विद्युतीय मतदानको व्यवस्था गर

Nayabimarsha (Weekly Newspaper from Nepal)

आगामी बैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा प्रयोग भएका मतभेटिकालाई पुनः प्रयोग गरिने भएको छ । उक्त निर्वाचनका लागि ५५ देखि ६० हजार मतपेटिका आवश्यक पर्ने आयोगको अनुमान रहेको छ । त्यसैले पुरानै मतपेटिका प्रयोग गर्दा समस्या नआउने भएको तथा त्यति मौज्दात रहेकाले त्यसैको प्रयोग गर्ने पक्षमा आयोग पुगेको छ । यो निर्वाचनमा मतपत्र ठूलो भएको अवस्थामा केही मात्रामा ठूला आकारका मतपेटिका आवश्यक परे त्यसैबेला खरिद गर्ने पक्षमा आयोग पुगेको बताइएको छ । अहिले आयोगसँग रहेका मतपेटिकामा एक हजार मतपत्र छाप लगाएर खसाल्न सकिने भएकाले यसैको पुनः प्रयोगमा आयोगले जोड दिएको हो । २२ देखि २३ हजार मतदान केन्द्र रहने अनुमान गरिएको छ ।

आगामी निर्वाचनमा एक लाख हाराहारीमा स्वस्तिक छाप चाहिने आयोगको अनुमान छ । प्रत्येक मतदान केन्द्रमा चारदेखि पाँचवटाको दरले स्वस्तिक छाप पठाउनुपर्ने हुन्छ । त्यसैले स्वस्तिक छाप खरिदका लागि बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । यो पटक पनि अघिल्ला निर्वाचनमा झैं पनि भारतबाट ल्याउने तयारी आयोगले गरेको बताइएको छ । यसैगरी निर्वाचनमा प्रयोग हुने कागज खरिदको लागि पनि आयोगले प्रक्रिया अघि बढाएको छ । निर्वाचनका लागि करिब ६० प्रकारका निर्वाचन सामग्री चाहिने भएकाले तीमध्ये आयोगले १५ प्रकारका निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमार्फत खरिद गर्नका लागि अख्तियारी दिएको पनि आयोगले जानकारी दिएको छ ।

यसरी निर्वाचनको तयारीमा आयोग लागि रहेको अवस्थामा जनस्तरबाट भने विद्युतीय मतदानको माग बढेको छ । विश्वका अधिकांश मुलुकहरुले विद्युतीय मतदानलाई प्राथमिकतामा राखेको अवस्था छ । भारतजस्तो ठूलो देश तथा मतपत्र पनि लामो हुने देशमा समेत विद्युतीय मतदान प्रक्रिया चलिरहेको छ । त्यसैले नेपालजस्तो सानो मुलुकमा विद्युतीय मतदान उपयुक्त हुने देखिन्छ । नेपालमा पनि विद्युतीय मतदानको व्यवस्था भएका खण्डमा त्यसले मुलुकको आर्थिक व्यवस्था मात्र होइन कि समयको समेत बचत गराउने हुन्छ । कागजी मतदान प्रक्रियाभन्दा विद्युतीय मतदान प्रक्रिया सस्तो तथा सहज हुने गर्दछ । यसरी मतदान गराउने हो भने बदर मत समेत नहुने अवस्था आउँछ । यसैगरी कागजी मतपत्रको गणना प्रक्रिया एकदमै झन्झटिलो तथा महंगो हुने गर्दछ । यसैगरी मतगणनाका लागि धेरै दिन लाग्ने तथा कर्मचारी तथा अन्य व्यक्तिको समेत समय बढी खर्च हुने अवस्था आउँछ । यस्तो स्थितिमा नेपालीजनको चाहना बुझी विद्युतीय मतदान प्रक्रियालाई नेपाल सरकारले थालनी गरे राम्रो हुन्छ । सबै जिल्लामा यो संभव नभए केही प्रदेश वा केही जिल्लामा भए पनि प्रयोगमा ल्याउन सके आगामी अन्य दिनका निर्वाचनमा समेत विद्युतीय मतदानले निरन्तरता पाउने अवस्था आउने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *