अनेरास्ववियु क्रान्तिकारीमा नयाँ नेतृत्व

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन हिजो विहीबारदेखि शुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए ।
असोज ११ गते बन्दसत्रमा पेस भएको विधान तथा प्रतिवेदन संशोधनसहित पारित भएपछि नयाँ नेतृत्व छनोटको तयारी हुने बताइएको छ । सरकार पक्षबाट दबाबमा रहेको मानिने माओवादी केन्द्रको नेतृत्वले विद्यार्थी संगठनको नेतृत्व सकेसम्म सहमतिबाट ल्याउने प्रयास गरिरहेको बताइएको छ । सहमति नभएका खण्डमा खुला निर्वाचन प्रतिस्पर्धाबाट नेतृत्व छनोट हुने सङ्गठनका इन्चार्ज हिमाल शर्माले ‘नयाँ विमर्श’ लाई जानकारी दिएका छन् ।
पहिलो पटक पदाधिकारीसहित सबै सदस्यहरू खुला निर्वाचन प्रक्रियाबाट छनोट गर्ने विधि अपनाइएको शर्माले बताए । अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत लगायतका नेताहरूले सकेसम्म सहमतिबाटै नेतृत्व छनोट गर्ने अभ्यास गरिरहेको स्रोतले दाबी गरेको छ । यसका लागि नेताहरूले विद्यार्थी नेताहरूसँग एक्लाएक्लै र सामूहिक छलफल चलाएकाले सकेसम्म सहमतिबाटै नेतृत्व छनौट हुने अवस्था रहेको पनि स्रोतले जानकारी दिएको छ ।
वर्तमान अध्यक्ष पञ्चा सिंहले उम्मेदवारी नदिने बताइएको छ । अहिलेसम्म उपाध्यक्ष र महासचिव गरी १९ जनाले दाबी गरेको बताइन्छ । केशव रावल, पवन कार्की, मदन भुल, नरेश रेग्मी, दीपेश पुनले अध्यक्षको दाबी गरेको बताइएको छ । यस्तै इन्द्रकुमार भुसाल, जी.पी. मैनाली, तुकमान महरा, मिलन एम.सी., लक्ष्मीप्रसाद जोशी, सूर्यनारायण शाह, प्रविना अधिकारी, गजेन्द्रप्रसाद देव, कल्पना मिया, मदन भट्टराई, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, डा. अच्युत भट्टको नाम पनि मुख्य पदाधिकारीमा चर्चामा रहेको बताइएको छ ।
यो सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ केन्द्रीय समितिको चयन गरिने बताइएको छ । अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक एकजनाको मात्र पदीय व्यवस्था राखिएको छ । यसैगरी उपाध्यक्ष ९, उपमहासचिव ९, सचिव १२ जना पदाधिकारीका रुपमा चयन गरिने छ । सोमबार सम्मपन्न हुने उक्त सम्मेलनमा देशभरिबाट २,३२३ जना प्रतिनिधि सहभागी भएका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *