गृहसचिवमा दुवाडी, काठमाडौंको प्रजिअमा आचार्य

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत भाद्र २० गतेको मन्त्रिपरिषद् बैठकले रिक्त गृहमन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ । सचिव दुवाडीले भाद्र २३ गते पदभार ग्रहण गरेका छन् ।
गृहमन्त्रालयका सचिव एकनारायण अर्याल मुख्य सचिवमा बुढुवा भएपछि गृहमन्त्रालयको सचिव पद रिक्त बन्न पुगेको थियो । गृहसचिवका लागि प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्ण, भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव अर्जुन पोख्रेल, महिला मन्त्रालयका सचिव दिनेश भट्टराई र सचिव विनोद प्रकाश सिंह आकांक्षी थिए ।
यी सबै आकांक्षीहरुलाई पछि पार्दै दुवाडी गृहसचिव बन्न सफल भएका छन् । सचिव दुवाडी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लामो समय बसेर राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएका थिए । चलखेल गर्न खप्पिस सचिव दुवाडीले बुढानिलकण्ठ दरबारलाई प्रभावमा पारी गृहसचिव बनेको जानकारहरुले बताएका छन् । गृहको खासै अनुभव नभएका सचिव दुवाडीलाई शान्ति सुरक्षा, अमनचयन, गृहप्रशासनमा देखिएका बेथिति एवं विकृति, आपराधिक घटना, सुशासन र सम्बृद्धिको लागि गहन जिम्मेवारी पूरा गर्नुपर्ने चुनौती छ ।
यसका अतिरिक्त गृहमन्त्रीको कार्ययोजनामा पनि साथ दिनुपर्ने अवस्था छ । सस्तो लोकप्रियताभन्दा परिणाममुखी काम गरेर जनतालाई डेलिभरी दिन महत्वपूर्ण भूमिका खेल्नुपर्ने अवस्था रहेको जानकारहरुले बताएका छन् ।
यता, गृहमन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई पठाएको छ । आचार्य कारागार व्यवस्था विभागको महानिर्देशकबाट काठमाडौंको प्रजिअ बनेका हुन् । गृहमन्त्रालयले सिन्धुपाल्चोक, सिन्धुली र प्यूठानमा पनि प्रजिअ बनाएर पठाएको छ । यसअघि काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनेका जितेन्द्र बस्नेतलाई गृहमन्त्रालयमा सरुवा गरेको छ । नयाँ गृहसचिव र प्रजिअबाट हुने काम भने हेर्न बाँकी नै छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *