कम्पनी सचिव आवश्यकता कि बाध्यता

Nayabimarsha (Weekly Newspaper from Nepal)
विष्णु गिरी ‘निश्चल’

नेपालको विद्यमान कानूनले एक करोड रुपियाँभन्दा बढी पूँजी भएका हरेक कम्पनीले कम्पनी सचिव राख्नु पर्छ भन्नेको छ । नेपालका कति कम्पनीले कानूनले भनेको पूरा गर्न कम्पनी सचिव राख्ने गरेको पाइन्छ । यसैले कम्पनी सचिव आवश्यकता हो कि बाध्यता हो भन्ने प्रश्न पनि उठ्ने गरेको छ । कम्पनी सचिव कम्पनीको लागि महत्वपूर्ण पद हो, जसले वैधानिक र नियामक आवश्यकताहरूको पालना सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । कम्पनी सचिवले कानून क्षेत्राधिकारहरूमा निगमहरूको कुशल कार्यको लागि अभिन्न अङ्ग हो । कम्पनी सचिवले अनुपालनको संरक्षक, सञ्चालक समिति र अन्य सरोकारवालाहरूबीच सञ्चारको सहजकर्ता र व्यावसायिक अभिलेखको संरक्षकको रूपमा काम गर्ने गरेको पाइन्छ ।
कम्पनी ऐन २०६३ को दफा १८५ अनुसार एक करोड रुपिया वा सोभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीले योग्यता पुगेको नेपाली नागरिकलाई कम्पनी सचिवको पदमा नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ । सम्बन्धित कम्पनीको सञ्चालक त्यस्तो कम्पनीको सचिवको रूपमा नियुक्त गर्न भने पाइँदैन । कम्पनी सचिव बन्नको लागि कानून, व्यवस्थापन, वाणिज्य वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरेको हुनुपर्छ ।
कम्पनी सचिवको काम, कर्तव्य र अधिकार के हुन त ?
कुनै कम्पनीको सञ्चालक समिति र साधारणसभाद्वारा गरिएका निर्णयहरू र कार्यालय वा सम्बन्धित निकायहरूद्वारा निर्देशित कुराहरू कार्यान्वयन गर्नु, गराउनु तथा कम्पनी ऐन वा प्रचलित कानून बमोजिम कम्पनीले कार्यालय वा अन्य कुनै निकायमा पेश गर्नुपर्ने विवरण, कागजात, निर्णय आदि निर्धारित अवधिभित्र पेश गर्नु कम्पनी सचिवको मुख्य कार्य हो । सम्बन्धित कम्पनी ऐन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही कम्पनी सचिवले आफ्नो कार्य गर्नुपर्छ ।
सञ्चालक समितिको बैठक वा साधारणसभा बोलाउने, सञ्चालक समितिको बैठक वा साधारणसभामा छलफल गरिने विषयहरूको सूची तयार गरी सम्बन्धित सञ्चालक वा शेयरधनी कहाँ पठाउने, सञ्चालक समितिको बैठक वा साधारणसभाको निर्णयहरूको अभिलेख राख्ने, प्रमाणित गर्ने तथा जिम्मा लिने, सञ्चालक समितिको निर्णयानुसार शेयर बाँडफाँडको सूचना तथा किस्ता मागको सूचना पठाउने कार्य पनि कम्पनी सचिवको हो । शेयरधनीहरूको दर्ता किताब र शेयरधनी तथा डिबेञ्चरवालाहरूको लगत दुरुस्त राख्ने, जिम्मा लिने र प्रमाणित गर्ने, शेयर वा डिबेञ्चरको धितो बन्धक जनाउने, हस्तान्तरण वा दाखिल खारेज गर्न सञ्चालक समिति वा कार्यकारी प्रमुखसमक्ष पेश गर्ने कार्य पनि कम्पनी सचिवकै जिम्मामा रहने गर्दछ ।
यसैगरी शेयरधनी वा डिबेञ्चरवालाको दाबी, उजूरी, गुनासो, सुझाव, सल्लाह आदि कुनै कुरा लिखतरूपमा पेश हुन आएमा सञ्चालक समिति वा कार्यकारी प्रमुख वा कार्यालय वा अन्य निकायहरू समक्ष पु¥याउने र सो सम्बन्धमा भए गरेको कारबाहीको नतिजा लिखितरूपमा सम्बन्धित शेयरधनी वा डिबेञ्चरवालालाई दिने, प्रचलित कानून अनुसार कम्पनी सचिवले गर्नुपर्ने भनी निर्धारण गरिएको वा तोकिए बमोजिमको अन्य कार्य गर्ने गर्नुपर्छ यस बाहेक कम्पनी सचिवले साधारणसभाको निर्णय बमोजिम बाहेक कम्पनी सचिवले कम्पनीबाट वा कम्पनीमार्फत आफूलाई फाइदा हुने कुनै काम गर्नु गराउनु हुँदैन ।
कम्पनी कारोबार वा व्यवसाय सञ्चालन गर्न कम्पनीका सञ्चालक, कम्पनी सचिव, शेयरधनी तथा कम्पनीका कर्मचारी वा पदाधिकारीहरूको मन, मस्तिकद्वारा गरिन्छ । कम्पनीको काम कारबाहीका सम्बन्धमा कम्पनीका शेयरधनी, सञ्चालक तथा व्यवस्थापनबीच समन्वय राखी कम्पनीलाई राम्रोसँग सञ्चालन गर्न कम्पनी सचिवको महत्वपूर्ण भूमिका हुन्छ ।
कम्पनीलाई कर्पोरेट सुशासनअन्तर्गत व्यावसायिक तवरबाट सञ्चालन गर्न कम्पनी सचिवको ठूलो भूमिका रहेको हुन्छ । नेपालको सन्र्दभमा कहिलेकाहीँ सञ्चालक समिति र व्यवस्थापनबीच द्वन्द्व हुन सक्छ, त्यस्तो अवस्थामा कम्पनी सचिवले यी निकायबीच मध्यस्थ कायम राखी कम्पनीलाई अगाडि बढाउनुपर्ने भूमिका समेत निर्वाह गर्नुपर्छ ।
कम्पनी सचिवसम्बन्धी व्यावसायिक प्रमाणपत्र जारी गर्ने संस्था हालसम्म नेपालमा संस्थापना भइसकेको छैन । कम्पनी सचिवलाई सञ्चालक समितिले नियुक्ति गर्छ । सञ्चालक समिति र साधारणसभाद्वारा गरिएको निर्णयहरू र कम्पनी रजिस्ट्रारको कार्यालय वा अन्य सम्बद्ध निकायहरूद्वारा निर्देशित कुराहरू कार्यान्वयन गर्नु, गराउनु र कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालय वा अन्य निकायमा पेश गर्नुपर्ने विवरण, कागजात, निर्णय आदि निर्धारित अवधिभित्र पेश गर्नु कम्पनी सचिवको कर्तव्य रहन्छ । कुनै व्यक्ति एकैपटक एउटाभन्दा बढी कम्पनीहरूमा कम्पनी सचिवको रूपमा नियुक्त हुन पाउने छैन । कम्पनी सचिव नियुक्ति वा फेरफार भएमा त्यसको सूचना १५ दिनभित्र कम्पनी रजिस्ट्रारको कार्यालयलाई दिनुपर्छ । कम्पनी सचिवलाई सञ्चालक समितिले नियुक्ति गर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *