कौशल कुमार भट्टराई
भक्तपुर/ आसन्न महाधिवेशनको चटारोमा ठूला दलहरु रहेका छन् । पछिल्लो निर्वाचन परिणाम अनुसारको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । यसैगरी दोस्रो ठूलो दलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) रहेको छ । यी दुवै दलहरुमा महाधिवेशनको चटारो छ । दुवै दलमा पुरानालाई पन्छ्याउने वा नपन्छ्याउने भन्ने कुरा बहसको रुपमा आइरहेको छ । एमालेले यही मंसिर २७ देखि महाधिवेशनको मिति तोकेको छ । यसैगरी कांग्रेसले पनि आगामी पुस २६ गतेदेखि नियमित महाधिवेशनको तालिका सार्वजनिक गरेको छ । यसरी महाधिवेशनको चटारोमा परेका दलहरु प्रतिनिधिसभाको पुनस्र्थापना वा फागुनमा निर्वाचन भन्ने कुरामा पनि अलमलमा परिरहेको अवस्था छ । दुवै ठूला दलका शीर्ष नेताहरु निर्वाचनमा भन्दा पनि प्रतिनिधिसभाको पुनस्र्थापनाकालागि प्रयासरत रहेको बताइन्छ । यस्तो हुनुमा फागुनमै निर्वाचन भएमा आफूले उम्मेदवारको टिकट पाउने वा नपाउने भन्नेमा ढुक्क हुन नसकेको अवस्था छ । यसैगरी उम्मेदवार बने पनि पछिल्ला घटनाक्रमले विजयको माला पहिरिन भने फलामको चिउरा चपाउनु जस्तै अवस्था रहेको भन्ने बुझाइमा उहाँहरु रहेको स्थिति छ ।
कांग्रेसको केन्द्रीय समितिको बैठकले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । उक्त बैठकले प्रतिनिधिसभाको पुनस्र्थापनाको पक्षमा कुनै निर्णय गरेको थिएन । यसैबीचमा कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले भेट गर्नु भएको थियो । उहाँहरुको भेट भएकै भोलिपल्ट कांग्रेसका निवर्तमान आठजना सांसदहरुले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि भनी सर्वोच्च अदालतमा रिट दायर गर्न पुग्नुभएको छ ।
देउवा–ओलीको भेटलगत्तै कांग्रेसको निर्णयको विपक्षमा रहने गरी ती सांसदहरु पुनस्र्थापनाको लागि रिट लिएर गएपछि उहाँहरुका बीचमा केही सल्लाह भएको पो हो कि भन्ने आशंका गर्न थालिएको छ । त्यसो त ओली पुनस्र्थापनाको पक्षमा रहनु तथा उहाँको दल एमालेले त्यसअघि नै पुनस्र्थापनाको पक्षमा रिट निवेदन दायर हुनुले ओलीले देउवालाई पनि यो विषयमा आश्वस्त पारेको चर्चा चलेको छ ।
कांग्रेसको केन्द्रीय समितिको निर्णय विपरित आठजना रिट निवेदन लिएर गएको अवस्थालाई कांग्रेसका नेताहरुले व्यक्तिगत निर्णय भन्न रुचाए पनि वास्तविकता अर्कै रहेको बताइन्छ । कांग्रेसका एक केन्द्रीय सदस्यले नाम नछाप्ने सर्तमा भन्नुभयो, ‘यो संजोगमात्र नभएर नियोजित नै हो जस्तो लाग्छ ।’ भेट भएकै भोलिपल्ट रिट लिएर जानु तथा त्यसविरुद्ध कांग्रेसले संस्थागत रुपमा आवाज नउठाउनुले शंका गर्ने ठाउँ रहेको विश्लेषण अधिवक्ता भवानीप्रसाद अधिकारी गर्नु हुन्छ ।
ओली आगामी महाधिवेशनलाई कर्मकाण्डी बनाएर आफू नै अध्यक्ष बन्ने दाउमा हुनु हुन्छ । अध्यक्ष भए पनि नभए पनि झापाबाट आगामी निर्वाचनमा आफू उम्मेदवार बन्नेमा कसैले रोक्न नसक्ने भन्ने मानसिकतामा ओली देखिनु भएको छ । यसैगरी देउवाले पनि आगामी निर्वाचनमा आफू डडेलधुराबाट उम्मेदवार बन्ने संकेत गरिरहनु भएको छ । सकेसम्म निर्वाचन नहोस् भन्ने पक्षमा ओली र देउवा रहेको विश्लेषण राजनीतिक रुपमा गर्न थालिएको छ । पुनस्र्थापना भएमा ओलीलाई आफैं प्रधानमन्त्रीमा पुनस्र्थापित हुन सकिने लोभ रहेको पनि बताइन्छ । यसैगरी बाँकी कार्यकाल आपूm प्रधानमन्त्री बन्न पाउने आशामा देउवा पनि रहनु भएको बताइन्छ ।
पुनस्र्थापना भएका खण्डमा दुवैजना कुनै न कुनै बहानामा प्रधानमन्त्री बन्ने सम्भावना जिवित रहने भन्ने बुझाइमा रहनु भएको समाचार स्रोतको दाबी छ । कांग्रेस सबैभन्दा ठूलो दल भएका नाताले पनि प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुनेमा देउवाको पनि आशा रहेको बताइन्छ । दुवैजनाले पुनस्र्थापनाको सम्भावना देखेरै भित्री रुपमा प्रयास गरिरहेको पनि स्रोतले दाबी गरेको छ ।
उता, महाधिवेशनको चटारोमा दुवै नेताहरु रहेको अवस्था छ । ओली आफूलाई निर्विकल्प अध्यक्षका रुपमा उभ्याउन चाहिरहनु भएको छ । उहाँले विधान संशोधन गरेर होस् वा त्रास सिर्जना गरेर होस् आफू अध्यक्षमा निर्वाचित हुने वातावरण बनाउन लागिपर्नु भएको छ । ओलीको चाहना भने सहजै पूरा हुने अवस्था भने छैन ।
ओलीलाई अहिलेदेखि नै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको डर रहेको छ । पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीसहितको शक्ति लिएर ओलीलाई अध्यक्ष बन्न नदिने पक्षमा रहनु भएको छ । यसैगरी बुधबार भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेपछि ओली झस्किन पुग्नु भएको छ ।
पछिल्लो समय भण्डारी र ओलीको सम्बन्ध राम्रो छैन । भण्डारी स्वयम् नै अध्यक्ष बन्ने पक्षमा हुनुहुन्थ्यो । भण्डारीलाई रोक्न ओलीले कुनै कसर बाँकी नराखेको बताइन्छ । भण्डारीले आफूले एमालेको सक्रिय राजनीतिका लागि सदस्यता नवीकरण गरेको दाबी गरे पनि त्यसलाई ओलीले मान्यता नदिएको अवस्था छ । आफू उम्मेदवार बन्न नपाए पनि पोखरेललाई अघि सारेर भण्डारीलाई पछार्ने सोच बनाएको बताइन्छ ।
ओलीले भने हालका प्रधानमन्त्री कार्कीलाई मान्यता नदिएको अवस्था छ । कार्की प्रधानमन्त्री बनेको विषयलाई अवैधानिक भन्ने धारणा ओलीले राख्दै आउनुभएको छ । यस्तो अवस्थामा कार्की पनि नवपुस्ता (जेन–जी) को माग अनुसार ओलीलाई वयानका लागि बोलाउने पक्षमा देखिँदै आउनु भएको छ । उता, ओली भने वयानका लागि नजाने भनी अड्डी कसेर बसेको अवस्था छ । यसरी ओलीको अड्डीलाई किनारामा पार्नका लागि भण्डारी र कार्कीका बीचमा भेट भएको सन्त्रासमा ओली पुग्नु भएको बताइन्छ ।
उता, कांग्रेस भने आसन्न महाधिवेशनसँगै आगामी निर्वाचनको पक्षमा देखिएको छ । कांग्रेसले निर्वाचनका लागि भनी उम्मेदवारहरुको नामावली सिफारिस गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ । यसरी कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको हेर्दा पुरानै अनुहारहरु प्राथमिकतामा परेको देखिएको छ ।
यसरी पुरानै अनुहारलाई उम्मेदवार बनाउने हो भने पछिल्लो परिवर्तनको मागलाई कांग्रेसले सम्वोधन गर्न नसकेको भन्ने स्थिति आउने बताइन्छ । जेन–जी आन्दोलनको प्रमुख माग नै सुशासन, नयाँपुस्तालाई मौका हो । यस्तो अवस्थामा कांग्रेसले कम्तिमा पनि नयाँपुस्तालाई आधा नै भए पनि समेट्नुपर्ने अवस्था रहेको बताइन्छ ।
यसैगरी कांग्रेसमा महाधिवेशनको राप पनि बढेको छ । सभापति शेरबहादुर देउवा आफू उम्मेदवार नबन्ने अवस्थामा रहे पनि उहाँको आशीर्वाद खोज्ने केही नेताहरु रहेको अवस्था छ । पुराना पुस्ताका ती नेताहरु देउवाले साथ दिएमा जितिएला भन्ने सोचका साथ देउवाको इसाराको पर्खाइमा रहेका बेला महामन्त्री गगन थापाले भने आफूलाई सभापतिको उम्मेदवार घोषणा गरी प्रचारप्रसार थाल्नुभएको छ ।
बीचको पुस्ताको अवस्थामा रहनुभएका शेखर कोइराला, चन्द्र भण्डारीले समेत सभापतिमा आफ्नो उम्मेदवारी पर्ने भन्दै आउनुभएको छ । यस्तो अवस्थामा कांग्रेसमा नयाँ र पुरानाका बीचमा प्रतिस्पर्धा हुने संभावना बढेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि देउवाले आफूलाई उत्तराधिकारी तोक्ने आशाले केही नबोली बसेको अवस्था छ ।
