उपनिर्वाचन दलहरुको अग्निपरीक्षा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ स्थानीय तहका लागि मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचन राजनीतिक दलहरुका लागि अग्निपरीक्षा साबित हुने देखिएको छ । यसअन्तर्गत ४४ पदका लागि हुने उपनिर्वाचनमा पुरानो साख जोगाउनु नै मुख्य दलहरुका लागि चुनौती बन्ने देखिएको छ ।
स्थानीय तहका रिक्त ४४ पदमध्ये २५ स्थानमा यसअघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । कवभिन्न कारणले रिक्त रहेका थिए । कांग्रेसलाई ती २५ स्थानको विरासतलाई जोगाउनु नै मुख्य चुनौती हुने अवस्था छ । कांग्रेसका लागि ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुखका अतिरिक्त काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा पुनः विजय हासिल गर्न सक्नु चुनौतीको रुपमा रहन गएको देखिन्छ । यसैगरी जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष, दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा पनि यसअघि कांग्रेसले विजयको माला पहिरिएको थियो ।
यसैगरी दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा पनि कांग्रेसले जितेका कारण ती स्थानमा फेरि पनि जिती आफ्नो इज्जतलाई कायमै राख्नुपर्ने दबाबमा कांग्रेस रहेको छ ।
यसैगरी यसअघि वडा अध्यक्ष तथा सदस्यमा जितेका स्थानहरुमा पनि कांग्रेसले आफ्नो विरासतलाई कायम राख्न सक्नुपर्ने चुनौती देखिएका कांग्रेसका बागमती प्रदेशस्तरिय नेता रामेश्वर ढकाल बताउँछन् । उनका अनुसार ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३, तेहथुमको लालिगुराँस नगरपालिका–८, उदयपुरको त्रियुगा नगरपालिका–१२, उदयपुरको बेलका नगरपालिका–९, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र वडा नं.– ४ का वडाध्यक्ष यसअघि कांग्रेसले जितेको थियो ।
यस्तै, रौतहटको राजपुर नगरपालिका–६, कीर्तिपुर नगरपालिका–१, काठमाडौँ महानगरपालिका–१६, नुवाकोटको ककनी गाउँपालिका–२, गुल्मीको मुसीकोट नगरपालिका–१, रोल्पाको रुन्टीगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा पनि कांग्रेसले वडाअध्यषमा आफ्नो झण्डा फहराएको थियो । यस्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका–५, डोटीको पूर्वीचौकी गाउँपालिका–६, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदमा पनि कांग्रेसले जितेको अवस्थालाई फेरि पनि जित्नुपर्ने अवस्थामा कांग्रेस रहेको छ ।
सरकारमा कांग्रेससँगै रहेको नेकपा एमालेले पनि आफूले पहिलो जितेका ९ स्थानलाई कसरी सुरक्षित राख्न सकिएला भनी सोचमग्न बनेको अवस्था छ । अघिल्लो निर्वाचनमा एमालेले जितेका ९ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । झापाको कन्काई नगरपालिका–६, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका– ३, धनुषाको धनुषाधाम नगरपालिका– १ मा एमालेले यसअघि जितेको थियो ।
यस्तै, रौतहटको ईशनाथ नगरपालिका–७, गोरखाको गोरखा नगरपालिका–५, दैलेखको दुल्लु नगरपालिका–१३, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र बझाडको सूर्मा गाउँपालिका–४ मा एमालेले पहिले जितेकाले ती ठाउँमा फेरि पनि जित्नुपर्ने चुनौती एमालेसामु रहेको छ ।
उता, अघिल्लो स्थानीय निर्वाचनमा धेरैजसो स्थानमा त्यो बेलाका गठबन्धनकारी दलहरुसँग मिलेर चुनावमा होमिएको नेकपा (माओवादी केन्द्र) का लागि पनि यो उपनिर्वाचन फलामको च्युरा झैं देखिएको छ । यसअघि माओवादी केन्द्रले जिती विभिन्न कारणले रिक्त रहेका आठ स्थानमा अहिले आफ्नो पहिलोको बर्चश्व कायम रहने हो वा होइन भनी माओवादी केन्द्र पनि सोचमग्न अवस्थामा पुगेको छ ।
माओवादी केन्द्रले रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा यसअघि जित निकालेको थियो । महोत्तरीको रामगोपालपुर नगरपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पुथा उत्तरगंगा गाउँपालिका–२, जाजरकोटको कुशे गाउँपालिका–७, कालिकोटको तिलागुफा नगरपालिका–४, र दार्चुलाको दुहुँ गाउँपालिका– ५ को वडाध्यक्षमा यसअघि माओवादी केन्द्रले जितेकाले ती स्थानलाई कसरी सुरक्षित गर्न सकिएला भनी माओवादी केन्द्रले विभिन्न नीति बनाउन थालेको बताइएको छ । यो निर्वाचनमा प्रमुख दलहरु कांग्रेस र एमालेले कसैसँग गठबन्धन नगरी उम्मेदवारी दिने भनेका कारण माओवादी केन्द्र भने मिलेसम्म अन्य दलसँगको साथ खोज्ने दाउमा रहेको बताइएको छ । यी स्थानका अतिरिक्त अन्य स्थानमा पनि नेकपा (एकीकृत समाजवादी) सँग गठबन्धन गर्ने पक्षमा माओवादी केन्द्र रहेको चर्चा छ ।
उता पहिलेको निर्वाचनमा जसपा नेपालले जितेको १ र स्वतन्त्र उम्मेदवारले जितेको एक स्थानीय तहमा पनि उपनिर्वाचन हुँदैछ । जसपा नेपालले जितेको गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदमा आफ्नो पुरानो वर्चश्वलाई जसपा नेपालले कायम राख्न सक्छ वा सक्दैन भनी चर्चा चल्न थालेको छ । यसअघि स्वतन्त्र उम्मेदवारले जितेको कीर्तिपुर नगरपालिका– ४ को वडाध्यक्ष पदका लागि पनि सबै दलहरुले चासोका साथ उम्मेदवारी दिने अवस्था रहेको बताइएको छ ।
उता, अघिल्लो स्थानीय निर्वाचनमा उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो उपनिर्वाचनमा भाग लिने बताएको छ । रास्वपाको उम्मेदवारी परेको स्थानहरुमा नतिजा कस्तो आउला वा पहिलेको अवस्थामा के परिवर्तन होला भनी चासोका साथ हेरिएको अवस्था छ ।

 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *