मिटरब्याजीका ‘किङ’ को फन्दामा को को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा फैलिरहेको छ । चर्को ब्याजदरमा गरिने यो कारोबारले सयौं परिवारलाई सर्वश्व गुमाउन बाध्य तुल्याइरहेको प्रहरीको कथन छ ।
यसले घरजग्गा सखाप हुनुदेखि परिवार विखण्डनसम्मको पीडामा पर्नेहरुको संख्या दिनहुँ बढ्दै गएको प्रहरी स्रोतले जानकारी दिएको छ । काठमाडौं प्रहरीका अनुसार दैनिक सयौं जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर प्रहरी कार्यालय धाउने गरेका छन् । कतिपयले एक करोडदेखि चार करोडसम्मको रकम डुबाएर भागेको पीडितहरूले बताएका छन् । उता, लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन बनेका पनि बताइएको छ ।
नागर्जुन नगरपालिका वडा नम्बर ६ टौखेलस्थित एक कोलोनीमा बसोबास गर्दै आएका गजेन्द्र मास्केको नाम अहिले मिटरव्याजीको रुपमा काठमाडौंभरि चर्चामा रहेको बताइन्छ । विभिन्न समाचार माध्यममा मास्केको धन्दाबारे खुलासा भएपछि पीडितहरू सम्पर्कमा आउन थालेका छन् । काठमाडौंमा वीरेन्द्र लाल श्रेष्ठपछिको मिटर ब्याजीका ‘किङ’ भनेर मास्के चिनिन थालेको बताइएको छ ।
मास्केले नागर्जुन नगरपालिका ६ मा गाईफार्म सञ्चालन गर्दै आएका कुमार लामिछानेबाट ७५ लाखको ५ करोड असुलेको खुलासा भएको बताइएको छ । मास्केले लगानी गर्दा धितो बापत हस्ताक्षर गरेको चेक लिनुका साथै तमसुक गराउँदै लाखको १० हजारको दरले व्याज पहिल्यै कटाउने गरेको पीडितहरुले दाबी गरेका छन् । पछि रकम दिन कसैले आनाकानी गरेमा उनले चेक बाउन्स गरी मुद्दा चलाउने गरेको पीडितहरूले बताएका छन् ।
यसैगरी चामल व्यापारी ताहिर हुसेनलाई २५ लाख लगानी गरी २ करोड असुली गरेको स्रोतले जानकारी गराएको छ । त्यसपछि धितो स्वरूप हस्ताक्षर गरी दिएको चेकमा आफूखुशी रकम भरी उनी लगायत परिवारको नाममा रहेको १६ रोपनी जग्गा रोक्का राख्ने सर्तसम्म आइपुगेको बताइएको छ ।
यस्तै, काठमाडौंस्थित न्युरोडका गहना व्यापारी सुरेश सराफलाई १२ लाख रुपियाँ लगानी गरी ६ महिना भित्रै ३० लाख असुली गरेको पनि बताइएको छ । सराफले धितो स्वरूप हस्ताक्षर गरेर दिएको चेकमा ३६ लाख रुपियाँ भरी मुद्दा चलाएको बताइन्छ । सोही १२ लाख रुपियाँ लगानी गरेबापत १४ केजी चाँदी धितो स्वरूप लगेकोमा फिर्ता नगरी पचाएको पनि सराफले गुनासो गरेका छन् ।
मिटर ब्याज कारोबारमा तीन थरीका गिरोह संलग्न रहेको खुलेको छ । पहिलो गिरोह लगानी गर्न प्रोत्साहित गर्नेहरूको हो । व्यावसायिक रूपमा नजिक रहेका, चिनजान भएका आधारमा र सानोतिनो व्यावसायिक सम्बन्ध भएकाले नै एकअर्कालाई यो धन्दामा लगानी गर्न प्रोत्साहित गर्ने काम यसै गिरोहले गर्ने गरेको स्रोतले बताएको छ ।
यसैगरी अर्को गिरोह वित्तीय संस्थामा ऋण धितो राखेर रकम निकाल्नेहरूको रहेको छ । विभिन्न व्यावसायिक फर्म दर्ता गरी धितो बन्धकी राखेर वित्तीय संस्थाबाट ऋण निकाल्ने र शुरुशुरुमा आकर्षक ब्याज दिई विश्वास दिलाउने काम यही गिरोहले गर्छ । बिस्तारै लगानीकर्ताको विश्वास जितेपछि एकै पटक ठूलो रकम लगानी हुने गर्दछ ।
यस्तै, तेस्रो गिरोहले लगानी भएको रकम संकलन गर्ने, कमिसन दिनुपर्ने ठाउँमा दिने, राजनीतिक संरक्षणका लागि पहल गर्ने काम गर्दछ । यसरी संस्थागत रूपमा भइरहेको ठगीमा परेकाहरूले उजुरी दिन थालेपछि मुख्य व्यक्तिलाई भगाउने र सबै दोष उसैमाथि खन्याएर आफ्नो हिस्सामा आएको रकम लिने गरिएको पाइएको छ ।
मिटर ब्याज कारोबारको जालो वित्तीय संस्थासम्म फैलिएको बताइन्छ । सामान्य कारोबारका लागि ऋण दिन धेरै सास्ती भोग्नुपरे पनि मिटर ब्याज कारोबारीलाई भने वित्तीय संस्थाले सजिलै ऋण दिने गरेको खुलेको छ । सरकारी तथा निजी क्षेत्रका बैंकका कर्मचारी यो धन्दामा संलग्न रहेको आरोप लागिरहेको छ ।
मिटर ब्याजमा कारोबार गर्ने अधिकांशका नाममा विभिन्न बैंकमा ठूला–ठूला व्यावसायिक कर्जा रहेको तर तिनको व्यवसाय कहीँकतै केही पनि नदेखिने गरेको पाइएको छ । बैंकका कर्मचारीलाई आकर्षक कमिसन दिएर यसरी कर्जा लिने र मिटर ब्याजमा लगानी गर्ने गरिएको खुलासा भएको छ । बैंकका कर्मचारीमार्फत सहज तरिकाले ऋण निकाल्ने र मिटर ब्याजमा लगाउने प्रवृत्तिले गर्दा व्यवसाय गर्न कर्जा पाउनेहरूका लागि ऋण लिन निकै गाह्रो हुँदै गएको सेवाग्राहीको गुनासो छ ।
निजी क्षेत्रको बैंक अफ काठमाडौंले त मिटर ब्याजमा संलग्न व्यक्तिहरूका नाममा भएको कम्पनीविरुद्ध प्रहरीमा उजुरीसमेत गरेको छ । सम्पत्ति शुद्धीकरण विभागले चाहेमा मिटर ब्याजमा लागेर अस्वाभाविक धन आर्जन गरेका माथि कारबाही हुन सक्ने धारणा जिल्ला प्रशासन कार्यालयका एकजना अधिकृतले नाम नखोल्ने सर्तमा सुझाव दिए । उहाँले आफ्नो कार्यालयमा पनि दैनिकजसो विभिन्न व्यक्तिहरु त्यस्ता समस्या लिएर आउने गरे पनि कानून तथा प्रमाणको अभावमा कारबाहीको प्रक्रिया भने सहज नभएको बताउनु भयो ।
यसरी काठमाडौं उपत्यकामा मिटर ब्याजको धन्दाले संगठित रूप लिँदै जाँदा सर्वसाधारणको जीवन दुखद बन्दै गएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *