काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनजना पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा उत्रिएको अवस्था छ ।
शुरुमा डा. बाबुराम भट्टराईले पनि गोरखा–२ बाट चुनाव लड्न मनोनयन दर्ता गरे पनि पछि नाम फिर्ता गरेपछि तीनजना मात्र चुनावी दौडमा रहनु भएको हो । नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली झापा–५, पुष्पकमल दाहाल रुकुम पूर्व र माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक रहनु भएका डा. भट्टराईले गोरखा २ मा जेनजी उम्मेदवारलाई समर्थन गरेको जानकारहरुले बताएका छन् । गत २०७९ को निर्वाचनमा गोरखा २ बाट नेकपाका संयोजक दाहाल विजयी हुनु भएको थियो । यसैगरी झापा–५ बाट ओली र रौतहट–१बाट नेपाल निर्वाचित हुनु भएको थियो ।
यस पटक २०४८ सालको निर्वाचनपछि लगातार निर्वाचित हुँदै आएका काँग्रेस पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार बन्नु भएन । पार्टीको विशेष महाधिवेशनबाट देउवा बाहिरिन पुग्नु भएको थियो । नेपालको राजनीतिमा देउवा, ओली र दाहालले म्युजिकल कुर्चीजस्तै आलोपालो गरी ३५ वर्ष शासन गरेका भनी जनता चिढिएको अवस्थामा ओली र दाहाल भने फेरि पनि उम्मेदवार बनेको अवस्था छ ।
भावी प्रधानमन्त्रीको सपना देखेर मैदानमा उत्रिनु भएका ओलीलाई झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मैदानमा बालेन्द्र शाह (बालेन) लाई उतारेपछि चुनाव रोचक बन्न पुगेको बताइन्छ । रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ । काँग्रेसले पनि सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । थापा सर्लाही–४ बाट उम्मेदवार बन्नु भएको छ । त्यस क्षेत्रमा यसअघि स्वतन्त्र रुपमा जित्नु भएका अमरेशकुमार सिंह यस पटक रास्वपामा प्रवेश गरी थापासँग भिड्दै हुनु हुन्छ ।
उता, निर्वाचन क्षेत्र फेरी रहने दाहाल यस पटक सुरक्षित स्थान खोजेर रुकुम पूर्व पुग्नु भएको बताइएको छ । रुकुम पूर्व नेकपाको गढ मानिएको भन्ने हल्ला चलेका कारण दाहाल त्यहाँ पुगेको चर्चा छ । यसरी राष्ट्रिय राजनीतिमा रहेर लामो समय शासन गरेका पुराना पात्रहरु ओली, दाहाल र नेपालबाट वाक्क दिक्क भएर जेनजी युवाहरुले गत भदौ अन्तिम साता आन्दोलन गरेका थिए । भ्रष्टाचार र कुशासन एवं परिवर्तनका लागि गरिएको आन्दोलनको जगमा बनेको वर्तमान सरकारले गराउन लागेको निर्वाचनमा फेरी उनै पात्रहरु मैदानमा उत्रेपछि युवाहरुको बलिदान खेर जाने हो कि भन्ने चिन्ता बढेको छ ।
तीन पूर्वप्रधानमन्त्री चुनावी दौडमा
Facebook Comments Box
