देउवा राजनीतिक विश्राममै रहलान् ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको राजनीतिक यात्रालाई लिएर अहिले विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ । कांग्रेसको सभापति रहेका देउवाले कार्यवाहक सभापतिको जिम्मेदारी पूर्णबहादुर खड्कालाई दिएर आफू भने स्वास्थ्य उपचारको लागि निस्कनु भएको छ । अबका दिन देउवा फेरि राजनीतिमा सक्रियता होला वा नहोला भन्ने कुरा अहिले बहसको रुपमा आउन थालेको छ ।
त्यसो त यो बहसमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली समेत जोडिनु भएको छ । बाहिर देउवाले अब राजनीतिक रुपमा विश्राम लिएको चर्चा चलिरहँदा ओलीले भने फरक धारणा राख्नु भएको छ । ओलीका अनुसार देउवाले आफ्नो उपचारका लागि मात्र कार्यवाहकको जिम्मेदारी दिनु भएको हो ।
पत्नी डा. आरजु राणा सहित देउवा सिंगापुरमा हुनुहुन्छ । कार्तिक १० गते सिंगापुर प्रस्थान गर्नु भएको हो । गत भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनको निशानामा पर्नु भएका देउवा दम्पत्तिलाई आन्दोलनकारीले भौतिक आक्रमण गरी बुढानीलकण्ठमा रहेको घर समेत ध्वस्त बनाइदिएका थिए ।
काँग्रेस राजनीतिमा २ पटक सभापति र ५ पटक प्रधानमन्त्री बन्नु भएका देउवा २००३ साल जेष्ठ ३१ गते डडेलधुरा जिल्लाको रुवाखोलामा जन्मनु भएको हो । २०२० सालदेखि अर्थात १७ वर्षको उमेरमा राजनीतिमा लाग्नु भएका देउवाले सुदूरपश्चिम विद्यार्थी समाजबाट यात्रा शुरु गर्नु भएको बताइएको छ । स्व.बी.पी. कोइरालाले पत्याएका देउवा २०२८ सालमा नेपाल विद्यार्थी संघको दुईपटक सभापति बनेर काँग्रेसको राजनीतिलाई सूदुरपश्चिममा स्थापित गराउन लाग्नु भएको हो ।
देउवा पहिलो पटक २०४८ सालमा सांसद र गृहमन्त्री बन्न सफल हुनु भएको थियो । २०५१ सालमा संसदीय दलको नेता बनेर गिरिजाप्रसाद कोइरालालाई टक्कर दिन सफल देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री र २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री बन्न सफल हुनु भएको थियो । २०५२ सालमा नेकपा (माओवादी) ले आतंक सृजना गरेपछि मुलुक हत्या हिंसाको चपेटामा पर्न लागेकै समयमा गिरिजाप्रसाद कोइरालासँगको टकरावले २०५९ सालमा देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्नु भएको थियो ।
त्यसैगरी २०६१ सालमा तेस्रो पटक प्रधानमन्त्री बन्नु भएका देउवा २०६३ सालमा तात्कालिन राजा ज्ञानेन्द्र शाहबाट बर्खास्तीमा पर्नु भएपछि कारागारमा राखिनु भएको थियो । २०७२ सालमा काँग्रेससँग एकता गरेपछि वरिष्ठ नेता बन्नु भएका देउवा २०७४ सालमा काँग्रेसको सभापति र २०७८ सालमा चौथो पटक प्रधानमन्त्री बन्नु भएको थियो ।
यसैगरी २०७८ सालमै पाँचौ पटक प्रधानमन्त्री बनी २०७८ साल मंसिरमा दोश्रो पटक काँग्रेस सभापति बन्न सफल देउवा डडेलधुराबाट २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ गरी सात पटक सांसदमा निर्वाचित हुने राजनीतिज्ञ पनि हुनुहुन्छ । राजनीतिक बोलीको पक्का मानिने देउवालाई पछिल्लो समय श्रीमती आरजु राणाको कार्यशैली र स्वयं देउवाकै छैठौं पटक प्रधानमन्त्री बन्ने स्वार्थले २०८२ असोजमा कार्यवाहक सभापतिको जिममेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर विश्राम गर्नुपर्ने अवस्था आएको बताइएको छ ।
उता, प्रतिनिधिसभाको विघटनसम्बन्धी विषय अहिले अदालतमा विचाराधीन अवस्थामा रहेको छ । केही गरी प्रतिनिधिसभा पुनस्र्थापना भएमा देउवा कांग्रेसको सभापति तथा सांसदको हैसियतमा फेरि सक्रिय हुनुपर्ने अवस्था आउने पनि बताइन्छ । त्यसरी प्रतिनिधिसभा पुनस्र्थापना नै भएमा त उस्तै पर्दा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा देउवा प्रधानमन्त्री बन्ने संभावना कायमै रहेको पनि बताइने गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *