कानूनव्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलन भक्तपुरमा

Nayabimarsha (Weekly Newspaper from Nepal)
सन्जिब दुलाल

भक्तपुर/ नेपाल बार एशोसिएशनको आयोजनामा कानूनव्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आज शुक्रबारदेखि आयोजना हुने भएको छ ।
“महिलाको समानुपातिक समावेशिता ः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन भोलि शनिबारसम्म संचालन हुने आयोजकले जनाएको छ ।
भक्तपुर जिल्ला अदालत बारको आतिथ्ययतामा हुने उक्त सम्मेलनमा देशभरका कानूनव्यवसायी महिलाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ । भक्तपुरमा आयोजना हुने उक्त सम्मेलनमा देश भरका महिला कानूनव्यवसायीहरूको सहभागिता हुने नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष रामसुन्दर खाइतुले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा बारमा आवद्ध सम्पूर्ण कानून व्यवसायीहरू वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ताका साथै नेपाल बार एशोसिएशनका पूर्व पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि उहाँले आग्रह गर्नुभएको छ ।
भक्तपुरमा हुने उक्त सम्मेलनले नेपालमा महिला अधिकार तथा “महिलाको समानुपातिक समावेशिता ः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” सम्बन्धमा घोषणापत्र पनि जारी हुने अपेक्षा लिइएको उहाँले जानकारी दिनुभयो । यस्तै, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बारका सचिव अनीश सुवालले जानकारी दिनुभयो ।
६ गते अर्थात आज शुक्रबार विहान भक्तपुरको दत्तात्रय मन्दिरबाट प्रभात फेरी निकालेर कार्यक्रमको शुरु गरिने समेत उहाँले जानकारी दिनुभयो । प्रभात फेरी दत्तात्रयहुँदै ख्वप बैंक्वैट नगरकोट रोडमा पुगेर उद्घाटन हुने र दोस्रो दिन भक्तपुर जिल्ला अदालतको सभा कक्षमा विभिन्न विषयहरूमा विषय विज्ञका साथमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
आयोजकले सम्मेलनमा सहभागी हुने सबैलाई अनिवार्य रूपमा कालो कोटसहित मर्यादित पहिरनमा उपस्थित हुन आग्रह गरेको छ । सम्मेलनले महिला कानून व्यवसायीहरूको भूमिका, समानुपातिक समावेशिता तथा न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्त्वपूर्ण छलफल गर्ने विश्वास लिइएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *