भक्तपुरमा चुनावी सरगर्मी बढ्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ राजधानी काठमाडौंसँगै जोडिएको भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढेको छ । यही फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन् । ती दुवै क्षेत्रमा चुनावी सरगर्मी बढेको हो ।
भक्तपुरको क्षेत्र नं.१ मा भक्तपुरका दुई पालिकाहरु रहेका छन् । चार पालिकामध्ये भक्तपुर र चाँगुनारायण नगरपालिका यो क्षेत्रमा पर्दछ । यस क्षेत्रमा २०४८ सालदेखि २०७९ सालसम्म नेपाल मजदुर किसान पार्टीका उम्मेदवार एकछत्र रुपमा सांसद बन्दै आउनु भएको बताइएको छ । तीन पटक नारायणमान विजुच्छेले जितेको यो निर्वाचन क्षेत्रबाट यस पटक प्रेम सुवाल नै उम्मेदवार बन्नु भएको छ ।
यो निर्वाचन क्षेत्रमा नेमकिपाले दह्रो उपस्थिति देखाउने गरेको इतिहास छ । २०७९ सालमा भएको निर्वाचनमा नेमकिपाका सुवालले ४२,७६१ मत ल्याई विजयको माला पहिरिनु भएको थियो । उहाँका निकटतम् प्रतिस्पर्धीका रुपमा रहनु भएका नेकपा (एमाले) का नवराज गेलालले ११,९६८ मत पाउनु भएको थियो ।
नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समेत समर्थनमा उम्मेदवार बन्नु भएका नेकपा (माओवादी केन्द्र) का सुनील गोथेले ५,१६५ मत मात्र ल्याई चौथो बन्नु भएको थियो । उहाँको भन्दा बढी अर्थात ९,२२२ मत ल्याई राप्रपाका उम्मेदवार भरत बहादुर खड्का तेस्रो बन्नु भएको थियो ।
क्षेत्र नं.१ मा यस पटक कांग्रेसले अधिवक्ता किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीति हुँदै नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्स समेत रहनु भएका न्यौपाने विजयका लागि अहोरात्र खटिनु भएको पनि बताइएको छ । यसैगरी चाँगुनारायण नगरपालिकाका पूर्व प्रमुख सोमप्रसाद मिश्रलाई एमालेले उम्मेदवार बनाएको छ ।
उता, क्षेत्र नं. २ मा भने कांग्रेसका दुर्लभ थापा निर्वाचित हुनु भएको थियो । उहाँले एकीकृत समाजवादी र माओवादी केन्द्रको समेत समर्थन पाउँदा २४,२३९ मत ल्याई विजयको माला पहिरिनु भएको थियो । उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा (एमाले) का महेश बस्नेत रहनु भएको थियो । त्यो बेला राम्रो चर्चामा रहनु भएका बस्नेतले २३,२८२ मत ल्याउनु भएको थियो ।
यसैगरी उक्त निर्वाचन क्षेत्रमा अन्य दलको पनि राम्रो प्रभाव त्यो निर्वाचनमा देखिएको थियो । नेमकिपाकी उम्मेदवार अनुराधा थापा मगरले ७,१२७ मत पाई तेस्रो बन्नु भएको थियो । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विश्वकर्माले ४,०९८ मत ल्याई चौथो बन्नु भएको थियो ।
विगतको निर्वाचनमा त्यस्तो नतिजा रहेको अवस्थामा यस पटक कांग्रेसले वौद्धिक उम्मेदवार उठाएको छ । देशान्तर साप्ताहिकका सम्पादक एवम् अधिवक्ता कबिर राणालाई कांग्रेसले उम्मेदवार बनाएको छ । यसअघि निर्वाचित दुर्लभ थापासहित केन्द्रीय सदस्य अष्टकुमार कवे, गणेशमान चक्रधर, महेश श्रेष्ठ, अन्जना मधिकर्मी, सुरेन्द्र श्रेष्ठ, मुरारीप्रसाद आचार्य, सन्तोष भट्टराई, निशान ढुंगेल जस्ता नेता–नेतृहरु राणालाई जिताउन भनी लागि रहेको पनि बताइएको छ ।
यस्तै, एमालेबाट महेश बस्नेत उम्मेदवार बन्नु भएको छ । यसअघि थापासँग पराजित बस्नेतले पनि मेहनत गरिरहेको बताइएको छ । उता, रास्वपा, राप्रपा, नेमकिपा लगायतका दलहरुले उम्मेदवारी दिएका छन् ।
फागुन ४ गतेबाट प्रचार प्रसारका लागि आधिकारिक रुपमा ढोका खुलेको अवस्थाको मौका छोपी विभिन्न उम्मेदवारहरु टोल टोलमा पुगिरहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *