सडक विभागको रोकिएको बजेट फुकुवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जेनजी आन्दोलनपछि चुनाव खर्चका लागि भन्दै रोक्का पुनर्निर्माणको सवा अर्ब खर्च बढी रुपियाँ बजेट अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बाध्य भएर फुकुवा गरेका छन् । विकासे मन्त्रालयहरुको बजेट रोक्का गर्दा अर्थमन्त्री खनाल आलोचित बन्न थालेपछि आफ्नै निर्णयबाट मन्त्री खनाल पछि हटेका छन् । बजेट रोक्का गरेपछि विकासे मन्त्रालयहरुले कामै गर्न नसकिएको सार्वजनिक रुपमै बताएका थिए ।
रोक्का बजेटको विषयलाई लिएर भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयका सचिवहरुले मन्त्री खनाललाई तीब्र असन्तुष्टि जनाएका थिए । गत असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले टुक्रे योजना र नेताहरुको स्वार्थमा राखिएको करिव १ खर्च २० अर्ब रुपियाँ बजेट रोक्का गर्ने निर्णय गरेको थियो । त्यतिबेला शहरी विकास मन्त्रालयको ६१ अर्ब, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २० अर्ब र ऊर्जा मन्त्रालयको १७ अर्ब रुपियाँ स्थगनमा परेको थियो ।
त्यो समयमा तीनैवटा मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङले गरेका थिए । हाल मन्त्री पदबाट राजिनामा गरी उज्यालो नेपाल पार्टीबाट चुनावको उम्मेदवार बनेका घिसिङले संसदीय समितिमा बजेट फुकुवाको माग गरेका थिए । घिसिङ मन्त्री हुँदा यी तीनवटा मन्त्रालयहरु मध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका निर्माणाधिन सडकहरुले गती लिएको थियो । अहिले यी तिनवटै मन्त्रालयको नेतृत्व र जिम्मेवारी क्रमशः भौतिक पूर्वाधार वन मन्त्रालयको जिम्मेवारी सम्हालेका माधव प्रसाद चौलागाई शहरी विकास भूमी व्यवस्था मन्त्री कुमार इङनाम र ऊर्जामन्त्रालयको जिम्मेवारी उद्योग मन्त्री अनिल कुमार सिन्हाले सम्हालेका छन । यस क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको १० अर्ब रुपियाँ फुकुवा भैसकेको र बाँकी ३ अर्ब बढी रकम फुकुवाको चरणमा रहेको अर्थमन्त्रालय श्रोतले जानकारी दिएको छ ।
अब फुकुवा भएको रकमबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले ठेक्का लागि सकेका र विपादबाट क्षतिग्रस्त बनेका इलाम, बी.पी. राजमार्ग, कोशी राजमार्ग, मेची राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग, त्रिभुवन राजपथ, नारायणघाट–मुग्लिन, अरनिको, सीतापाइला, धार्के, कान्तिलोकपथ, लामोसाँघु जिरी सडक र क्षतिग्रस्त पुलहरु त्था बेलीब्रीज खरिद लगायतका काम धमाधम अगाढि बढ्ने बताइएको छ ।
हाल क्षतिग्रस्त सडकहरु मध्ये वीपी राजमार्ग, दाउन्ने सडक लगायतका सडकले पनि गती लिएको र यी सबै कामका लागि सडक विभागको नेतृत्व गरेका महानिर्देशक डा. विजय जैशीको सकृय भूमिका रहेको श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *