संसदमा ठूलो दल बन्न ओलीको कसरत

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली वर्तमान संसदमा ठूलो दल बन्ने उपायको खोजीमा विभिन्न दाउपेच र षड्यन्त्रमा जुटेको समाचार प्राप्त भएको छ ।
प्रमुख प्रतिपक्षी दलहरुलाई उत्तेजित बनाएर अध्यादेशबाट बजेट ल्याई चालु अधिवेशन अन्त्य गराउन सभामुख देवराज घिमिरेको कान ओलीले फुके पनि अन्ततः ओलीको योजना चकनाचुर भै संसदबाटै बजेट आएको छ । ओलीको जबरजस्तीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निरीह बनेको मात्र नभै धर्म संकटमा परेका बताइन्छ ।
पाँचदलीय गठबन्धन सरकारमा ओलीको हैकम र हालीमुहाली चलेको जानकारहरुले बताएका छन् । ओलीकै निर्देशन अनुसार जनता समाजवादी पार्टी नेपाललाई फुटाइएको आरोप लागेको छ । फुटाइएको जसपाका १२ जना सांसदमध्ये सातजना अशोक राई र पाँचजना उपेन्द्र यादवको पक्षमा देखिएका छन् । राई नेतृत्वको जसपाका सातजना एमालेमा विलय हुने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
ओलीको रणनीतिक योजना अनुसार अबको तारो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रहेको चर्चा चलेको छ । नेकपा एसमा हाल १० जना सांसदहरु रहेका छन् । जसमध्ये अध्यक्ष माधवकुमार नेपालको पक्षमा पाँचजना र सम्मानित नेता भनिने झलनाथ खनालको पक्षमा पाँचजना रहेको श्रोतले बताएको छ । दल विभाजनलाई खुकुलो बनाउने गरी अध्यादेश ल्याएर नेकपा एसलाई पनि विभाजन गर्ने तैयारी भैरहेको समाचार श्रोतले बताएको छ ।
विगतमा राई र खनाल एमालेमै भएका कारण ओलीले उनीहरुको मन जित्न सक्ने ठानिएको छ । हाल संसदमा दोश्रो ठूलो दल रहेको एमालेको सिट संख्या ७८ छ । त्यस्तै ठूलो दल नेपाली काँग्रेसको ८९ सिट छ । जसपा राई पक्षका सात र नेकपा एस खनाल पक्षका पाँच गरी कूल १२ सांसद एमालेमा विलय भए एमालेको ९० सिट हुने र एमाले सबैभन्दा ठूलो दल बन्न सक्ने सोचका साथ ओली लागिपरेको बताइन्छ ।
त्यसो त नागरिक उन्मुक्ति पार्टी पनि फुटाउन ओलीले विभिन्न अस्त्रहरु प्रयोग गरेको खबर छ । यसरी साना पार्टीलाई फुटाएर संसदमा ठूलो दल बनी प्रधानमन्त्री बन्ने ओलीको सपना पूरा हुन्छ कि हुँदै त्यो भने भविष्यले बताउने भनी राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *