काठमाडौं/ तराई–मधेशमा बलियो प्रभाव राख्ने दुई राजनीतिक शक्तिबीच एकता घोषणा गरिएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकाबीच आइतबार एकता घोषणा भएपछि तराईमा यसको हिसाब किताब गर्न थालिएको छ । केही महिनाको आन्तरिक गृहकार्यपछि प्रक्रिया पु¥याएर आधिकारिक रुपमा एकता घोषणा भएको जनाइएको छ ।
देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा नेपाल र लोसपा नेपालकाबीचमा एकीकरण गर्ने निर्णय भएको भनी दुवै दलका नेताहरु सम्मिलित बैठकले एकताबद्ध हुने निर्णय गरेको बताइएको छ ।
एकीकृत पार्टीको नाम, चिन्ह र नेतृत्वबारे केही नखुलाइएको उक्त वक्तव्यमा धेरै कुरा नसमेटी समानुपातिकको नाम पठाउने विषयमा केन्द्रित हुन दुवै दलका नेताहरुले चाहेको बताइन्छ । यस्तो अवस्थामा आएको एकता वक्तव्यलाई हेर्दा ती दलहरुले आवश्यव कुराहरु पछि गर्दै वास्तविक रुपमा एकताको घोषणा गर्ने तयारी गरेको जस्तो लाग्ने अधिवक्ता भवानीप्रसाद अधिकारीको धारणा छ ।
दुवै दलका नेताहरु आ–आफ्ना अडानबाट जति पछि हट्न सकिन्छ, त्यति हटेर एक हुने भन्ने निष्कर्षमा पुगेको बताइएको छ । त्यसो त यी दुवै पार्टी यसअघि एउटै बनिसकेको पृष्ठभूमि छ । सोही कारण पनि बाँकी निर्णयमा समस्या नपर्ने नेताहरुको धारणा रहेको बताइएको छ ।
महन्थ ठाकुर सर्वोच्च नेता भएर पार्टी एकता भइसकेकै थियो । चुनाव चिन्ह र नाम पनि विगतमा एउटै भएकै थियो । यस्तो अवस्थामा चुनाव चिन्ह छाता राख्ने गरी सहमति जुटिसकेको नेता मनिष सुमनले जानकारी दिनु भएको छ । २०७७ बैशाखमा पनि यी दुई पार्टीबीच एकता भएको थियो, त्यो बेला चिन्ह छाता नै थियो । पछि लगत्तै फुटमा पुगेका थिए ।
२०७८ भदौमा महन्थ ठाकुरको नेतृत्वमा लोसपा बन्यो र चुनाव चिन्ह साइकल लिएको इतिहास छ । यसैगरी २०७९ को चुनावमा उनीहरूको चुनाव चिन्ह मात्र नभएर गठबन्धन पनि अलग–अलग बनेको थियो । जसपा नेपालले नेकपा (एमाले) सँग गठबन्धन गरेको थियो । यसैगरी लोसपाले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबनधनमा सहभागिता जनाएको थियो । यसरी चुनावामा दुईतिरको गठबन्धनमा यी दलहरु पुग्दा तराई मधेशमा एमाले र कांग्रेसको वर्चश्व स्थापित भयो । एमाले पहिलो र कांग्रेस दोस्रो राजनीतिक शक्तिको रुपमा रहन गएको छ ।
उता, इतिहास पल्टाएर हेर्दा २०६४ सालको मधेश आन्दोलनपछि स्थापित जसपा तेस्रो र लोसपा पाँचौ शक्तिमा सीमित बनेका थिए । नवपुस्ता (जेनजी) आन्दोलनले एकताको लागि थप बल पुगेको बताइएको छ । पछिल्लो भद्र सहमति अनुसार उपेन्द्र यादव र महन्थ ठाकुर समान हैसियतका अध्यक्ष हुने भन्ने रहेको पनि बताइएको छ । समितिहरूको एकीकरणदेखि उम्मेदवार चयनमा पनि समान हिस्सेदारी रहने गरी सहमति जुटेको बताइएको छ ।
यसैबीच तराई केन्द्रित दलहरुका बीचमा एकीकरण गराउने कार्यमा लोसपाका अध्यक्ष महन्थ ठाकुरको ठूलो योगदान रहँदै आएको बताइन्छ । यसका लागि ठाकुरले आफ्नो व्यक्तिगतभन्दा पनि तराई मधेशको मुद्दालाई स्थापित गराउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्य गरिरहेको भनी उहाँको प्रशंसा गर्ने गरिएको छ । त्यसो त यसअघि नै आफ्नो दलमा हृदयेश त्रिपाठी र वृशेषचन्द्र लालको दललाई एकताबद्ध गराउने कार्यमा ठाकुरले सफलता पाइसक्नुभएको छ ।
उता, सीके राउतलाई पनि एउटै दलमा ल्याउने कसरतमा ठाकुर लाग्नुभएको बताइन्छ । राउत र यादवका बीचमा व्यक्तिगत टकराव रहेकाले उनीहरुका बीचमा मिलनविन्दु खोज्न ठाकुरले पहल गरिरहेको बताइन्छ । शालीन व्यक्तिव्य भएकाले पनि ठाकुरको कुरालाई तराई केन्द्रित नेताहरुले सुन्ने तथा मान्ने गरेको बताइन्छ ।
मधेशी जोड्दै महन्थ ठाकुर
Facebook Comments Box
