प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । नेपाल मेडिकल कलेजको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकहरूप्रति अमर्यादित टिप्पणी गरेको भनी उनीहरुले आपत्ति जनाएका हुन् । संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले शिक्षक समुदायमाथि असहिष्णु र अशोभनीय अभिव्यक्ति दिएको बताएका छन् । प्रधानमन्त्री ओली शिक्षकहरूको किन तलब बढाउने भन्दै प्रश्न गरेका थिए । ५२ प्रतिशत विद्यार्थी अनुतीर्ण गराउने शिक्षकको तलब बढाउन नहुने ओलीको भनाइ थियो । ५२ प्रतिशत अभिभावक तथा युवाहरूको सपना एसईईमै सकिने बताउँदै यस्तो प्रणाली नै खारेज गर्नुपर्ने बताएका थिए । उनको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेका बेला महासंघले भने आधिकारिक धारणा सार्वजनिक गरी ओलीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको हो ।
शिक्षक वर्गमाथि यस्तो अमर्यादित र हेपाहा अभिव्यक्ति राखिनु निन्दनीय भएको भनी शिक्षकहरुले भनेका छन् । आगामी दिनमा नेपाली शिक्षक–कर्मचारीलाई लाञ्छित गर्ने खालका यस्ता अशोभनीय र असान्दर्भिक अभिव्यक्ति नराख्न समेत महासंघले चेतावनी दिएको छ । शिक्षकहरुमाथि गरिएको यस्तो टिप्पणीका कारण प्रधानमन्त्री आफैं झनै आलोेचित हुने अवस्था आएको छ । ओलीले आफ्नो धरातल र कार्यशैली नहेरी अरुको मात्र आलोचना गर्ने गरेको भनी उनको आलोचना भैरहेको छ ।
ओलीको उक्त अभिव्यक्तिका कारण शिक्षक वर्गमात्र होइन कि अरु पनि आक्रोशित देखिएका छन् । ओलीले अरुको आङको जुम्रा देख्ने तर आफ्नो आङको भैंसी समेत नदेख्ने भनी उल्टै आलोचना हुने गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले त यही अभिव्यक्ति र ओलीले कार्यसम्पदनमा पाएको अंक प्रतिशतलाई तुलना गरी ओलीको आलोचना गरेका छन् । उनले ओलीले प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्नेसम्मको धारणा राखेका छन् । प्रधानमन्त्रीको कार्यालयले हालै एक आँकडा सार्वजनिक गरेको थियो । विभिन्न मन्त्रालयको प्रगतिको आधारमा आँकडा निकालिएको थियो । उक्त आँकडामा प्रधानमन्त्री ओली स्वयम्ले जम्मा २८ प्रतिशत प्रगति हासिल गरेका थिए । अन्य मन्त्रालयहरुको अवस्था पनि टिठलाग्दो देखिएको थियो । यसरी प्रधानमन्त्री बनेको आठ महिना बितिसक्दा पनि उनले खासै केही गर्न नसकेको स्थिति छ । यस्तो स्थितिमा अरुलाई आलोचना गर्ने भन्दा पनि प्रधानमन्त्री ओलीले आफूलाई सच्याएको भए राम्रो हुने थियो । अरुका गल्तीमात्र देख्ने ओलीको नजर आफैंमाथि परेका खण्डमा मुलुक केहीमात्रामा भए पनि सुध्रिन्थ्यो कि !

अरुको आलोचना हैन आत्मालोचना जरुरी
Facebook Comments Box