दलहरु चुनावी माहौलमा ।। सरकार निर्वाचनको तयारीमा दलहरु हिलो छ्यापाछ्यापमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

– बैशाखमै स्थानीय चुनाव हुने – सरकार चुनाव सार्ने दाऊमा

– सरकारी गठबन्धन कायम रहने – गठबन्धन गरिनु हुँदैन

– एमाले एक्लै चुनाव लड्ने – कांग्रेस एक्लै होमिनुपर्छ

– गठबन्धन कायम राखिनुपर्छ – मतपत्रको रङमा समेत विवाद

– विभिन्न दल परित्याग – दल प्रवेश गर्नेलाई स्वागत

माथिका जस्ता विभिन्न शीर्षकमा नेपाली सञ्चारमाध्यममा दैनिकजसो समाचारहरु पढ्न तथा देख्न पाइने गरेको छ । माथिका शीर्षकहरुमै केन्द्रित रहेर समाचारहरु आएका कारण पनि मुलुक निर्वाचनको तयारीमा जुट्न थालेको महसुस आम रुपमा गर्न थालिएको हो । सरकारको सिफारिसमा निर्वाचन आयोगले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने मिति घोषणा गरेको अवस्था छ । त्यसैले पनि राजनीतिक दलहरु निर्वाचनतर्फ केन्द्रित हुन थालेका हुन् ।

पछिल्ला दिनहरुलाई नियाल्ने हो भने राजनीतिक दलहरुलाई चुनाव लागेको स्पष्ट रुपमा देखिन थालेको छ । विभिन्न राजनीतिक दलहरु अहिले टोलमा सकेत संगठन बनाउन लागिपरेको देखिएको छ । केन्द्रमा समेत राजनीतिक दलका नेताहरु अहिले जिल्ला तथा स्थानीय निकायमा सक्रिय रहन चाहेको अवस्थामा देखिन्छन् । केन्द्रमा बस्नुभन्दा आफ्नो गृह जिल्ला तथा स्थानीय तहमा देखा पर्दा आगामी दिनमा हुने निर्वाचनमा आफ्नो दल तथा आफूलाई समेत लाभ पुग्ने अपेक्षा सहित उनीहरु अहिले केन्द्रमा भन्दा पनि जिल्ला तथा स्थानीय निकायमा देखा पर्न थालका हुन् ।

पछिल्लो समयमा स्थानीय तहमा केन्द्रीय स्तरका नेताहरुको समेत आवतजावत बाक्लिन थालेको छ । स्थानीय तहका चिया पसलहरुका समेत अहिले राजनीतिक गफगाफले प्रधानता पाउन थालेको छ । जाडो सकिएर गर्मीको मौसम बढ्न थालेसँगै राजनीतिक गर्मी समेत बढ्न थालेको देखिन्छ ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने भनी घोषित भएका कारण अहिले सबैतिर निर्वाचनको माहौल देखा परेको अवस्था छ । राजनीतिक दलहरु अहिले चुनाव केन्द्रित हुन थालेका छन् । पछिल्लो समय नेपालको राजनीतिमा नयाँ मोड तथा धु्रविकरण देखिएका कारण पनि अब हुने निर्वाचनलाई एकदमै फरक ढंगले हेर्ने अवस्था आएको छ ।

अघिल्लो पटकको स्थानीय तहको निर्वाचनको समयमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का बीचमा केही ठाउँमा तालमेल भएको थियो । यसैगरी नेकपा (एमाले) र राप्रपाका बीचमा पनि कतिपय ठाउँहरुमा तालमेल भएका थिए । त्यो बेलामा सरकारमा रहेका कांग्रेस र माओवादी केन्द्रका बीचमा थाहै नपाई सम्बन्ध विच्छेद गराउने कार्यमा एमालेका खड्गप्रसाद शर्मा ओली देखा परेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ओलीका बीचमा कम्युनिष्ट नाममा एकता गर्ने सहमति भएको थियो । सत्तामा बसेर बेइमानी गर्दै दाहालले एमालेसँग साँठगाँठ बढाएको अवस्थामा त्यसपछिको प्रदेश र संघको निर्वाचन परिणाम नै बदलिन पुगेको थियो ।

दल एकताको नाममा एमाले र माओवादी केन्द्रले सबै निर्वाचन क्षेत्रमा तालमेल गरी संयुक्त रुपमा उम्मेदवार बनाएका थिए । सोही कारण उनीहरुले करिब करिब दुई तिहाईको संख्यामा सिटहरु जिती संयुक्त सरकार बनाउने अवस्था आएको थियो । त्यसपछि दुई दलका बीचमा एकीकरण समेत हुन पुगेको थियो । एकीकृत दलको नाम नेकपा राखी सरकार संचालनमा लागेको अवस्थामा नेताहरुमा विवाद उत्पन्न हुन पुग्यो । त्यसैबीचमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा भएको एकीकरण प्रक्रियालाई नै सर्वोच्च अदालतले उल्ट्याइदियो । त्यसपछि पुरानै अवस्थामा पुगेका एमाले र माओवादी केन्द्र अहिले पानी बाराबारको अवस्थामा पुगेका छन् । त्यसैगरी एमालेमा समेत विभाजन आएको छ । एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र समेतको सहयोग र सहकार्यमा नेपाली कांग्रेसको नेतृत्वमा हालको सरकार बनेको अवस्था छ ।

यस्तो अवस्थामा सरकार संचालन भैरहेको अवस्थामा मुलुकमा नयाँ धु्रविकरण भएको छ । कांग्रेस वर्तमान सत्ता गठबन्धनलाई कायमै राखेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई धुलो चटाउने दाऊमा छ । यसैगरी सरकारले गरेका गल्ती कमजोरीलाई आधार बनाउँदै आफूलाई अब्बल देखाउने दाउमा एमाले रहेको छ । यसैगरी एमालेलाई उत्तानो चित बनाउन सकेको खण्डमा आफ्नो साख जोगिने ठानिरहेको अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादी रहेका छन् । त्यसैले पनि आगामी स्थानीय निर्वाचन सहितका निर्वाचनलाई सबैजसो दलहरुले चासोका साथ हेरेको पाइन्छ ।

निर्वाचनको मिति घोषणा भैसकेका कारण सरकार र निर्वाचन आयोग निर्वाचन कसरी सफल ढंगबाट गराउन सकिन्छ भनी लागिपरेको अवस्था छ । सरकार निर्वाचनको खर्च र सुरक्षा व्यवस्थापनमा केन्द्रित हुन थालेको छ भने निर्वाचन आयोग निर्वाचनका चरणवद्ध प्रक्रियामा क्रियाशील भैरहेको छ ।

यसैगरी दलहरु मतदातालाई के कसरी आफ्नो पक्षमा ल्याउन सकिएला भनी केन्द्रित हुन थालेका छन् । त्यसका लागि विभिन्न किसिमका राजनीतिक गतिविधिहरु गर्न थालिएको छ । स्थानीय तहमा केन्द्रित दल परित्याग, दल प्रवेश तथा संगठनविस्तारका कार्यहरुमा दलहरु केन्द्रित भैरहेका छन् । यसरी हुने राजनीतिक कार्यक्रमहरुमा उनीहरु एकअर्काको कमी कमजोरीलाई केलाउने नाममा हिलो छ्यापाछ्यापको अवस्थामा पुगेका छन् । पछिल्लो समय सबैजसो दलका नेताहरु एकअर्काप्रति निकै नै आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । उनीहरु आफूलाई राम्रो देखाउने नाममा अरुलाई खुइल्याउन केन्द्रित देखिएका छन् ।

यस पटकको निर्वाचनमा दलहरुले अन्य नारालाई भन्दा पनि अन्य दल सरकारमा रहँदा गरेका निर्णय तथा कार्यलाई आधार बनाएर नयाँ नाराहरु अघि सार्ने देखिएको छ । खासगरी अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर दलहरुले अरुलाई नराम्रो बनाउने प्रयास गर्ने देखिएको छ । यसैगरी एमाले इतरकाले एमालेका अध्यक्ष ओलीको तानाशाही शैलीको विरोध गर्ने तथा एमालेका ओलीले ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने ढुल्मुले शैलीलाई अघि सार्ने अवस्था देखिन्छ । ओलीले निर्वाचनमा अरु केही विषय नपाएर मतपत्रको ‘हरियो रङ’ लाई समेत विरोध गर्न थालेका छन् । २०७४ सालको संघको निर्वाचनमा प्रयोगमा आइसकेको यो रङको मतपत्र अहिले निर्वाचन आयोगले पुनः प्रयोग गर्ने भन्दा ओलीले यसले कांग्रेसलाई फाइदा पुग्ने भन्दै विरोध गर्न थालेका छन् । उता, कांग्रेसका नेताहरु भने ‘आगामी निर्वाचनमा कांग्रेसको जित निश्चित देखेर ओली तर्सेको, भोलिको हारको लागि यस्तै कुरालाई बहाना बनाउने चाल मात्र हो’ भन्न थालेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *