सरकारलाई कुलमान र प्रदीप घाँडो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ वर्तमान खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा नेपाल विद्युत प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण नेपाली काँग्रेसले सम्हालेको मन्त्रालयमा परेको छ । ऊर्जा मन्त्रालयको जिम्मेवारी दीपक खड्काले र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी बद्री पाण्डेले सम्हालेका छन् । तर यी दुबै मन्त्रालय मातहतको विद्युत प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणका प्रमुख विवादमा परेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग सरकार सन्तुष्ट छैन । पहिलो कार्यकालमा ई. मुकेश काफ्लेले मुलुकलाई १८ घण्टासम्म अन्धकार बनाएको मुलुकलाई कुलमान घिसिङले उज्यालोमा परिणत गरी वाह–वाह कमाएका थिए । माओवादीका तात्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि मुलुकमा व्याप्त १८ घण्टासम्मको लोडसेडिङको अन्त्य भएको थियो ।
यिनै घिसिङले दोश्रो कार्यकालका लागि नेतृत्व सम्हालेपछिको अन्त्यतिर विवादमा परेका छन् । अहिले प्रधानमन्त्री ओली र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीचको द्वन्द्व चरमोत्कर्षमा पुगेको छ । डेडिकेटेड तथा ट्रंकलाइनको विषयमा घिसिङले उद्योगमा लाइन काटेर विद्युतको बक्यौता उठाउने विषयमा प्रधानमन्त्री उद्योगीहरुको बचाउमा उत्रिँदा द्वन्द्व चर्किएको छ ।
घिसिङले पुरानो ३४ अर्ब घाटा पूर्ति गरेर ४२ अर्ब बढी नाफा गराएको पत्रकार सम्मेलनमा बताएका छन् । उद्योगीहरुले ८ अर्ब बढी रकम विद्युतको वक्यौता रकम तिर्न बाँकी छ । यस्तो अवस्थामा सरकारले कुलमानलाई हटाउन खाजे पनि स्थिति सहज नभएको जानकारहरुले बताएका छन् । कुलमानको समर्थनमा गत श्रावण २६ गते माइती घरमा निस्केको युवाहरुको भीडमा प्रहरीले लाठी चार्ज समेत गरेको थियो ।
कुलमानको पक्षमा माओवादी केन्द्र लागेको छ । घिसिङलाई हटाउन सरकारले अनेकौं छिद्रहरुको खोजी गरिरहेको जानकारहरुले बताएका छन् ।
यता, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भ्रष्ट प्रवृत्ति र हवाई सुरुक्षाबारे चासो नदेखाएको भन्दै काँग्रेस सांसद उदयशम्सेर जबरा लगायतले उनलाई हटाउन माग गरेका छन् । तात्कालिन नेकपा एसका पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई मोटो रकम बुझाएर प्राधिकरणको नेतृत्व हात पारेका अधिकारीले आइकाओ र युरोपियन यूनियनको निर्देशनलाई बेवास्ता गर्दा १५ दिनमा २ वटा हवाई दुर्घटना भएको र नेपालमा पर्यटकहरुको आगमनमा कमी आउनुका साथै हवाई सुरक्षाका बारेमा गम्भीर शंका उब्जिएपछि पर्यटन मन्त्री पाण्डेले तुरुन्त पदमुक्त गर्नुपर्ने आवाज उठेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *