वाम एकतासँगै फुट पनि: एमाले एक्लियो, अन्यसँग वार्ता हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका १० वटा कम्युनिस्ट घटकहरुबीच एकता गरी कार्तिक १९ गतेलाई ऐतिहासिक गराउने कार्य भएको छ । कम्युनिष्ट नाममा नेपालमा च्याऊ उम्रिए जसरी उम्रिएका दलहरुमध्ये केहीलाई समेटी नयाँ दल गठन गर्ने कार्य भएकाले त्यसलाई ऐतिहासिक भन्ने गरिएको हो । खासगरी नेपालमा कम्युनिष्ट पार्टीहरुका नाममा एकतावद्ध हुने भन्दा पनि विभाजन हुने कार्य हुँदै आएका थिए । कम्युनिष्ट नाम राख्दै साना पसल झैं खोल्ने कार्य जारी राख्नेमा कम्युनिष्ट नेता भन्न रुचाउनेहरु नै रहेको अवस्था छ । त्यस्तो अवस्थाका बीचमा पनि बुधवार १० कम्युनिष्ट घटकहरु एक ठाउँमा आई नेपाली कम्युनिस्ट पार्टी बनाउने घोषणा गरिएकोलाई नेपालमा कम्युनिष्टहरुका बीचमा एकता देख्न चाहनेहरुले सकारात्मक रुपमा लिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सम्मेलनले नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजकमा माधवकुमार नेपाललाई अनुमोदन गरेको छ । त्यसैगरी अरु घटकहरुका नेताहरुलाई पनि विस्तारै मिलाउँदै जाने सहमति भएको बताइएको छ । एकता सम्मेलन सभामा शुरुमा आठवटा दलहरुका बीचमा एकता गरिने भनिए पनि अन्तिम समयमा आएर १० वटा पुग्दा संयोजक दाहाल दंग देखिनु भएको थियो । त्यसैगरी उपसंयोजक नेपालसँग विमति जनाउँदै एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने भन्ने पक्षमा रहनु भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि एकता सम्मेलनमा टुप्लुक्क आइपुग्नु भएको थियो । त्यसअघि नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग भेटवार्ता गर्नु भएका खनाल एमालेमै फर्किने चर्चा चलिरहेको थियो । त्यसलाई चिर्दै खनाल पनि सोही स्थलमा आई पुग्दा सहभागीहरुले गड्गडाहत तालीले स्वागत गरेका थिए । त्यसैले पनि दाहाल र नेता नेपालले उक्त दिनलाई कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक बनेको दाबी गर्नुभयो ।
त्यसो त नेपालमा विभिन्न दलहरुका बीचमा एकीकरण तथा फुटको श्रृंखला कायमै छन् । पछिल्लो समयमा १० घटकहरु एक ठाउँमा आएता पनि तिनै दलहरुका बीचमा समेत मेल हुन नसकेको स्थिति छ । माओवादी केन्द्रमै पनि तिक्तता रहन पुग्यो । माओवादी केन्द्रका नेता जनार्दन शर्मा, रामकुमार कार्की लगायतका केही नेताहरुले एकता प्रक्रियालाई आत्मसात गर्न सक्नु भएको छैन । उहाँहरुले छुट्टै समूह बनाएर माओवादलाई कायम राख्ने सोच बनाउनु भएको बताइन्छ ।
यसैगरी एकता प्रक्रियालाई एकीकृत समाजवादीले बहुमतले पारित गरे पनि त्यसबाट तीनवटा धारका विभाजन रेखाहरु कोरिन पुगेका छन् । रामकुमारी झाँकी, कृष्ण (किसान) श्रेष्ठ लगायतका केही नेताहरु एमालेमै फर्किने निर्णयमा पुग्नु भएको छ । यसैगरी घनश्याम भुसाल, जीवनलाल श्रेष्ठ लगायतका केही नेताहरु पार्टीलाई पुनर्गठन गर्ने पक्षमा देखिनु भएको छ । यसको नेतृत्व झलनाथ खनालले गर्ने तयारी गरिए पनि खनाल भने अन्तिम समयमा एकता प्रकृयामै सामेल हुन पुग्नु भयो । यसैगरी बहुसंख्यक नेताहरुले एकता प्रक्रियालाई स्वागत गर्नु भएको छ ।
उता, कम्युनिष्ट नामधारी घटकहरुका बीचमा एकता भनिए पनि कम्युनिष्ट नामधारी मुख्य दल नेकपा (एमाले) भने यो एकता प्रक्रियामा आउन चाहेन । पछिल्लो निर्वाचन परिणामको आँकडा हेर्दा दोस्रो ठूलो दल त्यसमाथि पनि कम्युनिष्ट नामधारी सबैभन्दा ठूलो दल एमालेले भने यो एकता प्रक्रियामा रुचि नदेखाएको अवस्थामा हाल गठित दलको भविष्य कस्तो रहला भनी राजनीतिक वृत्तहरुमा चर्चा चल्न थालेको छ ।
राजनीतिक विश्लेषक रामेश्वर ढकाल भने कम्युनिष्ट नामधारीहरुका बीचमा एकता गरिए पनि एमाले सो प्रक्रियामा नआउँदा कम्युनिष्टहरुका बीचमा एकता भएको भन्ने रुपमा बुझ्न नहुने बताउनु हुन्छ । उहाँका अनुसार कम्युनिष्ट घटकहरुमध्ये सबैभन्दा ठूलो मानिने एमालेलगायतका अन्य दलहरु पनि एकता बाहिर नै रहेको अवस्था छ । ‘त्यसैले फुटभन्दा पनि एकता हुनुले पहिलेका माओवादी केन्द्र, एकीकृत समाजवादीलाई आसन्न निर्वाचनमा आफ्नो उपस्थिति राम्रो बनाउन अवसर भने दिने अवस्था देखिएको छ’ भन्दै ढकाल भन्नु हुन्छ, ‘यो एकतालाई जिवित राख्न सक्नु उहाँहरुका लागि चुनौती पनि हो । एकातिर एकता प्रक्रियामा आएका सबै दलहरुमै विमति देखिनु, एमाले ढोक्सो थापेर बस्नु आदिका कारण एकता कत्तिको दह्रो रुपमा अघि बढ्ला भनी अहिले नै भन्न सकिने अवस्था भने छैन ।’
अहिले एकता भएका भन्दा पनि बढी संख्यामा कम्युनिष्ट घटकहरु एकताभन्दा बाहिर छन् । उनीहरुले साना साना पसल खोलेर राखेको भनी भन्ने गरिन्छ । खासगरी नेपाल मजदुर किसान पार्टी, नेकपा (माले), विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको माओवादी लगायतका दलहरु आफ्नै पारामा रहेका छन् ।
यसरी एकताभन्दा बाहिर रहेका अन्य कम्युनिष्ट घटकहरुलाई समेत समेट्दै जाने नीति एकता सम्मेलनमा व्यक्त गरिएको थियो । त्यसरी समेट्दै जाने प्रक्रिया वास्तवमै सही रुपमा अघि बढ्न सकेका खण्डमा भने कम्युनिष्ट घटक वा समूहहरुका बीचमा एकता हुँदै बलियो कम्युनिष्ट पार्टी स्थापना हुन सक्ने चर्चा पनि छ । यसका लागि नेताहरुमा आफ्नो स्वार्थलाई मात्र भन्दा पनि विचारलाई प्रधानता दिन सक्ने क्षमताको विकास हुनुपर्ने बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *