नेपाली टोपी दिवस मनाइयो

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपालगन्ज / विश्व भरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवसलाई महत्वका साथ मनाउनुपर्नेमा जोड दिइएको छ । बास नेपाल बाँके शाखाको आयोजनामा पुस १७ गते अर्थात टोपी दिवसको अवसर पारेर नेपालगन्जको बी.पी. चौकमा एक कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली टोपी दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको नेतृत्वतहमा रहेका व्यक्तिले टोपी लगाउन लाज मानिरहेको अवस्थाप्रति दुःख व्यक्त गर्नु भएको थियो ।
उहाँहरुले हरेक नागरिकले नेपाली टोपी र पोषाकको जगेर्ना गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा बोल्दै नेपालगञ्ज उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपाली टोपीलाई शान र पहिचानको रुपमा प्रयोग गर्न सबैलाई अपिल गर्नु भयो । कार्यक्रममा मुस्लिम अगुवा हाजी मोहम्वत कादिरले नेपाली टोपी हामी सबै नेपालीको शान भएको बताउँदै टोपीले हामी संसारभरी फैलिएर रहेका सम्पूर्ण नेपालीलाई एकताबद्ध गरेको पनि बताउनु भयो ।
यसैगरी बास नेपालका संस्थापक सल्लाहाकार रुद्रप्रसाद तिमिल्सिनाले विश्वमा फरक पहिचानको रुपमा रहेको नेपाली टोपीले देशको स्वाभिमान झल्काएको बताउनु भयो । बास नेपालको साझा कार्यक्रमअन्तर्गत सबैै जिल्लामा एकै पटक गर्ने साझा कार्यक्रम अन्तर्गत बास बाँके शाखाले टोपी दिवसको आयोजना गरेकोमा धन्यवाद दिँदै विभिन्न जिल्ला शाखाहरुलाई पनि सम्झनु भएको थियो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै बास नेपालका निर्देशक हेमराज भट्टले ‘हाम्रौ गौरव, हाम्रो सान – नेपाली टोपी, हाम्रो पहिचान’ नाराका साथ नेपालीपनलाई संरक्षण, प्रर्वद्धन र विस्तार गर्दै साझा कार्यक्रमको रुपमा विकास गर्दै लैजाने उद्देश्यले विगतका बर्षहरुदेखि नै बासले टोपी दिवस मनाउँदै आएको बताउनु भयो ।
बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापनसहित समापन बास नेपाल बाँके शाखाका अध्यक्ष रामु चिडिमारले गर्नु भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *