सहकारी काण्डले लामिछाने थरर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सहकारीको रकम अपचलनको विषयले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने थरर हुन थालेका छन् । सो विषयमा संसदीय छानविन समितिलाई वयान दिएपछि लामिछाने आफ्नो वचाउकालागि शक्तिकेन्द्रमा धाउना थालेका बताइएको छ ।
यसक्रममा उनले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी आफूलाई जोगाइ दिन अनुनय विनय गरेको समाचार स्रोतले दाबी गरेको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिएपछि लामिछाने थरर भएको बताइएको छ । सोही क्रममा लामिछानेसहितका आरोपितसँग वयान लिइएपछि उनको ओठमुख सुकेको पनि स्रोतले बतायो ।
लामिछाने गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक भएका बेलामा सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा मिडिया हाउसमा पैसा लगेको पीडितहरुको उजुरीमाथि छानविन भैरहेको छ । लामिछानेसँग भदौ ७ गते ९ घन्टा बढी संसदीय छानबिन विशेष समितिले सोधपुछ गरेको थियो । त्यसपछि कास्की प्रहरीका प्रतिनिधि काठमाडौं आएर उनीसँग वयान लिएको थियो । उनले त्यसकै बीचमा प्रधानमन्त्री ओलीसँग भेट गरी आफूलाई जोगाइदिन अनुनय विनय गरेको समाचार स्रोतको दाबी छ ।
यसैगरी हालको सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति देउवासँग पनि उनले भदौ १० मा गोप्य रुपमा भेट गरेको बताइएको छ । कुरा लुकाउन नजान्ने सभापति देउवाले कांग्रेसको केन्द्रीय समितिको बैठकमा लामिछानेले आफूलाई भेटेको जानकारी गराएका थिए ।
सूर्यदर्शन सहकारीको बचत हिनामिनाबारे पहिलो चरणमा अनुसन्धान सकिएर मुद्दा अदालत पुगिसकेको थियो । सोही अवस्थामा गत १६ माघमा जिल्ला प्रहरी कार्यालयमा कास्कीमा पुरक जाहेरी परेपछि लामिछानेमाथि पनि अनुसन्धान थालिएको हो । उक्त जाहेरीमा लामिछानेसहित १८ जनालाई प्रतिवादी बनाइएको छ ।
उता, सहकारीका पीडितहरु भने राजनीतिक संरक्षणको आडमा अनुसन्धान प्रभावित हुन सक्ने भनी चनाखो बनेका छन् । उनीहरुले त्यसकालागि काठमाडौंं केन्द्रित आन्दोलन समेत गर्दै आएका छन् ।
कुशासनका कुरा गरेर अरुमाथि औंला ठड्याउन खप्पिस लामिछाने अहिले आफ्नो जोगाउका लागि औंला ठड्याएकाहरुकै निवासमा धाउँदै हिंडेको भनी राजनीतिक रुपमा टिप्पणी गर्ने गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *