ललितपुर/ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताको रुपमा आउनासाथ बालेन्द्र शाह (बालेन) को राजनीतिक सक्रियता बढेको छ । काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा गरी रास्वपाबाट उम्मेदवार बन्नु भएका बालेन पूर्व मेचीहँुदै पश्चिम महाकालीसम्म देश दौडाहामा निस्कनु भएको छ ।
यसअघि २०७९ को निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने सक्रिय रहने गरे पनि पछिल्ला दिनमा उहाँको सक्रियता घटेको पाइएको छ । त्यसो त गोडामा देखिएको एउटा घाउको उपचारका लागि लामिछाने मंगलबारदेखि अस्पतालमा भर्ना हुनु भएको छ । उहाँको निस्क्रियता घाउको कारणले भन्दा पनि बालेनप्रति जनताको आकर्षणले रहेको विश्लेषण गरिँदै आएको छ ।
‘लामिछाने यसअघिको निर्वाचनमा विजयी भएर सरकारमा पुगिसकेको अवस्था छ । सोही कारण पनि उहाँप्रति खासै आकर्षण नदेखिएको हो । उता, बालेन भने पहिलो पटक संसदीय निर्वाचनमा आउनु भएको छ । उहाँलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार भनी घोषणा गरेका कारण पनि लामिछाने ओझेलमा पर्नु भएको जस्तो देखिन्छ ।’ अधिवक्ता चन्द्रप्रसाद लुइँटेल बताउनु हुन्छ । बालेनको जाँच हुन बाँकी नै रहेका कारण पनि तुलनात्मक रुपमा उहाँकै चर्चा लामिछानेको तुलनामा बढी रहेको लुइँटेलको धारणा छ ।
त्यसो त बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरिएको अवस्थामा समेत उहाँले निर्वाचन क्षेत्र छान्दा जोखिम मोलेको बताइन्छ । उहाँले झापा निर्वाचन क्षेत्र नं.५ बाट उम्मेदवारी दिनु भएको छ । सो क्षेत्रबाट यसअघि नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली विजयी हुनु भएको थियो । अहिले पनि ओली सोही क्षेत्रबाट निर्वाचन लड्दै हुनुहुन्छ ।
त्यसो त उक्त निर्वाचन क्षेत्रबाट ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्दै जित्दै आउनु भएको थियो । यो निर्वाचनमा राप्रपाले आफ्नै उम्मेदवार उठाएको छ । त्यसैगरी यसअघि निकटतम् प्रतिस्पर्धीको रुपमा कांग्रेसका उम्मेदवार रहँदै आएको अवस्था थियो । त्यसैले एमाले र रास्वपाबीचमा जुँगा लडाइमा कांग्रेसले आफ्नो उम्मेदवार मन्धरा चिमोरिया पौडेल विजयी हुने अपेक्षा गर्दै आएको छ ।
यसैबीच, बालेन पूर्वी नेपालका केही जिल्लामा पुगी चुनावी प्रचारमा देखिनु भयो । उहाँ अहिले पश्चिम नेपालका जिल्लाहरुका पुगेर आफ्नो दलको पक्षमा माहौल बनाउन लाग्नु भएको बताइएको छ । यता, लामिछाने भने निर्वाचनको आकर्षण बन्ने भन्दा पनि आफ्नो उपचारमा लाग्ने तथा बचेको समय आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित रहने सोचमा रहेको समाचार स्रोतले बतायो ।
बालेनको दौडाहाले रवि ओझेलमा
Facebook Comments Box
