काठमाडौं/ नेपाली काँग्रेसको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने कुराको टुंगो लाग्न सकेको छैन । गत २०८१ चैत मसान्तसम्म कृयाशील सदस्यता वितरण र नवीकरणमा देखिएको उदासिनताले १५ दिन म्याद थपी २०८२ वैशाख १५ गतेसम्म पु¥याइएको छ । यो अवधिमा कृयाशील सदस्यता वितरण र नवीकरणमा पनि आउनु पर्ने उत्साह आएको छैन ।
खासगरी काँग्रेसभित्र संगठनलाई भन्दा सत्तास्वार्थलाई महत्व दिने प्रवृत्तिले सदस्यता लिने र नवीकरण गर्नेहरुले तत्परता नदेखाएको काँग्रेसका जानकारहरुले बताएका छन् । यतिबेला काँग्रेसमा पिँध नतात्दै बिंड तात्न थालेको छ । आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै नेता पुत्रहरु बी.पी.पुत्र डा. शशांक कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधि र नेताहरु गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र काँग्रेस प्रवक्ताले चियापान, लञ्च मिटिङ्ग तथा भेटघाटलाई तीब्र पारेका छ ।
पूर्वमहामन्त्री समेत रहेका डा. शशांक कोइरालाले नयाँ वर्ष र लोकतन्त्र दिवसको अवसर पारेर गत वैशाख ११ गते महाराजगञ्जस्थित निवासमा चियापान आयोजना गरेका थिए । नेता पुत्रहरु मध्येबाट एकजना सभापतिमा उठ्ने प्रयत्न १४औं महाधिवेशनमा भए पनि सफल हुन नसकेपछि अन्तिममा संस्थापन पक्षतिरै हाम फालेका थिए । सायद नेतापत्रुहरुले साथ नदिएको भए १४औं महाधिवेशनको परिणाम फरक आउन सक्दथ्यो ।
अहिले फेरी उही रुपमा नेता पुत्रहरु डा. शशांक कोइरालालाई सभापति बनाउन एकजुट भएका छ । परिस्थिति र जनमत आफ्नो अनुकूल नभएपछि सिंह र निधि त्वं शरणम् गर्न बाध्य भएको काँग्रेस वृत्तमा चर्चा चलेको छ । यता, नेता पुत्रहरु बाहेक गठजोडमा मिसिएका नेताहरु श्रेष्ठ, गच्छदार, सिटौला पार्टीमा पुराना र पाका नेता भए पनि जनाधार नभएका नेता भित्र पर्ने बताइएको छ ।
डा. शशांकले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका रुपमा देश दौडाहामा लागेका वरिष्ठ नेता डा. शेखर कोइराला र गिरिजापुत्री एवं काँग्रेस नेतृ सुजाता कोइारला लगायत अन्य नेताहरुलाई आमन्त्रण नगरिएको श्रोतले जानकारी दिएको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाको आशिर्वादबाट १५औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा डा. कोइराला र सिटौला रहेका छन् ।
यी दुई नेताहरु सिंह, निधि, श्रेष्ठ र गच्छदारभन्दा बलिया मानिन्छन् । सभापति देउवाले अन्य नेताहरुलाई भन्दा डा. शशांकलाई गर्दा आफू अनुकूलको टीम बनाउन सजिलो हुने भएकाले आफू अनुकूलको व्यक्तिलाई सभापति बनाउन चाहेको काँग्रेस श्रोतले बताएको छ । उता, सभापति पदका आकांक्षी डा. शेखर कोइराला र गगन थापाबीच एकता नभए बी.पी. पुत्रको नाताले डा. शशांकलाई चिठ्ठा पर्न सक्ने संभावना रहेको छ ।
कोइराला परिवारका नेताहरुमा संगठन र कार्यकर्ताबीच डा. शशांकभन्दा डा. शेखर लोकप्रिय देखिएका छन् । गठजोड गरेका ७ जना नेताहरु मध्ये जो सभापति बने पनि पार्टीलाई एकताबद्ध गरेर संगठनलाई धार लगाउन सक्ने लोकतन्त्रप्रति प्रतिबद्ध नेता आउनुपर्ने काँग्रेसप्रेमीहरुको बुझाई रहेको छ ।
काँग्रेसमा सात भाइको गठजोडले शेखरलाई धक्का
Facebook Comments Box
