कांग्रेसभित्रको संघर्ष, गगनको परीक्षा

Nayabimarsha (Weekly Newspaper from Nepal)
कौशल कुमार भट्टराई

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग अभिन्न रूपमा जोडिएको राजनीतिक दल हो नेपाली कांग्रेस । कांग्रेस अहिले फेरि एक पटक गम्भीर आन्तरिक संघर्षको चरणबाट गुज्रिरहेको छ । बाहिरबाट हेर्दा यो सामान्य गुटगत असन्तुष्टिको अवस्था जस्तो देखिए पनि वास्तविकता त्योभन्दा गहिरो छ । यो संघर्ष अब केवल व्यक्तिहरूबीचको शक्ति प्रतिस्पर्धा मात्र रहेको अवस्थामा छैन ।
कांग्रेस अब पुरानै शैलीमा चल्ने कि नयाँ पुस्ताको नेतृत्वमा नयाँ संरचना र संस्कृतितर्फ जाने भन्ने प्रश्नसँग जोडिएको छ । विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पार्टीभित्र लामो समयदेखि दबिएको शक्तिसंघर्ष सतहमा आएको हो । त्यो नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत वैधानिक मान्यता दिइसकेको छ । अब विवादको कानूनी आधार समाप्त भइसकेको छ । अहिले बाँकी रहेको कुरा राजनीतिक स्वीकार्यता, मनोवैज्ञानिक सहजता र शक्तिसन्तुलनको प्रश्न मात्र हो ।
विशेष महाधिवेशनको विरोधमा उभिएका नेताहरूमा पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि लगायत रहेका थिए । अन्ततः त्यही नेतृत्वको हस्ताक्षर भएको टिकट बोकेर गत फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा खड्का बाहेक सहभागी भए । खड्का स्वयं मतदान प्रक्रियामा सहभागी भए र कांग्रेस उम्मेदवारलाई मतदान गर्न सार्वजनिक अपिलसमेत जारी गरे । खड्काको निर्वाचन क्षेत्रमा उनकै सहोदर भाइ विष्णु बहादुर खड्का नै कांग्रेसको उम्मेदवार बने । उनी निर्वाचित भएका पनि छन् ।
यदि विशेष महाधिवेशनलाई उनीहरूले पूर्णतः अस्वीकार गरेका हुन्थे भने त्यसबाट बनेको संरचनाको टिकट स्वीकार गरेर निर्वाचनमा जानु सम्भव थिएन । यसले व्यवहारतः उनीहरूले नयाँ नेतृत्वलाई मान्यता दिइसकेको स्पष्ट संकेत दिएको थियो ।
त्यसैगरी ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, किशोरसिंह राठौर, नारायणप्रसाद (एन.पी.) सावद लगायतका नेताहरू पनि निर्वाचनमा उम्मेदवार बने । कतिपय पराजित भए, कतिपय राजनीतिक रूपमा कमजोर देखिए । यही अवस्थाले कांग्रेसभित्रको अहिलेको असन्तुष्टि वैचारिक भन्दा पनि शक्तिकेन्द्रित र भविष्यको भूमिकासँग सम्बन्धित रहेको बुझ्न कठिन छैन । वास्तवमा अहिले कांग्रेसभित्रको मुख्य संघर्ष “कसले नेतृत्व गर्ने” भन्दा पनि “कसरी नेतृत्व स्वीकार गर्ने” भन्ने मनोविज्ञानमा केन्द्रित देखिन्छ ।
पछिल्लो समय खड्का, कोइराला लगायतका नेताहरूले “कांग्रेसलाई मिलाउने जिम्मा सभापति गगन थापाको हो” भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिइरहेका छन् । सतहमा हेर्दा यो एकताको पक्षमा बोलेको जस्तो देखिए पनि व्यवहारमा भने समानान्तर गतिविधि रोकिएको छैन । छुट्टाछुट्टै भेला, शक्ति प्रदर्शनी, दबाब समूह निर्माण र सार्वजनिक असन्तुष्टि प्रकट गर्ने काम जारी छ ।
अर्कोतर्फ, प्रकाशमान सिंह तथा विमलेन्द्र निधि जस्ता नेताहरू पनि पूर्ण रूपमा खुला विद्रोहमा नदेखिए पनि प्रतीक्षाको राजनीतिमा बसेको आभास हुन्छ । उनीहरू न त पूर्ण सहकार्यमा देखिन्छन्, न पूर्ण विरोधमा । यही “बीचको राजनीति” ले कांग्रेसलाई स्वाभाविक रूपमा अघि बढ्न कठिन बनाइरहेको छ ।
यथार्थ के हो भने अहिले कांग्रेसलाई सबैभन्दा बढी आवश्यक कुरा स्पष्ट दिशा हो । लामो समयदेखि कांग्रेस “सबैलाई मिलाएर लैजाने” नाममा निर्णयहीनताको शिकार बन्दै आएको थियो । गुट व्यवस्थापनमै ऊर्जा खर्च हुँदा संगठन कमजोर भयो, कार्यकर्ता निराश भए र मतदातामा पनि कांग्रेसप्रतिको भरोसा घट्दै गयो । यही कारण पछिल्ला वर्षहरूमा नयाँ पुस्ताले वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षण देखाएको थियो ।
यस्तो अवस्थामा गगन थापाको उदय केवल एउटा व्यक्तिको उदय होइन, कांग्रेसभित्र नयाँ पुस्ताको मनोविज्ञान र परिवर्तनको चाहनाको उदय पनि हो । उनको पक्षमा देखिएको समर्थन केवल भाषणकला वा लोकप्रियताको कारण होइन; बरु उनीभित्र देखिएको निर्णयक्षमता पनि हो । यसैगरी ऊर्जा, राजनीतिक जोखिम लिन सक्ने आत्मविश्वास र “अब कांग्रेस बदलिनुपर्छ” भन्ने सन्देश पनि थापाको उदयको अर्को कारण हो । अहिले धेरै कांग्रेस समर्थक, शुभेच्छुक तथा लोकतान्त्रिक विचार राख्ने मतदाताले कांग्रेसलाई पुनर्जीवित गर्न सक्ने सम्भावना गगन नेतृत्वमै देखिरहेका छन् ।
गगन सामु चुनौती पनि कम छैन । उनले अब आफूलाई कुनै एउटा गुटको नेता होइन, सम्पूर्ण कांग्रेसको साझा नेतृत्वका रूपमा स्थापित गर्नुपर्नेछ । त्यसका लागि उनी लचिलो पनि हुनुपर्छ र दृढ पनि । अहिले उनी धेरै नै सहनशील र संवादमुखी देखिएका छन् । यदि लचकताको अर्थ निरन्तर दबाब सहेर मात्र बस्ने भयो भने नेतृत्वको प्रभावकारिता कमजोर बन्न सक्छ । पार्टी सञ्चालनमा स्पष्टता, अनुशासन र निर्णय क्षमता पनि उत्तिकै आवश्यक हुन्छ ।
असन्तुष्ट पक्षका नेताहरूले पनि एउटा यथार्थ बुझ्नुपर्ने बेला आएको छ । यदि उनीहरूले कांग्रेसबाट अलग भएर नयाँ दल गठन गर्ने बाटो रोजे भने त्यसले तत्काल केही चर्चा त पाउन सक्छ, तर दीर्घकालीन राजनीतिक प्रभाव अत्यन्त सीमित हुने सम्भावना बढी छ । नेपालको राजनीतिक इतिहासमा विभाजनबाट जन्मिएका धेरै दलहरू अन्ततः अस्तित्व जोगाउन संघर्षरत अवस्थामा पुगेका उदाहरण प्रशस्त छन् । वामदेव गौतम नेतृत्वको तात्कालिन नेकपा (माले) को अहिलेको अवस्था त्यसको एउटा स्पष्ट उदाहरणका रूपमा हेरिन्छ । केवल असन्तुष्टि र अहंकारको आधारमा बनेका दलहरूले जनताको दीर्घकालीन विश्वास जित्न सकेका छैनन् ।
आजको नेपाली राजनीति निकै परिवर्तन भइसकेको छ । जनताले अब केवल नाम, वंश वा इतिहास हेरेर मत दिने अवस्था छैन । उनीहरूले परिणाम खोजिरहेका छन् । सुशासन, सेवा प्रवाह, आर्थिक सुधार, रोजगारी र स्थिरताको कुरा अहिले उठ्न थालेको छ । यही पृष्ठभूमिमा वर्तमान बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारप्रति पनि विभिन्न तहमा असन्तुष्टि बढ्दै गएको चर्चा सुनिन थालेको छ । शुरुवाती उत्साह र वैकल्पिक राजनीतिक आशाको प्रतीकका रूपमा देखिएको आकर्षण अहिले व्यावहारिक परीक्षणको कठोर चरणमा पुगेको छ । प्रशासनिक समन्वय, राजनीतिक परिपक्वता, नीति कार्यान्वयन र जनअपेक्षाको व्यवस्थापनमा देखिएका चुनौतीहरूले जनतामा निराशा बढाएको देखिन्छ ।
यही परिस्थितिमा कांग्रेसले आफूलाई जिम्मेवार, अनुभवी र स्थिर विकल्पका रूपमा उभ्याउन सक्यो भने पुनरागमनको ठूलो सम्भावना छ । त्यो सम्भावना केवल सरकारको कमजोरीले मात्र निर्माण हुँदैन । कांग्रेस आफैं विश्वसनीय बन्नुपर्छ । जनताले “अरूभन्दा कम खराब” होइन, “वास्तवमै सक्षम” विकल्प खोजिरहेका छन् । त्यसैले कांग्रेसले अब विगतको गौरवको कथा मात्र होइन, भविष्यको स्पष्ट दृष्टि पनि दिन सक्नुपर्छ ।
गगन थापाले पार्टीभित्र युवा र पुरानो पुस्ताबीच सन्तुलन कायम गर्दै संगठनलाई कार्यक्रममुखी बनाउन सक्नुपर्ने अवस्था छ । यसैगरी कार्यकर्तालाई सक्रिय र आशावादी बनाउने तथा जनताको दैनिक जीवनसँग जोडिएका विषयहरुलाई समयमै सम्वोधन गर्न सक्नुपर्ने हुन्छ । यसका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, अर्थतन्त्र र सुशासमा स्पष्ट मार्गचित्र (रोडम्याप) दिन सके भने कांग्रेस फेरि राष्ट्रिय राजनीतिमा केन्द्रमा फर्कन सक्छ । त्यसका लागि पार्टीभित्र निरन्तर चलिरहेको शक्तिसंघर्षलाई अन्त्य गर्नु अपरिहार्य छ ।
कांग्रेस एक ढिक्का भएर अघि बढ्नका लागि अब केही आधारभूत राजनीतिक संस्कार विकास गर्नैपर्ने अवस्था आएको छ । पहिलो, नेतृत्व परिवर्तनलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भनेर स्वीकार गर्ने संस्कार बसालिनुपर्छ । दोस्रो, पार्टीभित्र असन्तुष्टि राख्ने अधिकार रहँदा रहँदै पनि समानान्तर संरचना र निरन्तर दबाबको राजनीतिलाई निरुत्साहित गर्नुपर्छ । तेस्रो, गगन थापाले असन्तुष्ट पक्षलाई अपमानित होइन, सम्मानित अनुभूति गराउँदै जिम्मेवारी बाँडफाँट गर्नुपर्छ । त्यो जिम्मेवारी पार्टीलाई बन्धक बनाउने सर्तमा भने होइन । चौथो, कांग्रेसले अब व्यक्तिकेन्द्रित गुट राजनीतिभन्दा माथि उठेर नीति, कार्यक्रम र संगठनलाई केन्द्रमा राख्नुपर्छ । पाँचौँ, पुराना नेताहरूले पनि आफ्नो अनुभवलाई अवरोध होइन, मार्गदर्शनमा रूपान्तरण गर्नुपर्ने बेला आएको छ ।
यदि कांग्रेसभित्र पुस्तान्तरणलाई संघर्षको विषय होइन, स्वाभाविक राजनीतिक विकासको रूपमा स्वीकार गर्न सकियो भने मात्रै पार्टी दीर्घकालीन रूपमा बलियो बन्न सक्छ । अन्यथा व्यक्तिगत अहंकार, अविश्वास र शक्ति–संघर्षले कांग्रेसलाई कमजोर बनाइरहनेछ । यदि अहिलेको नेतृत्व र असन्तुष्ट पक्ष दुवैले समयको संकेत बुझेर सहकार्यको बाटो रोजे भने कांग्रेस फेरि नेपाली राजनीतिमा निर्णायक शक्ति बन्न सक्ने आधार अझै समाप्त भएको छैन ।
योसँगै असन्तुष्ट रहेको भनिएका नेताहरुले पनि नयाँ पार्टी खोलेर बस्ने जमर्को गर्ने पक्षमा सोच्नु ठीक हुन्न । जिन्दगीभरी कांग्रेसमा रहेर राजनीति गरी आफ्नो पहिचान पनि कांग्रेस भएकै कारण बनाएका नेता–नेतृहरुले हालको बदलिँदो परिवेशलाई बुझ्नु जरुरी छ । उनीहरुले पनि आफूलाई समय सापेक्ष बनाई कांग्रेसको वृहत्तर हितलाई ध्यानमा राखी नयाँ पुस्ताको नेतृत्वलाई स्वीकारेर कांग्रेसलाई चलायमान बन्न दिनु उचित हुन्छ । यसैगरी गगन थापा लगायतका हालको नेतृत्वमा रहेका नेता–नेतृहरुले पनि पुराना पुस्ताकाहरुको सम्मानजनक बहिर्गमनको लागि अवसर प्रदान गर्नु उचित हुन्छ ।
सिंगो कांग्रेस नै मर्माहत भएको यो बेला इतर पक्ष भन्दै विभिन्न किसिमका समानान्तर गतिविधि गर्ने कार्य बन्द गरिनुपर्छ । उहाँहरुले आफैंलाई स्थापित गर्ने भन्दा पनि कांग्रेसको हितलाई ध्यानमा राखी आफूलाई खुल्ला रुपमा प्रस्तुत गर्नु उचित हुन्छ । यसैगरी कसैलाई कांग््रेसको अबको नेतृत्व गर्ने चाहना छ भने उहाँले अबको वैधानिक प्रतिस्पर्धाबाट आफूलाई स्थापित गराउन सक्ने अवस्था पनि विद्यमान नै देखिन्छ ।
त्यसका लागि आगामी १५औं महाधिवेशनलाई माध्यम बनाउन सक्ने अवस्था छँदैछ । हिजोका दिनमा २०१६ सालमा कांग्रेसको महाधिवेशनमा भूराज राईले कांग्रेसको नेतत्वका लागि बी.पी.कोइरालासँग प्रतिस्पर्धा गरेको नजीर छँदैछ । यसैगरी शेरबहादुर देउवा, सुशील कोइराला आदि पनि प्रतिस्पर्धाबाटै आउनु भएको हो । त्यसैले प्रतिस्पर्धालाई कांग्रेसले सधँै स्वीकारेकै कुरा हो ।
अबका दिनमा गगन वा विश्वप्रकाश शर्मा वा अरु कोही पनि कांग्रेसको नेतृत्वका लागि उम्मेदवार बन्न सक्ने देखिएको छ । यसैगरी नयाँ पार्टी बनाएर सानो झुण्डको नेता बन्ने चाहना राख्नु भन्दा पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहहरुले आफूलाई प्रतिस्पर्धामा उतारे हुन्छ । आफ्नो हैसियत जाँची आएको परिणामलाई स्वीकार्नु सबैका लागि लोकतान्त्रिक संस्कार भित्रै पर्ने कुरा पनि हो ।
त्यसैले कांग्रेसमा विद्रोह वा विग्रहको मार्ग कोर्ने कार्यमा कोही पनि लाग्नु उचित हुन्न । अघिल्लो पुस्ताले नयाँ पार्टी बनाएर चलाउन सक्ने अवस्था पनि रहन्न । वामदेव गौतमको हाल हुनुभन्दा सहज बहिर्गमनको मार्गमा जाँदा राम्रो हुन्छ । इतर पक्षमा देखिएका भनिएका नेता–नेतृहरुले यसअघि कांग्रेसमा भएकै कारण आफ्नो हैसियत बनाएको कुरालाई विर्सन्नु हुन्न । उनीहरुले त टाङ अडाएर बस्नु भन्दा पनि सहज निकासको लागि मार्ग प्रशस्त गरिदिनु उचित देखिन्छ । त्यसो गर्न नचाहनेले आगामी महाधिवेशनमा आफूलाई उम्मेदवार बनाएर आफ्नो उम्मेदवारीलाई परीक्षण गराउनु पनि उचितै हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *