कौशल कुमार भट्टराई
नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य संवाहक मानिने नेपाली कांग्रेस अहिले फेरि एक पटक निर्णायक मोडमा आइपुगेको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्यसमितिले मान्यता पाएसँगै यो नयाँ मोडमा पुगेको हो । सर्वोच्च अदालतले २०८२ बैशाख ४ गते थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको हो । यो वैधानिक मान्यताले लामो समयदेखि चलिरहेको विवादलाई कानूनी रूपमा अन्त्य गरेको छ । यता, राजनीतिक रूपमा यो एउटा नयाँ यात्राको शुरुवात हो । अबको चुनौती केवल नेतृत्व कायम गर्नु होइन, पार्टीलाई पुनर्गठित गर्दै जनताको भरोसाको केन्द्रमा पुनः स्थापित गर्नु हो । यही सन्दर्भमा कांग्रेसले अब कस्तो बाटो समात्छ भन्ने प्रश्न अत्यन्त गम्भीर र दूरगामी प्रभाव पार्ने खालको छ ।
थापाको उदयलाई केवल एउटा व्यक्तिको जितका रूपमा हेर्नु पर्याप्त हुँदैन । यो पुस्तान्तरण, नयाँ सोच र परिवर्तनको अपेक्षाको संकेत पनि हो । नयाँ नेतृत्वसँगै पुराना चुनौतीहरू स्वतः समाप्त हुँदैनन् । ती चुनौतीहरूलाई नयाँ ढंगले समाधान गर्ने जिम्मेवारी थपिन्छ । अहिले कांग्रेसभित्रको सबैभन्दा ठूलो समस्या विचारको भन्दा बढी अविश्वासको छ । त्यहाँ गुटगत प्रतिस्पर्धा स्वस्थ राजनीतिक अभ्यासभन्दा अघि बढेर आपसी दूरी र असन्तुष्टिको कारण बनेको छ । यस्तो अवस्थामा थापाले आफूलाई केवल विजेता नभई सबै पक्षको साझा नेता सावित गर्नुपर्नेछ । यसले पराजित वा असन्तुष्ट पक्षलाई पनि समान सम्मान र अवसर दिन सकोस् ।
विशेषगरी रिट निवेदन दायर गर्ने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र वैकल्पिक धारका प्रमुख नेता शेखर कोइरालालाई समेट्ने प्रश्नले आगामी दिनको कांग्रेसको स्थिरता निर्धारण गर्नेछ । खड्का लामो समयदेखि संगठनमा सक्रिय, अनुभवसम्पन्न र व्यावहारिक राजनीतिमा दक्ष नेता मानिन्छन् । उनलाई केवल पराजित पक्षका रूपमा व्यवहार गरिनु रणनीतिक रूपमा गल्ती हुनेछ । उनको अनुभव र संगठनात्मक पकडलाई पार्टी सुदृढीकरणमा प्रयोग गर्नु बुद्धिमानी हुनेछ । उनलाई संगठन सुदृढीकरण, सरकार–पार्टी समन्वय वा रणनीतिक योजना निर्माणमा जिम्मेवारी दिन सकियो भने त्यसले सकारात्मक सन्देश दिनेछ र असन्तुष्टिलाई घटाउनेछ ।
त्यसैगरी शेखर कोइराला कांग्रेसभित्र वैचारिक बहस र वैकल्पिक दृष्टिकोणका प्रतिनिधि हुन् । उनको प्रभाव र समर्थन आधारलाई बेवास्ता गर्नु पार्टीभित्रको विभाजनलाई गहिरो बनाउने जोखिमपूर्ण कदम हुनेछ । फरक मतलाई दबाउनेभन्दा त्यसलाई संस्थागत रूपमा समेटेर नीति निर्माण र रणनीतिमा प्रयोग गर्नु अहिलेको आवश्यकता हो । यदि कोइरालालाई वैचारिक बहस, घोषणापत्र निर्माण र चुनावी रणनीतिमा अग्रणी भूमिका दिइयो भने त्यसले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र सन्तुलन कायम गर्न मद्दत पु¥याउँछ । यसरी फरक धारलाई शक्ति बनाउने सोचले मात्रै कांग्रेसलाई एकढिक्का बनाउन सक्छ ।
कांग्रेसलाई वास्तवमै एकताबद्ध बनाउन नेतृत्वले संवादको संस्कृतिलाई पुनर्जीवित गर्नैपर्छ । पछिल्लो समय राजनीतिक दलहरूमा संवादभन्दा आरोप–प्रत्यारोपको प्रवृत्ति बढेको छ । यसले विश्वासको संकट निम्त्याएको छ । यदि नियमित आन्तरिक छलफल, साझा बैठक र खुला बहसको परम्परा विकास गर्न सकियो भने गुटगत दूरी क्रमशः घट्दै जान्छ । निर्णय प्रक्रियालाई पारदर्शी र सहभागी बनाउनु पनि त्यत्तिकै आवश्यक छ, जसले सबै पक्षलाई आफू सुन्ने र समेटिने अनुभूति दिलाउँछ ।
आगामी असोजमा हुने भनिएको कांग्रेसको १५ औं महाधिवेशनलाई यसै सन्दर्भमा हेर्नुपर्छ । यो महाधिवेशन केवल नेतृत्व चयनको औपचारिक प्रक्रिया नभई पार्टीको वैचारिक दिशा, संगठनात्मक संरचना र भविष्यको रणनीति तय गर्ने अवसर हो । यदि महाधिवेशन निष्पक्ष, पारदर्शी र समावेशी ढंगले सम्पन्न गर्न सकियो भने यसले पार्टीलाई नयाँ ऊर्जा दिन सक्छ । यदि फेरि पनि विवाद, असन्तुष्टि र अविश्वासको वातावरण सिर्जना भयो भने त्यसको असर दीर्घकालीन रूपमा नकारात्मक हुनेछ । त्यसैले सदस्यता वितरणदेखि निर्वाचन प्रक्रियासम्म सबै पक्षमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नु अनिवार्य छ ।
यससँगै कांग्रेसले संगठनात्मक पुनर्निर्माणमा पनि ध्यान दिनुपर्छ । अहिले धेरै ठाउँमा पार्टी संरचना निष्क्रिय जस्तै देखिन्छ, जसले जनतासँगको दूरी बढाएको छ । वडा, गाउँ, नगरदेखि प्रदेशसम्म संगठनलाई सक्रिय बनाउँदै प्रशिक्षण, जनसम्पर्क र कार्यक्रमहरूलाई नियमित गर्नुपर्छ । प्रविधिको प्रयोगमार्फत सदस्यता व्यवस्थापन, सूचना प्रवाह र संगठन सञ्चालनलाई आधुनिक बनाउनु पनि समयको माग हो ।
कांग्रेसको अर्को ठूलो चुनौती भनेको वैचारिक स्पष्टता हो । आजको मतदाता केवल इतिहास र भावनाले मात्र प्रभावित हुँदैन; उसले ठोस नीति र परिणाम खोज्छ । आर्थिक विकास, रोजगारी सिर्जना, सुशासन, शिक्षा र स्वास्थ्य जस्ता विषयमा स्पष्ट, व्यावहारिक र कार्यान्वयन योग्य योजना प्रस्तुत गर्न सके मात्रै कांग्रेसले पुनः जनविश्वास जित्न सक्छ । अन्यथा, केवल परम्परागत छविमा टिकेर अघि बढ्न गाह्रो हुनेछ ।
पुस्तान्तरणको सन्दर्भ पनि यहाँ अत्यन्त महत्वपूर्ण छ । गगन स्वयं नयाँ पुस्ताका प्रतिनिधि भए पनि उनले पुराना र नयाँ पुस्ताबीच सन्तुलन कायम गर्नुपर्नेछ । वरिष्ठ नेताहरूको अनुभवलाई सम्मान गर्दै युवाहरूलाई नेतृत्वमा अवसर दिनु नै दिगो समाधान हो । यदि युवालाई केवल प्रतीकात्मक रूपमा अघि सार्ने तर वास्तविक निर्णय प्रक्रियामा सहभागी नगराउने हो भने त्यो दीर्घकालीन रूपमा प्रभावकारी हुँदैन । त्यसैले नेतृत्व विकासलाई संस्थागत गर्दै भविष्यका नेताहरू तयार गर्ने दीर्घकालीन योजना आवश्यक छ ।
अन्ततः कांग्रेसको शक्ति जनतामै निहित छ । जनतासँगको सम्बन्ध बलियो बनाउन सके मात्रै कुनै पनि राजनीतिक दल दिगो रूपमा सफल हुन्छ । नियमित जनसंवाद, स्थानीय मुद्दामा सक्रियता र डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत कांग्रेसले जनतासँग पुनः जोडिन सक्छ । जनताको गुनासो सुन्ने, त्यसको समाधान गर्ने र आफूलाई उत्तरदायी सावित गर्ने अभ्यासले मात्रै विश्वास निर्माण हुन्छ ।
यसरी हेर्दा कांग्रेसका लागि अहिलेको समय केवल चुनौती होइन, अवसर पनि हो । गगन नेतृत्वको कार्यसमितिले पूर्णबहादुर खड्का, शेखर कोइराला लगायत सबै पक्षलाई समेट्दै समावेशी, पारदर्शी र परिणाममुखी नेतृत्व दिन सके कांग्रेसले नयाँ उचाइ हासिल गर्न सक्छ । यदि पुरानै गुटगत सोच र शक्ति संघर्षले निरन्तरता पायो भने यो ऐतिहासिक अवसर गुम्ने जोखिम पनि उत्तिकै रहन्छ । त्यसैले अहिले आवश्यक छ कि एकता, स्पष्ट दृष्टिकोण र दृढ नेतृत्व, जसले कांग्रेसलाई पुनः नेपाली जनताको भरोसाको केन्द्रमा स्थापित गर्न सकोस् ।
यसका लागि सभापति गगनले खुल्ला छाति लिएर सबैलाई समेट्ने प्रयास गर्नै पर्छ । त्यसो त उनले यसको प्रयास थालेको देखिएको पनि छ । आइतबार नै उनले खड्काको निवासमै गएर भेट गरेका छन् । हिजोको दिनमा शक्तिमा बसेका खड्कालगायतलाई आगामी महाधिवेशनमा सँगै लाने गरी नयाँ मार्ग कोरिनु पर्छ । यसका लागि महाधिवेशनको लागि अर्को कुनै आयोजक समिति गठन गर्न सकिन्छ ।
त्यस्तो समितिमा खड्का, कोइराला आदि सबैखालेहरुको प्रतिनिधित्व गराउँदै कांग्रेसको महाधिवेशन गराइनु उचित हुन्छ । त्यस्तो महाधिवेशन होस् जसमा कांग्रेसका सबैलाई समेट्न सकियोस् । यसका लागि सभापति थापाले जति खुल्ला हृदय देखाउन सक्छन्, त्यति नै कांग्रेसलाई एकढिक्का बनाउन सहयोग पुग्ने देखिन्छ ।
हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको मुखमा कांंग्रेसमा देखिएको विवादले कांग्रेसको नतिजा राम्रो आउन सकेन । निर्वाचनको मुखमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउनु तथा पुरानो कार्यसमितिमा रहेका खड्का, कोइरालालगायतले त्यसलाई भित्रदेखि नस्वीकार्नुले निर्वाचनमा नकारात्मक असर पारेको देखिएको छ ।
कांग्रेस एकढिक्का नभएको मौकाको फाइदा अरु दल खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको देखिन्छ । कांग्रेस अन्य दलहरु जस्तो अवस्थामा नरहेको इतिहास साक्षी छ । नेपालको हरेकजसो महत्वपूर्ण परिवर्तनमा कांग्रेसको भूमिका निर्णायक रहँदै आएको देखिन्छ । त्यसमाथि २०४६ सालको परिवर्तन पछिका हरेक परिवर्तनमा कांग्रेस निर्णायक अवस्थामा रहँदै आएको थियो ।
त्यसैले कांग्रेसलाई एकढिक्का बनाउनका लागि कुनै पनि खालको कसर सभापति गगनले राख्नु हुँदैन । उनी अहिले ठाउँमा भएकाले झुक्ने कार्य उनैले गर्नु पर्ने देखिन्छ । यसैगरी अरुले पनि गगनसँग गनगन मात्र नगरी पुराना तुषलाई विर्सन सक्नुपर्ने हुन्छ । अनुभवी नेताहरुले आफ्नो अनुभवलाई नयाँपुस्तालाई हस्तान्तरण गर्न सक्नुपर्छ । यसैगरी नयाँपुस्ताले पनि पुरानालाई सम्मान गर्दै नयाँ ढंगबाट कांग्रेसलाई अघि बढाउने कार्य गर्नुपर्छ । अहिलेको अवस्थामा नयाँ दल भनिने राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकको शासनसत्तामा आएको छ ।
यस्तो अवस्थामा कांग्रेसमा पुनर्जागरण गरिनुपर्ने अवस्था छ । कांग्रेसलाई पुनर्जीवन दिनका लागि सबैले अबका दिनमा गुट नचलाउने निर्णयमा पुग्नैपर्ने हुन्छ । अबको दिनमा कांग्रेसलाई विभिन्न गुटबाट मुक्त गरी कांग्रेसका रुपमा मात्र रहन दिने अवस्थामा पु¥याउनु सबैका लागि हितकर हुने देखिन्छ ।
यसैगरी सबैको ध्यान कांग्रेसलाई पुनर्जीवन कसरी दिन सकिएला भन्ने कुरामा केन्द्रित हुनुपर्ने देखिन्छ । यसका लागि कांग्रेसका सबै नेता कार्यकर्ताहरुले आत्मसमीक्षा गरी कांग्रेसलाई सुदृढ बनाएर लानुपर्ने आवश्यकता देखिन्छ ।
