कांग्रेसका सर्तले सुविधाभोगी मर्माहत

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपु/ नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बनाउन सर्तहरु राखेको छ । यही मंसिर १५ गतेको केन्द्रीय कार्यसमितिको बैठकले दुई सर्तसहितको परिपत्र जारी गरेपछि हाल पदमा रहेकाहरु भने निराश देखिएका छन् ।
बैठकले गरेको निर्णयमा, ‘प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक) सदस्यको निर्वाचनतर्फको विधानको धारा ३२ को उपधारा (८) (क) बमोजिमको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशन सहितको परिपत्र गर्ने’ भनिएको छ । त्यसैगरी परिपत्रमा २०७९ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा समानुपातिक तर्फबाट निर्वाचित भएका र २०७९ को प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक बन्दसूचीमा समावेश भएकालाई समेत उम्मेदवार सिफारिस नगर्ने भनेपछि उनीहरु निराश भएका हुन् ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मातहतका कार्यालयलाई गरेको परिपत्रमा उम्मेदवार बन्न पालना गर्नुपर्ने १० सर्त रहेको बताउनु भएको छ । स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित पदाधिकारी पनि उम्मेदवार बन्न नपाउने उल्लेख छ ।
२०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रणालीबाट सांसद बनेकाहरू सिफारिस हुन पाउने छैनन् । उनीहरू सिफारिसमै नपर्ने भएपछि नयाँले अवसर पाउने निश्चित भएको बताइन्छ । परिपत्रमा विधानको धारा ३३ (२) बमोजिम समानुपातिक तर्फबाट सांसद बनेकालाई दोह¥याउन नमिल्ने उल्लेख गरिएको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा वा प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन,’ भन्ने उल्लेख छ ।
२०७९ मा प्रतिनिधिसभामा कांग्रेसबाट समानुपातिक प्रणालीबाट ३२ सांसद निर्वाचित भएका थिए । तीमध्ये तीन पुरुष र बाँकी महिला थिए । समानुपातिक प्रणालीतर्फबाट सांसद हुनेमा बहालवाला पदाधिकारी र पूर्वपदाधिकारीसमेत थिए । बहालवाला सहमहामन्त्री जीवन परियार र प्रवक्ता प्रकाशशरण महत समानुपातिक तर्फबाट सांसद बन्नेमा रहेको बताइएको छ ।
त्यस्तै पूर्वउपसभापति विमलेन्द्र निधि पनि समानुपातिकबाटै सांसद बन्नु भएको थियो । २०७९ मा कांग्रेसले समानुपातिक सूचीबाट सांसद बनाएकाहरूमा (१) सरस्वती बजिमय (खोटाङ), (२) कल्पना चौधरी (सुनसरी), (३) लीलादेवी वोखिम (ताप्लेजुङ), (४) सरिता प्रसाईं (झापा) र (५) माया राई (भोजपुर) रहनुभएको थियो । यसैगरी (६) विमलेन्द्र निधि (धनुषा), (७) संगीता मण्डल (महोत्तरी), (८) मञ्जु खाँण (सिरहा), (९) चन्दा चौधरी (सर्लाही), (१०) नागिना यादव (महोत्तरी), (११) मुक्ताकुमारी यादव (धनुषा), (१२) सीता मिजार (नुवाकोट) र (१३) अञ्जनी श्रेष्ठ (चितवन) रहनुभएको थियो ।
यसैगरी अन्यमा (१४) अम्बिका बस्नेत (काठमाडौं), (१५) डा. प्रकाशशरण महत (नुवाकोट), (१६) प्रतिमा गौतम (काठमाडौं), (१७) सुशीला थिङ (सिन्धुली), (१८) रमा कोइराला पौड्याल (भक्तपुर), (१९) सपना राजभण्डारी (काठमाडौं), (२०) शान्ति विक (चितवन), (२१) विनाकुमार थनेत (नवलरासी), (२२) जीवन परियार (कास्की), (२३) मनोरमा शेरचन (रुपन्देही), (२४) आशा विक (बाँके) र (२५) जाबेदा खातुन जागा (बर्दिया) रहनुभएको थियो । यस्तै, (२६) रुपा विक (कपिलवस्तु), (२७) कुसुम थापामगर (रुकुमपूर्व), (२८) मैना रावल कार्की (जाजरकोट), (२९) सीताकुमारी राना (दैलेख), (३०) कान्तिका सेजुवाल (जुम्ला), (३१) ईश्वरी न्यौपाने (कैलाली) र (३२) डा. आरजु राणा देउवा (डडेल्धुरा) रहनुभएको थियो ।
कांग्रेसले मंसिर मसान्तसम्म उम्मेदवारको सिफारिस केन्द्रमा पठाइसक्न भनेको छ । परिपत्रमा प्रत्यक्षतर्फ एक महिलासहित तीन जना र समानुपातिकका लागि एक महिलासहित दुई जनाको नाम केन्द्रमा सिफारिस गर्न कांग्रेसले भनेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *