माओवादीमा अध्यक्ष दाहाललाई महासंकट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिबाट सन्यास लिएर काशी जानुपर्ने अवस्था आइलागेको छ । ३४–३५ वर्षसम्म पार्टीभित्र एकछत्र राज गर्दै आएका अध्यक्ष दाहाललाई पछिल्लो समय जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन एक ठाउँमा उभिएपछि संकट आइलागेको माओवादीका जानकारहरुले बताएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा नेतृत्व हस्तान्तरण हुनुपर्ने सहित ११ बुँदे प्रस्ताव सहित नीति र नेतृत्व फेर्ने धारणा राखेपछि माओवादी पार्टीभित्र भुँइचालो गएको छ । पार्टीकै नेताहरु विरुद्ध राज्यसत्ताको प्रयोग गरेर गलत हल्ला फिजाइएको समेत अध्यक्षलाई आरोप लागेको छ । पार्टी कमजोर भएको, जनतासँगको सम्बन्ध बिग्रेको र संगठन ध्वस्त भएको अवस्थामा अहिलेकै नीतिले पार्टी नचल्ने समेत बैठकमा नेताहरुले धारणा राखेका छन् ।
१८ वर्ष सत्तामा रहँदा नाता, गोता, छोरी ज्वाई बाहेक अरु नदेखेका अध्यक्ष दाहाल जब पुन दम्पत्ति र शर्मा एक ठाउँमा उभिएपछि छाँगाबाट खसेका समाचार श्रोतले जानकारी दिएको छ ।
अध्यक्ष दाहालको कार्यशैलीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत सन्तुष्ट छैनन् । पछिल्लो समय नेकपा एमालेको र काँग्रेसको फेरो समाएर डेढ वर्ष सत्तामा हाली मुहाली गरेका प्रचण्डलाई काँग्रेस एमालेको गठबन्धन सरकार बनेपछि छटपटी बढेको हो । २०७२ सालमा डा. बाबुराम भट्टराईले माओवादी छाडेपष्छि निर्विकल्प ठानिँदै आएका प्रचण्डलाई शर्मा र पुनको एकताले नेतृत्वविहीन बन्नुपर्ने हो कि भन्ने त्रास बढेको छ ।
यसैबीच माओवादी नेता शर्माले लगाएका संगीन आरोपहरु यस प्रकार छन् ।
– आठौ महाधिवेशनमा विशेष महाधिवेशनको घोषणा गरेर महाधिवेशनलाई महत्वहीन बनाएको,
– विधान महाधिवेशनको महत्वलाई कमजोर बनाएको,
– प्रधानमन्त्री हुँदा बालुवाटारबाटै कहिले जनार्दन त कहिले वर्षमानविरुद्ध प्रचार गराएको,
– आफ्नै नेता तथा कार्यकर्ताविरुद्ध प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको,
– विभिन्न तहका नेताहरु पार्टी फुटाउन लागेको भन्दै दुष्प्रचार गरेको,
– समानान्तर कमिटीहरु सञ्चालन गरेको,
– सत्ता गठबन्धन बारम्बार फेरेको,
– संघीयता कार्यान्वयनलाई बेवास्ता गरेको,
– पार्टी फुट्दै छ भनेर पार्टी पंक्तिलाई भ्रमित गर्ने, त्रसित गर्ने काम गरेको,
– स–साना अन्तरविरोध समाधान गर्नुको साटो झन् ठूलो अन्तरविरोध सिर्जना गर्ने गरेको,
– परिवारवाद हाबी बनाउँदै लगेपछि पार्टी आमजनताबाट अलग हुने अवस्था आएको छ ।
यही हिसाबले पार्टीभित्र मनमुटाव बढे माओवादी २०८४ को चुनावमा १० सिटमा झरेर नेकपा एसजस्तै बन्ने जानकारहरुले बताए । अब जनताले माओवादीको कुरा नबिक्ने समेत एक नेताले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *