पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारत सरकारले मिसाइल हमला गरेपछि यो मामलाले विश्वव्यापी चिन्ता थपेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस यो मामिलाबाट चिन्तित बनेको बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् । भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ भनी उनको प्रतिक्रिया आएको छ । यसअघि, ५ मेमा उनले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए । यसैगरी २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको उनले कडा निन्दा पनि गरेका थिए ।
मंगलबारदेखि यी दुवै देशमा युद्ध प्रारम्भ भएको देखिन्छ । दुवै देशले एक अर्काका विरुद्ध हमला थालेका छन् । यसैबीचमा दुवै देशले अर्को देशमा आफ्नो पक्षबाट ठूलो धनजनको क्षति गराएको भनी समाचार सम्प्रेषित गर्ने कार्य भैरहको छ । आफ्नो तर्फको क्षतिलाई कम देखाएर अर्को पक्षको क्षतिलाई बढी देखाउँदा आफ्नो जित भएको महसुस दुवै पक्षले गर्दै आएका छन् । भारत र पाकिस्तानका बीचमा दोहोरो रुपमा युद्धको थालनी भैरहेको यो बेला महासचिव गुटेरेसको यस्तो प्रतिक्रिया आएको हो । यो प्रतिक्रियालाई राष्ट्र संघको धारणाका रुपमा पनि लिन सकिन्छ । यसरी हेर्दा राष्ट्र संघ भारत र पाकिस्तानको बीचमा उत्पन्न हुन सक्ने कुनै पनि खालको शैन्य अभ्यास तथा युद्धको विपक्षमा रहेको देखिन्छ । यसका लागि राष्ट्र संघले दुवै देशको गतिविधिलाई नियाली रहेको भन्ने कुरा पनि आएको छ ।
भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश भएका कारण पनि यो मामला युद्धको हिसाबमा बढ्यो भने त्यसले दुवै देशलाई हानी पु¥याउने निश्चित छ । झट्ट हेर्दा दुई देशका बीचमा जित हारको अवस्था देखिए पनि यसको असर भने विश्वव्यापी रुपमा पर्ने देखिन्छ । युद्धका कारण अनाहकमा मानिसहरुले ज्यान गुमाउनुपर्ने तथा अन्य खाले धनजनको क्षति पनि हुने अवस्था हुन्छ । त्यसैगरी वातावरणीय हिसाबले हेर्ने हो भने कुनै पनि किसिमका हमलाले वातावरणीय रुपमा विश्वभरी नै क्षति पु¥याउने काम गर्दछ । त्यसैले यो मामलालाई भारत र पाकिस्तानको मामला हो भनी हेर्नु नहुने अवस्था छ । यी दुई देशका बीचमा युद्ध भएमा त्यसको असर प्रत्यक्ष रुपमा एशिया तथा अप्रत्यक्ष रुपमा विश्वव्यापी रुपमा पर्ने हुन्छ । त्यसैले यी दुई देशबीचमा मामलालाई आफ्नो अनुकुल वा प्रतिकुलको भनी कुनै पनि देशले पक्ष वा विपक्षमा आफ्नो मत जाहेर गर्नु उचित हुँदैन । सबैले युद्धको विपक्षमा आफूलाई उभ्याउनु पर्दछ । यसका लागि पृथ्वी सबैको साझा हो भन्ने मान्यता राख्नुपर्दछ । सबै देशहरु तथा खासगरी राष्ट्र संघ र अरु शक्तिसम्पन्न राष्ट्रहरुले कुनै पनि किसिमको शैन्य गतिविधिलाई रोक्न प्रेरित गर्नु पर्दछ । कोही पाकिस्तान वा कोही भारतको पक्षमा उभिने भन्दा पनि युद्धको विपक्षमा आफूलाई देखाउनु पर्ने हुन्छ । केही देशहरुले युद्धको चाहना राखेका पनि देखिन्छ । यसरी युद्धलाई बढावा दिनेहरुको भित्री इच्छा हतियारको व्यापार पनि हुन सक्छ । त्यसैले भारत र पाकिस्तानले पनि यो कुरा बुझी आपसमा शान्तिवार्ता गरी समाधान निकाल्नु उचित देखिन्छ । युद्धको विकल्प भनेकै शान्ति हो । शान्तिको स्थापनार्थ सबैले प्रयास गरी भारत र पाकिस्तानलाई युद्धमा जानबाट रोक्नु उचित देखिन्छ ।
भारत–पाकिस्तान: युद्ध होइन शान्ति
Facebook Comments Box
