष्टी इन्टरनेशनलले हरेक वर्ष विश्वभर एकैसाथ प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *