स्वास्थ्यकर्मीको समस्यामा मिलनविन्दु खोजौं

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

सार्वजनिक बिदाका दिन समेत सबै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति प्रकट गरेको छ । यो अव्यावहारिक तथा अवैज्ञानिक रहेको भन्दै निर्णय फिर्ता लिन संघले आग्रह गरेको छ । संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आराम गर्न साताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलनविपरीत यो कार्य हुने भन्दै त्यसको विरोध गरेको हो । एक विज्ञप्ति प्रकाशन गरी संघले नेपालमा भने बिदाको दिनमा समेत बहिरसंग सेवा सञ्चालन गर्ने कुरालाई संघले सहज रुपमा लिन नसकेको उल्लेख गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिन समेत स्वास्थ्यसम्बन्धी सेवा प्रवाह गर्न भदौ ७ गते स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो । स्वास्थ्यकर्मीहरूमा कामको बोझ तथा लगातारको तनावले पारिवारिक, वैवाहिक र सम्बन्ध विच्छेदसम्मका घटना देखिएको भन्दै संघले यो कुरामा सरकारले तत्कालै पुनर्विचार गर्नुपर्ने पनि बताएको छ । संघले अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रमअवधि साताको ४० घण्टा तोके पनि ७२ घण्टासम्म लगातार काम गर्नुपरेको भनी अहिलेको विद्यमान अवस्थाप्रति पनि संघले आपत्ति जनाउँदै आएको छ । यसरी खटिएर काम गर्दा पनि त्यसको तुलनामा सुविधा र दरबन्दी अत्यन्त कम भएको भनी स्वास्थ्यकर्मीहरुले आपत्ति गर्दै आएका छन् । सार्वजनिक बिदाका दिन समेत सेवा सुचारु गर्नु परेको खण्डमा स्वाथ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढ्ने उनीहरुको बुझाइ छ । यस्तो अवस्थालाई उनीहरुले ‘बर्नआउट’ हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकुल असर पर्ने सम्भावना रहेको भन्ने कुरालाई पनि अगाडि सारेका छन् । यो कुरालाई वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको भन्ने दाबी स्वास्थ्यकर्मीहरुको रहेको छ ।

सरकारले जे निर्णय गरेको छ त्यो राम्रो पक्षबाट हेरी गरिएको हो । सार्वजनिक विदाको दिन अस्पतालहरु बन्द हुँदा त्यो दिन विरामी परेकाहरुले उपचार नपाउने अवस्था विद्यमान रहेको छ । विरामी भन्ने कुरा कुनै पनि बेला पर्न सकिने कुरा हो । त्यसैले सरकारले जनताको अवस्थालाई ख्याल गरी यो निर्णयमा पुगेको हो । उक्त दिन अस्पताल लगायतका स्वास्थ्यसँग जोडिएका कार्यालयहरु खोलिएका खण्डमा अर्को दिनको चाप पनि कम हुने निश्चित छ । यसैगरी सार्वजनिक विदाको विन शहरी क्षेत्रमा सवारीहरुको चाप पनि कम हुने हुँदा आकस्मिक वा नियमित उपचारमा रहनेहरुलाई त्यो दिन सेवा लिन सहज पनि हुने गर्दछ । यसैगरी अर्को पक्षबाट हेर्ने हो भने स्वास्थ्यकर्मीहरुले उठाएको कुरा पनि सही देखिन्छ । उनीहरु पनि मानिस नै हुन् । अझ भन्ने हो भने स्वास्थ्य जस्तो क्षेत्रमा कार्य गर्ने गरेका स्वास्थ्यकर्मीहरुलाई पनि आरामको जरुरी हुने निश्चित छ । यस्तो अवस्थामा सरकार र स्वास्थ्यकर्मीहरुका बीचमा देखिएको समस्याको समाधान निकाल्न सकिएमा त्यो उचित हुने देखिन्छ । यसका लागि स्वास्थ्यकर्मीहरुको संख्या छुट्याएर सरकारले तीमध्ये विदाको दिन केहीलाई विदा दिने तथा केहीलाई नदिने गर्न पनि सकिने देखिन्छ । यसो गरियो भने आलोपालो उनीहरुले काम गर्ने देखिन्छ । यसैगरी उक्त विदाको दिन कार्य गर्ने स्वास्थ्यकर्मीहरुलाई सरकारले थप सुविधा दिने व्यवस्था समेत मिलाउनु उचित देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *