द्विदेशीय सम्झौताहरूमा कार्यान्वयनको खाँचो

Nayabimarsha (Weekly Newspaper from Nepal)
सम्पादकीय

नेपाल र कतारबीच सहकार्य गर्नेसम्बन्धमा दुइटा सम्झौता र छवटा समझदारी भएका छन् । सरकारी तहमा छवटा र निजी क्षेत्रसँग दुइटा समझदारी गरिएका हुन् । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणको दोस्रो दिन ती समझदारी तथा सम्झौताहरु भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिरको उपस्थितिमा सरकारीस्तरको समझदारीपत्रमा नेपालमा कानूनमन्त्री पदम गिरी र त्यहाँका समकक्षीले हस्ताक्षर गरेका छन् । संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबीच सहकार्यसम्बन्धी पनि सम्झौता भएका छन् । गैरसरकारी स्तरमा भएका सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने भन्ने रहेको छ । तीन लाखको हाराहारीमा हाल नेपाली कतारमा रहेको अवस्था छ ।
यस्तो अवस्थामा कतारका राजा नेपाल आई भएका समझदारी र सम्झौताहरुमा नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी गर्ने सहमति भएको छ । यसैगरी राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता पनि भएको छ । नेपाल सरकार र कतार राज्यको सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारीपत्र भएको छ । यस्तै नेपाल सरकार र कतार राज्यको सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र र नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबीच सहयोगका लागि समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आईएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र र कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । यस्तै, कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारीपत्रको नवीकरण गर्ने कार्य पनि भएको छ ।
कतारका राजाको नेपाल भ्रमणका दौरानमा भएका यी समझदारी र सम्झौताहरुको महत्व जति छ, त्यति नै यसको कार्यान्वयनको चुनौती छ । कुनै पनि समझदारी वा सम्झौता हुनु मात्र ठूलो कुरा होइन । त्यसको कार्यान्वयनको पक्ष कस्तो रहन्छ भन्ने कुरा महत्वपूर्ण हुन जान्छ । यसैगरी यसमा दुई देशको विश्वसनियताको कुरा पनि आउने गर्दछ । सरकारहरुका बीचमा भएका कुराले देशको इज्जतको कुरालाई बोकेको हुन्छ । नेपाल सरकारले त झनै बढी चनाखो बन्नुपर्ने अवस्था देखिएको छ किनकि कतारमा तीन लाखको हाराहारीमा नेपालीजन रहेका छन् । यसैगरी यी सम्झौता तथा समझदारीका कारण थप नेपाली कतार जान सक्ने अवस्था आउने देखिन्छ । यसैगरी नेपालीजनको श्रम तथा सेवाका कारण कतार आफूले प्रगति गरिरहेको कुरालाई पनि उक्त देशले महत्वका साथ हेर्नु जरुरी छ । त्यसैले यसको पालनाको विषयमा बढी सजग हुनुपर्ने अवस्था देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *