भक्तपुर/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) मा पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रभाव बढाउन थाल्नु भएको छ । नेकपा (एमाले) मै आफ्नो सम्पूर्णजीवन समर्पण भएको भन्दै फेरि सक्रियता बढाउन लागिपर्नु भएकी भण्डारीलाई रोक्ने प्रयास भैरहेको छ । भण्डारीले आफूले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सबैखाले सुविधाहरु त्यागेर एमालेको राजनीतिमा सक्रिय हुन चाहेको स्थिति छ । यस्तो अवस्थामा उहाँले आफूलाई एमालेको अध्यक्ष बनाउन चाहनु भएको छ । दुईदुई पल्ट राष्ट्रपति भैसक्नु भएकी भण्डारीले आफ्नो मर्यादा र दायित्वलाई विर्सिएर दलगत राजनीतिमा फर्कनु खोज्नुलाई भने एमालेको वर्तमान नेतृत्वले सकारात्मक रुपमा लिन सकेको छैन । सोही कारण भण्डारीको नवीकरणलाई पनि मान्यता नदिने निर्णय गरेको छ । भण्डारीलाई रोक्नका लागि नै एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले ७० वर्षे उमेरहद लागू नहुने गरी संशोधन गर्न लगाएका छन् । तेस्रो कार्यकालको अध्यक्षमा समेत आपैmं नै विराजमान हुने तयारीमा ओली लागेका छन् ।
एमालेले आफ्नो पुनरागमनलाई सहज रुपमा लिने अपेक्षा भण्डारीको थियो । परिस्थिति त्यस्तो बनेन । ७० वर्षे उमेरहदलाई आधार बनाएर ओली विदा हुने र सो स्थानमा आफूलाई सबैले सहज रुपमा स्थापित गर्ने अनुमान भण्डारीको रहेको स्रोतले दाबी गरेको छ । ओलीले पद छोड्नु त के भण्डारीको सदस्यता नवीकरणलाई नै मान्यता नदिने अवस्था बनाई दिए ।
यसरी ओलीले मात्र होइन कि एमाले संस्थागत निर्णय नै गरेर एमालेमा फर्कने ढोका बन्द गरिदिए पनि भण्डारी झनै सक्रिय रुपमा उक्त अभियानमा लाग्नु भएको छ । एमालेको उक्त निर्णयलाई चुनौती दिंदै भण्डारीले आफ्नो सक्रियता झनै बढाउँदै लग्नु भएको छ । एमाले भित्र करिब करिब आफ्नो प्रतिस्पर्धी कोही पनि नराखेको अवस्थामा पुग्नु भएका ओलीका लागि भण्डारी चुनौतीको पहाड बनी आउनु भएको छ ।
एमाले भित्र आफ्ना समर्थकहरु मात्र रहेको भन्ने भ्रममा रहनु भएका ओलीलाई अहिले वडास्तरबाटै भण्डारीले चुनौती दिन थाल्नु भएको छ । हरेक भातृसंस्थाको निर्वाचन नगराई टीका लगाउने सोचमा रहनु भएका ओलीलाई सबैजसो भातृसंस्थामा निर्वाचन गराउन भण्डारी पक्षले बाध्य बनाई दिएको छ । यसैगरी माहोल बढ्दै जाने हो भने आगामी महाधिवेशनमा भण्डारी पहाडको रुपमा आउन सक्ने अवस्थाको आँकलन ओलीले गर्नु भयो । सोही कारण ओलीले भण्डारीलाई एमालेको विधानका अतिरिक्त पूर्वराष्ट्रपतिको कुरालाई आधार देखाउँदै थन्क्याउने नीति लिनु भएको हो ।
ओलीले विधिवत रुपमा रोक्ने कार्य गरे पनि भण्डारीले चूप नबस्ने प्रण गरेको बताइएको छ । यसैको उदाहरण स्वरुप भण्डारीले ३० वर्षअघि चुनावी प्रचारका लागि लिएको विदुर मैनालीको घर फेरि लिएर आफ्नो सम्पर्क कार्यालय बनाएको अवस्था छ । यसैगरी हिजोका दिनमा ओलीले मदन भण्डारी फाउण्डेसनलाई प्रयोग गरी आफ्ना गतिविधिहरु गर्ने गरेको पदचापलाई भण्डारीले पनि पछ्याएको देखिन्छ । भण्डारी अहिले फाउण्डेसनका गतिविधिमा सक्रिय रहेको अवस्था छ ।
ओलीले भण्डारीलाई रोकिरहेको अवस्थामा एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टीहरु सके एकता नसके सहकार्यका लागि दौडधूपमा लागेका छन् । एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) एकीकरण गर्ने पक्षमा देखिएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकीकरणका लागि दैनिकजसो छलफलमा रहेका बताइएको छ ।
यसैगरी उनीहरुले नेत्रबहादुर चन्द विप्लवलाई समेत साथमा लिएर एकीकरणलाई बढाउने नीति लिएको बताइएको छ । यिनीहरुसँग एमाले बाहेकका अन्य कम्युनिष्ट नामधारी दलहरु पनि समाहित हुने संभावना रहेको छ । एकीकृत समाजवादी र माओवादी केन्द्र एकीकृत भएका खण्डमा संसदमा आफूहरुको सिट संख्या पनि सम्मानजनक बन्नेमा दुवै दलका अध्यक्षहरु पुगेको बताइएको छ ।
अध्यक्षहरु त्यसरी लागि परे पनि कार्यकर्ताहरुमा भने खासै उत्साह नदेखिएको बताइन्छ । खासगरी एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रसँग मिलेर जानु भन्दा एमालेमै फर्किनु उचित हुने भन्ने कुरातर्फ आकर्षित भैरहेका बताइएको छ ।
प्रभाव बढाउँदै भण्डारी : ओलीमाथि दबाब ,कम्युनिष्टहरुको अर्को कित्ता
Facebook Comments Box
