गालामा एउटा धमिलो दाग छ । निक्खर कालो लेन्सले उनको दाहिने आँखा छोपेको छ । केही वर्षअघि उनलाई एउटा सनकी उग्रवादीले १५ पटक छुरा प्रहार गरेको थियो । उनी हुन् विख्यात लेखक सलमान रुस्दी । ज्यानै जानसक्ने गरी भएको हमलापश्चात् आफ्नो आँखामा परेको चोट छोपेर सार्वजनिक अवस्थामा देखिने ७८ वर्षीय रुस्दी सबैलाई छक्क पार्नेगरी प्रफुल्ल देखिन्छन् ।
पैगम्बरको अपमान गरेर उपन्यास लेखेको भन्दै एउटा रुखो आयतोल्लाहले उनको हत्या गर्न मुसलमानहरूलाई आह्वान ग¥यो । सलमान रुस्दीले यही घोषणा वा ‘फतवा’ का कारण करिब आधा जिन्दगी मृत्युदण्डको सजाय भोग्दै बिताउनु प¥यो । सन् २०२२ मा भएको हत्या प्रयासमा उनी मारिनबाट बल्लतल्ल जोगिन सफल भए । यसरी बाँचेपछि लेखेको कथासंग्रह लिएर अहिले फेरि उनै रुस्दी पाठकहरू माझ आएका छन् ।
‘द एलेभेन्थ आवर’ नामक कथासंग्रह अहिले बजारमा सर्वत्र पाइन्छ ।
अयोतल्लाहले उनीमाथि फतवा जारी गरेपछि त्यसको चर्चा धेरै हुन थाल्यो, तर उनलाई मानिसले आफ्नो रोचक लेखाइको भन्दा फतवाको बढी चर्चा गरेको मन पर्दैन । अक्सर साहित्यिक महोत्सवहरू आयोजना हुने गरेको क्लिवेदेनस्थित ग्रामीण शैलीको बेलायती भवनमा अंगरक्षकहरूले घेरिएर कुनै कार्यक्रममा बोल्दै रुस्दी भन्छन्, ‘मेरो किताबमाथिको आक्रमण ठट्टा होइन । त्यसैकारण मानिसहरूले मेरो पुस्तकलाई पनि ठट्टा होइन भन्ने ठान्छन् । त्यसैले त उनीहरू मेरो पुस्तकमा हास्य चरित्र छ भन्ने पनि कल्पनै गर्दैनन् ।’
त्यसो हुनु राम्रो होइन । हास्य तथा ठट्टाको ठूलो महत्त्व हुन्छ । यसले खुशीमात्र ल्याउँदैन, उत्पीडनसँग लड्न पनि सघाउँछ । उनी भन्छन्, ‘संकीर्ण सोच भएका मानिसमा हँसी–मजाकको अभाव हुन्छ भन्ने मानिन्छ । हेर्नुस् त तानाशाहहरू हँसी–माजक नै गर्दैनन् । खासमा हास्यले नै मानिसलाई अरू कुनै पनि कुराको तुलनामा बढी रिस उठाउँछ । आजको अमेरिकामा हास्य कलाकारहरूप्रति शासक र उनीहरू नजिकका मानिसको व्यवहार हेर्दा पनि हामी यो कुरा बुझ्न सक्छौँ ।’
उनको नयाँ पुस्तकले हास्यभावमा धेरै विकृतिमाथि निशाना बनाएको छ । धार्मिक कट्टरपन्थी, बेइमान राजनीतिज्ञ तथा मृत्यु समेतलाई विनोदी शैलीमा उडाएको छ । पुस्तकमा ‘द म्युजिसियन अफ कहानी’ नामको रमाइलो कथा छ । जसमा एउटी धर्मनिरपेक्ष भारतीय महिलाले आफ्नो नास्तिक पतिलाई नक्कली धार्मिक अगुवाको पछि लागेकोमा शंका गर्न थाल्छिन् । उनका पतिले पछ्याएको गुरुले मानिसलाई धन भनेको धेरै पवित्र बस्तु हो भन्ने सिकाउने गर्छ । पवित्र भएकै कारण आफ्नो खातामा खुरुखुरु पैसा जम्मा भएर धर्म आर्जन भएको कुरा गर्छ ।
रुस्दीको जीवनमा व्यङ्ग्यको ठूलो महत्त्व छ । उनी आफैँ पनि पुनर्जागरणको मूल्य अस्वीकार गर्ने तथा तर्कबुद्धिले समस्या समाधान गर्ने तरिकाको विरोध गर्नेहरूको निसानामा परे । शब्दलाई हतियारले रोक्न सकिन्छ भन्नेहरूलाई झेल्न विवश भए । उनको जीवनको अधिकांश हिस्सा त्यस्तै तत्वले तर्साएकै अवस्थामा बितेको छ । उनलाई छुरा प्रहार गर्ने आक्रमणकारीलाई अदालतमा उपस्थित गराउँदा उसले प्रयोग गरेको छुरा पनि प्रमाणका रुपमा पेस गरिएको थियो । उनले आफूलाई झन्डै दृष्टिविहीन बनाएको छुरा त्यहीँ देखे ।
त्यो अपराधीको नाम हादी मातर हो । २४ वर्षको लेवनानी–अमेरिकी नागरिक मातरलाई देख्दा रुस्दी छक्क परे । उसको कुनै पुरानो आपराधिक पृष्ठभूमि थिएन । सयौँ मानिसको बीचमा रहेका रुस्दीलाई आक्रमण गर्दा आफू पक्राउ परिन्छ भन्ने थाहा हुँदाहुँदै पनि उसले छुरा प्रहार गरेको थियो । त्यत्रो अपराध कृत्यका बाबजुद मादर निर्धक्क उभिएको थियो । पश्चातापको भाव देखिन्नथ्यो । मातरलाई २५ वर्षको जेल सजाय तोकियो ।
यति हुँदा पनि उसलाई केही फरक नपरेजस्तै देखिन्थ्यो । अरुलाई आक्रमण गर्दा आफ्नो जीवन नै बर्बाद हुने कुरामा पनि उसलाई कुनै चिन्ता थिएन । यस्तो देखेर रुस्दी आश्चर्यमा परे । उनलाई यस्तो अवस्था नै रहस्यमय लाग्यो ।
त्यस्तो रहस्यको कारण सम्भवतः समाजको चरम ध्रुवीकरणमा भेट्न सकिन्छ । अचेल आफ्नो समूहप्रतिको बफादारीले नैतिकतालाई छायामा पारेको छ । उनीमाथि आक्रमण गर्ने व्यक्तिले पनि आफ्नो आस्थाको धर्म इस्लामलाई रुस्दीको किताबबाट जोगाउनका लागि आक्रमण गर्नु सही हो भन्ने ठान्यो ।
अदालतमा उसले प्यालेस्टाइनको समर्थनमा नारा लगायो यद्यपि उसले गरेको आक्रमण भने गाजा युद्ध अघि भएको थियो । एक प्रहरी अधिकारीले रुस्दीलाई बताए अनुसार मातरले जेलमा पनि आफू जोगिनेखालको समूह बनाइरहेको आशंका थियो ।
रुस्दीलाई अभिव्यक्ति स्वतन्त्रता कमजोर हुँदै गएकोमा गहिरो चिन्ता छ । उनी भारतमा डरको माहोल देखिएको बताउँछन् । उता, केही अमेरिकी विद्यालयहरूमा हास्यविनोदले भरिएका पुस्तकमा प्रतिबन्ध लाग्न थालेको उनी उल्लेख गर्छन् । अहिले केही अमेरिकी विद्यालयहरूमा ‘हकलबेरी फिन’ जस्ता उपन्यास हटाउन थालिएको छ ।
रुढीवादी र अधिनायकवादीहरू अझै पनि अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणमा उस्तै छन् । केही प्रगतिशीलहरूको पुस्तक ‘सेन्सर’ गर्ने रवैयाप्रति पनि उनी निराश छन् । उनका अनुसार त्यस्तो ‘सेन्सर’ ले अन्य उत्पीडनहरूसँग लड्न गाह्रो बनाउँछ । भर्खरै अमेरिकामा दक्षिणपन्थी अभियन्ता चार्ली किर्कको हत्या भयो । त्यो नृशंस हत्यामा केही वामपन्थीले खुलेर आलोचना नगरेकोमा उनी चिन्तित देखिन्छन् ।
उनी भन्छन्, ‘मान्छे मार्नु हुँदैन, जोसुकैको किन नहोस्, हत्या हुनु नराम्रो हो ।’ रुस्दीलाई धार्मिक पन्थहरू र अमेरिकाको ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् ‘मागा’ आन्दोलनमा धेरै समानता छ भन्ने लाग्छ । दुवै पक्षका अनुयायीहरू आफ्ना शत्रुप्रति घृणा देखाएर आफ्ना नेताप्रति बफादारी प्रमाणित गर्ने प्रयास गर्छन् ।
‘ओक्लाहोमा’ शीर्षकको आफ्नो कथामा उनले एउटा यस्तो भ्रष्ट राजाको वर्णन गरेका छन्, जसलाई चापलुसी गर्नेहरूले घेरेका हुन्छन् । राजा आफैँमा अपराधी हुन्छ तर उसका चाटुकारहरू राजाको अपराध छोप्न विरोधीहरूलाई आरोप लगाउने गर्छन् । राजाले भाषा र शब्दहरू नै फेर्ने आदेश गर्छ । उसले आफ्नै भतिजीहरूसँग विवाह गरेपछि शब्दकोशबाट ‘दुराचार’ भन्ने शब्द नै हटाउन लगाउँछ ।
समय बित्दै जाँदा ‘बलात्कार’ लाई प्रेमको अर्थमा, ‘त्रासदी’ लाई देशभक्तिका रूपमा तथा ‘दुव्र्यवहार’ लाई सुशासनको रूपमा पुनः परिभाषित गरिदिन्छ ।
रुस्दी लेखकहरूलाई ‘भाषाका संरक्षक’ भन्छन् । उनका अनुसार जब शक्तिशाली मानिसहरूले सत्य लुकाउन वा नियमहरू परिवर्तन गर्न शब्दलाई विकृत पार्छन्, लेखकहरूले त्यस्तो कदमको जमेर भन्डाफोर गर्नुपर्छ । उनी अहिले लेखकहरू ‘कथाहरूको विश्वयुद्ध’ लडिरहेका छन् भन्नेमा विश्वास गर्छन् । त्यस्तो युद्धमा यथार्थका विभिन्न फरक–फरक तथा आपसमा विपरीत संस्करणहरू बीचमा झडप चलिरहेको छ ।
पुटिनले युक्रेन आक्रमणलाई औचित्यपूर्ण देखाउन इतिहासको पुनर्लेखन गरेको सन्दर्भमा, इजरायली–प्यालेस्टिनी द्वन्द्वमा तथा हिन्दु राष्ट्रवादीहरूले आफू बहुमतमा हुँदाहुँदै पीडित भएको दाबी गर्ने गरेको भारतमा यस्तै कथायुद्ध देख्छन् ।
उनी भन्छन्, ‘प्रत्येक पक्षलाई यस्तो लाग्छ, उनीहरूको कथा अर्को पक्षले निल्दैछ वा कुल्चिरहेको छ । त्यसैले कथाहरू तपाईंको मृत्यु पनि हुन सक्छन् ।’ आफू झन्डै–झन्डै मारिने अवस्थामा पुगेपछि उनी अचेल प्रायः मृत्युबारे सोच्ने गर्छन् । बुढ्यौलीबारे सोध्दा उनी ठट्टा गर्दै आफू ‘यसको विरुद्धमा’ भएको जबाफ दिन्छन् । ‘ओक्लाहोमा’ कथामा उनी मानिसले जीवनको अन्तिम घडी कसरी सामना गर्ने हो भने सोध्छन् । शान्त भएर सामना गर्ने कि आक्रोशित भएर ?
उनको जबाफ गज्जबको छ । ‘तपाईंले एउटैमात्र भावमा जबाफ दिनुपर्छ भन्ने छैन । दुवै भावमा रहन सक्नुहुन्छ । मंगलबार शान्त हुन सक्नुहुन्छ, बुधबार रिसाउन सक्नुहुन्छ ।’
अर्को कथा ‘लेट’ शीर्षकमा छ । पुरानो क्याम्पसको पृष्ठभूमिमा लेखिएको यो कथा प्रेतको कथा पनि हो । पहिलो वाक्यमै कथाको नायक मृत अवस्थामा ब्युँझिन्छ । कथा ७० पृष्ठ लामो छ । पढ्दै जाँदा पाठकले त्यस पात्रबारे बुझ्दै जान्छन् । ऊ ई.एम. फोरेष्टर र एलान ट्युरिङलाई आख्यानमा मिश्रण गरिएको पात्र हुन्छ । उनीहरू रुस्दीले पढेको किङ्स कलेजको इतिहासका उल्लेखनीय व्यक्ति हुन् ।
कथामा नायकले ऊ समलिङ्गी भएकै कारण समाजमा भोग्नु परेको पीडा देखाइएको छ । कथाले देखाउने समाजको निर्मम व्यवहारले पाठकको मन उद्वेलित गराउँछ, तर कथामा दुःखमात्रै छैन । कथाले आशाको दियो पनि बालेको छ । उनी समाजमा विद्यमान हठ र पूर्वाग्रहलाई जित्न सकिन्छ भन्छन् ।
साहित्यले मानिसलाई अन्यायबारे बुझ्न बाध्य पार्छ भन्छन् । उनी भन्छन्, ‘कलाले विद्यमान संसार र यहाँको थितिलाई पुनः पठन गर्न सिकाउँछ ।’ (द इकोनोमिस्टबाट)
सलमान रुस्दीको नयाँ कथासंग्रहमा के छ ?
Facebook Comments Box
