मुख्यसचिव शक्तिशाली सांसदहरु निरीह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ कुलिङ्ग अफ पिरियडमा (विश्राम अवधि) भएको छलछामविरुद्ध छानविन गर्न बनेको सात सदस्यीय छानविन समितिले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ । प्रतिवेदनमा राज्यव्यवस्था तथा शुशासन समितिका सभापति नेपाली काँग्रेस सांसद रामहरि खतिवडा र समितिका सचिव सरोजकुमार दुरालाई मुख्य दोषी ठहर गरिएपछि सभापति खतिवडाले श्रावण २७ गतेको प्रतिनिधि सभा बैठकमा राजीनामा दिन बाध्य भएका छन् ।
राजीनामा दिने कि नदिने भन्ने अन्यौलका बीच खतिवडाले राजीनामा दिएका छन् । सचिव दुरालाई के कस्तो कारवाही हुन्छ भन्ने यकिन भएको छैन । काँग्रेसका साँसद जीवन परियार संयोजकत्वको छानविन समितिले कुलिङ्ग अफ पिरियडलाई प्रभावित गर्न नेताहरुको घर दैलोमा जुलुश निकाल्ने टोलीका नाइके मुख्यसचिव एकनारायण अर्याल र सहनायक संसदका महासचिव पदमप्रसाद पाण्डे तथा जुलुशमा सहभागी सचिवहरुलाई कारबाही गर्ने हिम्मत छानविन समितिले नगरी पदीय आचरण अनुसार काम नगरेको भन्दै सुनपानी छर्केर चोख्याएको छ ।
अबको १०० दिनपछि अर्थात मंसिर १० गते अनिवार्य अवकाशमा जाने मु.सं. अर्याल कुलियङ अफ पिरियड लागू भएको भए २ वर्षसम्म अवकाशपछि महत्वपूर्ण पदमा नियुक्ति हुन पाउने थिएनन् । यस्तो अवस्थामा समितिमा रहेका संयोजक र सदस्यहरुले मुख्यसचिवविरुद्ध जाने हिम्मत नगरेपछि मुख्य सचिवका अगाडि सांसदहरु निरिह बन्न पुगेको चर्चा चलेको छ । आडामी भदौको तेश्रो साताबाट अन्त्य गर्न लागिएको संसदको बजेट अर्थात वर्खे अधिवेशनमा निजामती विधेयक पारित नहुने भएपछि मुख्यसचिव अर्याललाई अख्तियार प्रमुख वा प्रमुख निर्वाचन आयुक्तमध्ये एक बन्ने बाटो खुलेको चर्चा चलेको छ ।
सुधारवादी प्रशासकको छवि बनाएका मुख्यसचिव अर्याल प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । शुरुमा कुलिङ अफ पिरियडका विरुद्धमा रहेका प्रधानमन्त्री ओलीलाई प्रकृया लम्बिएपछि राहत मिलेको छ । कुलिङ अफ पिरियडका विरुद्ध लडिरहन्छु भनेर सो सदनहरुलाई चुनौति दिने मुख्यसचिव अर्याललाई के खोज्छस् कानो आँखो भने झै भएको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *