बालेनले आज प्रधानमन्त्रीको शपथ लिने : सांसदको शपथ, सरकारसँग जनअपेक्षा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ गत फागुन २१ गते भएको निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिसभाका सदस्यहरुको हिजो विहीबार पद तथा गोपनियताको शपथ भएको छ । ज्येष्ठ सदस्यका रुपमा रहनु भएका अर्जुननरसिंह के.सी.ले सबै सांसदहरुलाई शपथ गराउनु भएको हो । यसअघि के.सी.ले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनु भएको थियो । यसरी सांसदहरुको शपथसँगै नयाँ सरकारको लागि बाटो खुलेको छ । प्रधानमन्त्री सुशीला कार्कीले पनि बालुवाटारस्थित प्रधानमन्त्रीको निवासबाट आफूलाई आप्mनो व्यक्तिगत निवासमा सार्ने कार्य गरिसक्नु भएको छ । यसरी आज शुक्रबार नयाँ प्रधानमन्त्री चयन गर्ने तयारीमा राज्य लागेको छ । यो बेला नयाँ प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) आज शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुनु हुने भएको छ । यो चर्चासँगै देशको राजनीतिक वृत्तमा नयाँ बहस शुरु भएको छ । स्वतन्त्र छविका कारण स्थापित दलहरूभन्दा फरक पहिचान बनाएका बालेनको सम्भावित नेतृत्वलाई आम जनताले आशा र परीक्षण दुवैका रूपमा हेरिरहेका छन् । हालको राजनीतिक र आर्थिक अवस्थाबीच बन्ने नयाँ सरकार कस्तो हुन्छ भन्ने प्रश्नले महत्व पाएको छ । विश्लेषकहरूका अनुसार यदि बालेनले परम्परागत भागबण्डाको राजनीति तोड्दै दक्षता, इमानदारी र कार्यसम्पादनका आधारमा मन्त्रिपरिषद् गठन गर्न सके, त्यसले शासन प्रणालीमै नयाँ सन्देश दिन सक्छ ।
दक्ष र सानो मन्त्रिपरिषद्
नयाँ सरकारको पहिलो संकेत मन्त्री छनोटबाटै देखिनेछ । विज्ञहरू सानो, चुस्त र परिणाममुखी मन्त्रिपरिषद् आवश्यक रहेको बताउँछन् । अर्थतन्त्र, पूर्वाधार, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा विषयगत ज्ञान भएका व्यक्तिहरूलाई जिम्मेवारी दिन सके नीतिको कार्यान्वयनमा गति आउने अपेक्षा गरिएको छ । राजनीतिक दबाबभन्दा बाहिर रही ‘राइट पर्सन इन राइट प्लेस’ को अवधारणालाई आत्मसात गर्नु बालेनका लागि निर्णायक हुने चर्चा छ ।
बालेनको शैली
बालेन शाहको पहिचान सीधा बोल्ने, छिटो प्रतिक्रिया दिने र सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने नेतृत्वका रूपमा स्थापित छ । अनियमितताप्रति कडा र सार्वजनिक रूपमा जवाफदेही देखिने उनको शैलीले युवापुस्तामा विशेष प्रभाव पारेको छ । राष्ट्रिय स्तरको शासनमा यही शैलीलाई संस्थागत प्रक्रियासँग जोड्नु अपरिहार्य हुनेछ । व्यक्तिगत सक्रियतालाई प्रणालीमा रूपान्तरण गर्न सके मात्र दीर्घकालीन परिणाम सम्भव हुने देखिन्छ ।
सरकारको स्वरुप
प्रधानमन्त्रीका रूपमा बालेन शाहले बहुदलीय संसद्, संवैधानिक निकाय र कर्मचारी प्रशासनसँग समन्वय गर्दै अघि बढ्नुपर्नेछ । सहकार्यविना निर्णय कार्यान्वयन कठिन हुने भएकाले संवाद र सहमतिको राजनीतिलाई प्राथमिकता दिनुपर्ने विश्लेषण गरिएको छ ।
शक्तिको सन्तुलन कायम राख्दै संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण सिर्जना गर्नु सुशासनका लागि महत्वपूर्ण हुनेछ ।
अर्थतन्त्रदेखि सुशासनसम्म
नयाँ सरकारको लागि कार्यसूची व्यापक हुने देखिएको छ । वर्तमान सरकार नवपुस्ता (जेन–जी) को आन्दोलनको जगमा बनेकाले वर्तमान सरकारका कार्यसूचीलाई हेर्दा अर्थतन्त्र सुधार, लगानी वातावरण सुदृढीकरण र रोजगारी सिर्जना गर्नु पहिलो प्राथमिकतामा पर्ने देखिन्छ । यसैगरी सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण पनि नयाँ सरकारको प्राथमिकतामा पर्नुपर्ने कुरा हो । यस्तै, डिजिटल शासन र सेवा प्रवाहमा सहजता, पूर्वाधार विकास र दिगो शहरीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधारलाई पनि अबको सरकारले प्राथमिकतामा राख्नुपर्ने कुरा विज्ञहरुले उठाएका छन् । यस्तै, युवापुस्ताको अवसर विस्तार र ‘ब्रेन ड्रेन’ नियन्त्रण गर्न सके मात्र यो सरकारले भोलिका दिनमा विदेशमा रहेका नेपालीका लागि पनि केही गर्न सक्ने भन्ने आशा देखाउने अवस्था रहन्छ ।
विशेषगरी अर्थतन्त्र चलायमान बनाउने र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने निर्णयहरू प्रारम्भिक चरणमै लिनुपर्ने देखिन्छ ।
प्रशासनिक सुधार
सरकारको नीतिलाई कार्यान्वयन गर्ने प्रमुख संयन्त्र कर्मचारी प्रशासन हो । ढिलासुस्ती, जटिल प्रक्रिया र गैरजिम्मेवारीपन हटाउँदै परिणाममुखी प्रशासन निर्माण गर्नु नयाँ नेतृत्वको मुख्य चुनौती रहनेछ । बालेन शाहले कडाइ र प्रोत्साहन दुवै प्रयोग गर्दै प्रशासनलाई जवाफदेही बनाउनुपर्ने देखिन्छ ।
जनताको अपेक्षा
यस पटक जनताले परिवर्तनको मत दिएका छन् । छिटो सेवा, स्पष्ट निर्णय, भ्रष्टाचारमुक्त प्रणाली र प्रत्यक्ष संवादमार्फत जवाफदेहिता सुनिश्चित होस् भन्ने चाहना व्यापक छ । बालेन शाहले आफ्नो विगतको शैली, पारदर्शिता र सक्रियतालाई कायम राख्दै संस्थागत सुधार गर्न सके, जनविश्वास बलियो बन्नेछ ।
अवसर र जोखिम सँगै
नयाँ नेतृत्वसँग ऐतिहासिक अवसर छ कि परम्परागत राजनीतिक अभ्यासलाई सुधार गर्ने । उच्च अपेक्षाकै कारण जोखिम पनि उत्तिकै छ । प्रारम्भिक निर्णय र कार्यसम्पादनले नै सरकारको दिशा तय गर्नेछ । बालेन शाहको सम्भावित नेतृत्वमा बन्ने सरकार ‘नयाँ प्रयोग’ का रूपमा हेरिएको छ । अबको प्रश्न भनेको एउटै हो कि के यो प्रयोगले देशको शासनशैलीमा वास्तविक परिवर्तन ल्याउन सक्छ ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *