कांग्रेसमा महाधिवेशनले समस्या

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ पछिल्लो निर्वाचन परिणामबाट सबैभन्दा ठूलो दलको रुपमा स्थापित नेपाली कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने कुराले विवाद बढाउँदै लगेको छ । कांग्रेसका नेताहरुमा महाधिवेशनको मिति कहिले कायम गर्ने भन्ने कुराले विवाद बढाउँदै लगेको हो । आगामी मंसिरमा हालको केन्द्रीय समितिको कार्यकाल सकिने भएकाले महाधिवेशन गरी हाल्नुपर्ने, एक वर्ष थप्न मिल्ने, केही समय पछि गर्दा पनि हुने, विशेष महाधिवेशन गरिनुपर्ने जस्ता कुरा नेताहरुले आफ्नै ढंगले उठाई रहेका छन् ।
हालको नेतृत्व अर्थात सभापति शेरबहादुर देउवा एक वर्ष थपेर प्रतिनिधिसभा विघटन हुनुपूर्व आफू प्रधानमन्त्री बन्ने पक्षमा हुनुहुन्थ्यो । उहाँको चाहना २०८४ सालमा हुने आवधिक निर्वाचनसम्म कुनै न कुनै रुपमा महाधिवेशनलाई धकेलेर आफ्ने हातबाट २०८४ सालको निर्वाचनका लागि उम्मेदवारहरु छनौट गर्ने थियो । गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनले मुलुकको राजनीतिक अवस्था नै परिवर्तन हुन पुग्यो ।
गत भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा वर्तमान निर्दलीय सरकार बन्न पुग्यो । जेनजीको आन्दोलनका क्रममा देउवामाथि सांघातिक आक्रमण समेत भयो । त्यस्तो अवस्थामा देउवाले चाहे अनुसारको अनुकुल समय बन्न पाएन । त्यसैले ३४ दिनपछि उहाँले कांग्रेसको केन्द्रीय समितिको बैठक डाकी सोही बैठकबाट कार्यवाहक सभापतिको जिम्मेदारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर आफू भने उपचारका लागि सिंगापुर जानु भएको छ ।
देउवाले सोचे अनुसारका अवस्था नरहेको स्थितिमा महाधिवेशनको विषय अहिले कांग्रेसमा उठेको छ । मंसिरमा कार्यकाल सकिने भएकाले आगामी पुसमा नियमित महाधिवेशन गर्नुपर्ने माग गर्नेहरुको संख्या कांग्रेसमा ठूलै छ । यो मागलाई कार्यवाहक सभापति खड्काले स्वीकार्नु भएको छैन । यसैगरी नियमित महाधिवेशन गर्न नचाहने हो भने विशेष महाधिवेशन गरिनुपर्ने भनी ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर बुझाउनु भएको छ । त्यसैले विशेष महाधिवेशन गरिनुपर्ने माग गर्नेहरुले पनि समूह बनाएर दबाब दिंदै आउनु भएको छ ।
उता, हिजो विहीबार भने अलि पृथक अवस्था देखियो । विशेष महाधिवेशन वा महाधिवेशन भनी गुटगत रुपमा दबाब कार्यक्रम गर्दै आएका भन्दा फरक ढंगले दुवै समूहका नेताहरुलाई समेटेर काठमाडौंको अनुपम फुडल्याण्डमा कार्यक्रम गरियो । कांग्रेसका नेता एवम् नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा हिजो भएको कार्यक्रममा भने नियमित महाधिवेशन गरी निकास निकाल्नुपर्ने धारणा राखिएका थिए ।
त्यसो त हालको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने भनेको छ । यसैगरी उक्त निर्वाचनको मितिलाई आधार देखाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्का नियमित महाधिवेशन आगामी बैशाखमा गर्नुपर्ने तथा त्यसअघि विशेष महाधिवेशन गर्नु नपर्ने पक्षमा रहेको बताइएको छ ।
उता, घोषित मितिमा निर्वाचन हुने नहुने भन्ने कुरा प्रतिनिधिसभाको विघटनसम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशन गराइनुपर्ने पक्षमा नेताहरु देखिएका छन् । यो पक्षकाहरुले भने निर्वाचन भए पनि नभए पनि महाधिवेशन गर्न सकिने भएकाले पुसमा महाधिवेशन गरी आगामी निर्वाचनको तयारीमा नयाँ अनुहार सहित जानुपर्ने भन्ने कुरालाई उठाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *