ओली सरकारमा, दाहाल गाउँमा

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ गत असार १८ गते तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले भनेको तथा गरेको व्यवहारका कारण दाहाल र ओलीको कित्ता परिवर्तन हुन पुगेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका दाहालसँगको भेटमा ओलीले तात्कालिन अवस्थामा सरकारको समीकरण परिवर्तन नगर्ने भनी दाहाललाई आश्वस्त पारेका थिए । ओलीले ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनी दाहाललाई आश्वस्त पार्ने कार्य गरे पनि अघिल्लो रात नै ओलीले आफू प्रधानमन्त्री बन्ने बाटो स्पष्ट पारिसकेका थिए । दाहाललाई भ्रममा पार्न सफल ओलीले सोही दिनको राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दाहाल नेतृत्वको सरकार परिवर्तन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरिसकेका थिए ।
कांग्रेससँगको ७ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेको भोलिपल्ट समेत दाहाललाई थाङ्नामा सुताउन सफल ओली अहिले देशको प्रधानमन्त्री बनेका छन् । दाहाल भने सत्ताच्यूत मात्र भएका छैनन् कि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुगेका छन् । आफूलाई थाङ्नामा सुताउने तथा काखमा राखी पछाडिबाट छुरा हान्ने जस्तो कार्य ओलीबाट भएको भनी दाहालले गत असार २८ गते संसदमा विश्वासको मत माग्ने बेलामा समेत दुखेसो पोखेका थिए । उनले आफूलाई कांग्रेसका सभापति देउवाले स्पष्ट रुपमा सरकार परिवर्तन गर्ने सहमति भैसकेको भनी भन्दा समेत ओलीले झुट बोलेर विश्वासघात गरेको बताएका थिए ।
संसदमा तेस्रो ठूलो दलको हैसियतमा खुम्चिएर पनि कांग्रेस एमालेलाई खेलाएर प्रधानमन्त्री बन्न सफल रहेका दाहाल ओलीका कारण अहिले प्रतिपक्षमा पुगेका छन् । आफूलाई निक्कै नै खेलाडी ठान्ने दाहाललाई चक्मा दिएर ओली उनैलाई विस्थापित गरी प्रधानमन्त्री बन्न सफल भएका छन् ।
त्यसो त प्रधानमन्त्री रहेकै बेलामा ओलीको दबाब थेग्न नसकेको भन्दै दाहालले देउवासँग गठबन्धन परिवर्तनको चाहना पनि व्यक्त गरेको कुरा सार्वजनिक भएको थियो । यसअघि पटक पटक धोका पाइसकेका देउवाले दाहाललाई विश्वास नगरी बरु ओलीसँग संवाद गरी कांग्रेस एमालेको सरकार बनाउँदा त्यसले दीर्घकालिन रुपमा स्थायी सरकार बनाउन सघाउ पु¥याउने भनेका थिए । दाहालले पदका लागि जे पनि गर्न सक्ने भन्ने कुराको छनक पाएका ओलीले पनि दाहाललाई साथ दिनुभन्दा अहिले नै कांग्रेसको साथ लिएर सरकार बनाउने कुरामा सहमति जनाएका थिए ।
यसरी दाहाललाई लोप्पा खुवाउँदै ओली भने सरकारमा पुगेका छन् । दुई वर्ष प्रधानमन्त्री बनी त्यसपछिको डेढ महिनाका लागि देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको तथा त्यसको पालना हुने भनी ओलीले विश्वासको मत लिने समयमा संसदमै आफ्नो प्रतिबद्धता जनाएका थिए । यसैगरी हालै सरकारका सचिवहरुसँगको संयुक्त छलफलमा उनले वर्तमान सत्तासमीकरण पूर्ण अवधि टिक्ने बताए । उनले सचिवहरुलाई सरकारको गठबन्धन परिवर्तन हुने भन्ने कुरा मनमा नलिई काम गर्न आग्रह पनि गरे ।
यसरी धेरै चतु¥याइँ गर्दा प्रधानमन्त्रीबाट प्रमुख प्रतिपक्षमा पुगेका दाहाल अहिले गाउँफर्क अभियान चलाउने अवस्थामा पुगेका छन् । २०८४ मा हुने भनिएको निर्वाचनमा कांग्रेस र एमालेले माओवादी केन्द्रसँग गठबन्धन नगर्ने छनक पाएका दाहालले आफ्नो दल माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गराएका छन् । सो दलको मुख्यालयमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर मिलेको भन्ने धारणा दाहालले राखी मनशान्त बनाएको पनि समाचार स्रोतले दाबी गरेको छ । उनले ‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरु, राजनीतिक कार्यदिशाहरु, दृष्टिकोणहरु जनतामा सोझै पु¥याउन सकियोस्’ भन्ने धारणा राखेका बताइएको छ ।
सरकारमा रहँदा आफू तथा दलका नेताहरु जनताका माझमा पुग्न असहज भैरहेको भन्दै दाहालले अब वर्तमान सरकारको विरुद्धमा समेत आवाज उठाउन गाउँगाउँसम्म पुग्नुपर्ने अवस्था र अवसर आएको भन्ने धारणा राखेका थिए । उनले आफूहरु अहिले कुनै बन्धनमा नबाँधिएको भन्दै जनतामा आफ्नो दलको दृष्टिकोणसहित जाने बताएका थिए ।
उनले गाउँ गाउँमा पुगी जनताको चाहना बुझ्ने तथा वर्तमान सरकार संविधान संशोधनको नाममा जनताको उपलब्धीलाई समाप्त पार्न लाग्ने कुराको खबरदारी गरिनुपर्ने कुरालाई समेत जोड दिएका थिए । कतिपयले माओवादी केन्द्रको यो कुरालाई राजा महेन्द्रको ‘गाउँ फर्क अभियान जस्तो’ भनी टिप्पणी गर्ने गरेका छन् ।
माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि अधिकांश समय सरकारकै वरिपरि घुमेको थियो । सत्ता गठबन्धनमा कांग्रेस र एमाले आएपछि माओवादी केन्द्र अहिले केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म प्रतिपक्षमा पुगेको छ । यसैगरी माओवादी केन्द्रबाट नियुक्ति पाएका प्रदेश प्रमुखहरुदेखि राजदूत बनेकाहरुलाई समेत ओली नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरी उनीहरुको स्थानमा अरुलाई पठाउने निर्णय गरिसकेको छ ।
यसरी सरकारविहीनको अवस्थामा पुगेको माओवादी केन्द्र वर्तमान सरकारका कमी कमजोरीहरुलाई केलाउने अवस्थामा पुगेको छ । आफू सरकारमा हुँदा विभिन्न विवादमा मुछिएका माओवादी केन्द्रको नेतृत्व पछिल्लो समयमा ‘पानी विनाको माछा’ जस्तो बन्न पुगेको छ । प्रतिनिधिसभामा रहेको ३२ सिटलाई ‘जादूगरी संख्या’ भन्ने संज्ञा दिंदै आएका दाहालको उक्त संख्या पछिल्लो घटनाक्रममा जादूविहीन अवस्थामा पुगेको छ ।
यसैगरी २१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सिट रहेको नेकपा (एकीकृत समाजवादी) ले पनि आफ्नो उक्त सिट संख्यालाई राम्रै गरी भजाएका थिए । कांग्रेस र एमाले नमिल्दा उनीहरुको सिट संख्याले बहुमत पु¥याउने मद्दत गर्ने अवस्था आइरहेको थियो । सोही कारण उनीहरु जसको नेतृत्वमा सरकार बने पनि शक्तिशाली रुपमा आफूहरुलाई उभ्याउने हैसियतमा थिए ।
उनीहरुले हैसियतभन्दा माथिको सपना देखेका कारण कांग्रेस र एमाले मिल्न पुगेको अवस्था छ । यो बेला यी प्रमुख ठूला दलहरुले सहमतिलाई कायम राखी सरकार हाँकेको खण्डमा स्थिर सरकार बन्ने कुरामा दुई मत नरहेको धारणा अधिवक्ता भवानीप्रसाद अधिकारी राख्छन् । यसैगरी प्रधानमन्त्री ओलीले विश्वासको मत लिने समयमा दुई तिहाई मत पाएको अवस्थामा संविधानमा संशोधन गर्ने कुरामा सहज अवस्था आउने स्थिति रहेको चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *