‘सनसेट ल’ को तयारीमा सरकार

Nayabimarsha (Weekly Newspaper from Nepal)
कौशल कुमार भट्टराई

नेपालमा पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विकास निर्माणका कामलाई तीव्र गतिमा अघि बढाउन “‘सनसेट ल’” (Sunset Law) ल्याउने तयारी गरिरहेको चर्चा छ । विशेष गरी सडक, जलविद्युत्, प्रसारण लाइन, पर्यटन पूर्वाधार, औद्योगिक क्षेत्र तथा राष्ट्रिय गौरवका आयोजनाहरू वर्षौंसम्म कानूनी र प्रशासनिक जटिलताका कारण अल्झिने गरेका छन् । यस्तो अवस्थामा सरकारले यो अवधारणा अघि सारेको बताइएको छ । विकास निर्माणका काम छिटो सम्पन्न गर्नका लागि केही कानूनी प्रक्रिया निश्चित अवधिका लागि सरल बनाउने सोचका रूपमा यसलाई हेरिएको छ । वास्तवमा ‘सनसेट ल’ भनेको के हो ? यसको इतिहास, सिद्धान्त र नेपालजस्तो मुलुकमा यसको आवश्यकता किन महसुस गरिएको हो ? यी प्रश्नको उत्तर खोज्न आवश्यक छ ।
‘सनसेट ल’लाई सरल भाषामा बुझ्दा, कुनै कानून वा कानूनी व्यवस्था निश्चित समयका लागि मात्र लागू हुने गरी बनाइने प्रणाली हो । यसमा कानून लागू रहने समयसीमा शुरुमै तोकिएको हुन्छ । त्यो अवधि समाप्त भएपछि उक्त कानून स्वतः निष्क्रिय हुन्छ, जबसम्म संसद्ले त्यसलाई पुनः नवीकरण वा निरन्तरता दिने निर्णय गर्दैन । अर्थात् यो स्थायी कानून नभई समयसीमित कानून हो । यसलाई कानूनको “म्याद सकिने व्यवस्था” भनेर पनि बुझ्न सकिन्छ ।
उदाहरणका लागि, सरकारले कुनै विशेष विकास आयोजना छिटो सम्पन्न गर्न केही कानूनी प्रक्रिया १० वर्षका लागि सरल बनाउने व्यवस्था ग¥यो भने त्यो व्यवस्था १० वर्षपछि स्वतः समाप्त हुनेछ । त्यसपछि त्यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषय फेरि समीक्षा हुनेछ । यही विशेषताले ‘सनसेट ल’ लाई अन्य सामान्य कानूनभन्दा फरक बनाउँछ ।
‘सनसेट ल’ को अवधारणा लोकतान्त्रिक शासन व्यवस्थाको एउटा महत्वपूर्ण सिद्धान्तसँग जोडिएको छ । यसको मूल दर्शन के हो भने कुनै पनि कानून वा विशेष अधिकार अनन्तकालसम्म कायम रहनु हुँदैन । यदि कुनै कानून विशेष परिस्थितिका लागि बनाइएको हो भने त्यसको आवश्यकता समय–समयमा पुनः मूल्याङ्कन हुनुपर्छ । त्यसैले ‘सनसेट ल’ ले सरकारलाई असाधारण अधिकार त दिन्छ, तर त्यो अधिकार स्थायी बनाउँदैन ।
विश्वका धेरै देशमा यो अवधारणा विभिन्न रूपमा प्रयोग गरिएको पाइन्छ । विशेष गरी आपत्कालीन अवस्था, आर्थिक सुधार, कर प्रणाली, सुरक्षा व्यवस्था वा विकास परियोजनासँग सम्बन्धित विषयमा निश्चित अवधिका लागि विशेष कानून बनाइने र त्यसको प्रभावकारिता पछि समीक्षा गरिने अभ्यास छ । यसले सरकारलाई तत्काल आवश्यक निर्णय लिन सहज बनाउँछ भने अर्कोतर्फ संसद् र जनताप्रति जवाफदेही पनि बनाइराख्छ ।
नेपालमा ‘सनसेट ल’ को चर्चा विकास आयोजनामा देखिएको अत्यधिक ढिलासुस्तीका कारण शुरु भएको हो । नेपालमा कुनै सडक निर्माण, प्रसारण लाइन विस्तार, जलविद्युत् आयोजना सञ्चालन वा औद्योगिक परियोजना स्थापना गर्न वर्षौंसम्म विभिन्न निकायको अनुमति लिनुपर्ने अवस्था रहँदै आएको छ । वन क्षेत्रको उपयोग, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, सार्वजनिक खरिद प्रक्रिया, स्थानीय तहको सहमति तथा विभिन्न मन्त्रालयको स्वीकृतिका कारण धेरै आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । कतिपय परियोजनाको निर्माण कार्यभन्दा अनुमति लिन लाग्ने समय नै बढी हुने गरेको गुनासो लगानीकर्ता र सरकारी अधिकारीहरूबाट आउने गरेको छ ।
यही समस्यालाई सम्बोधन गर्नका लागि केही कानूनी प्रक्रियालाई निश्चित अवधिका लागि सरलीकरण गर्ने सोच अघि सारिएको देखिन्छ । सरकारको तर्क अनुसार यदि विकासका काममा देखिएका अनावश्यक अवरोध हटाउन सकियो भने पूर्वाधार निर्माणले गति लिनेछ, लगानी बढ्नेछ र आर्थिक गतिविधि विस्तार हुनेछ ।
‘सनसेट ल’ को सबैभन्दा ठूलो फाइदा भनेको विकास आयोजनाको गति बढ्नु हो । अहिले कुनै आयोजना शुरु गर्न वर्षौंसम्म विभिन्न निकाय धाउनुपर्ने अवस्था छ । यदि अनुमति प्रक्रिया सरल र समयवद्ध बनाइयो भने परियोजना छिटो अघि बढ्न सक्छन् । यसले सरकारी खर्चको प्रभावकारिता बढाउन र विकासको प्रतिफल जनतासम्म छिटो पुर्‍याउन सहयोग पुग्न सक्छ ।
यसको अर्को महत्वपूर्ण पक्ष लगानीसँग सम्बन्धित छ । नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताले कानूनी प्रक्रिया लामो र जटिल भएको गुनासो बारम्बार गर्दै आएका छन् । यदि अनुमति प्राप्त गर्ने प्रक्रिया छिटो र स्पष्ट भयो भने लगानीकर्ताको विश्वास बढ्न सक्छ । लगानी बढेमा रोजगारी सिर्जना हुने, उद्योग विस्तार हुने र आर्थिक वृद्धि दरमा समेत सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।
‘सनसेट ल’ का सम्भावित जोखिमहरू पनि कम छैनन् । विकासलाई गति दिने नाममा वातावरणीय संरक्षणका मापदण्ड कमजोर पारियो भने त्यसको दीर्घकालीन असर गम्भीर हुन सक्छ । नेपाल जैविक विविधता र प्राकृतिक सम्पदाले सम्पन्न देश भएकाले वन, नदी तथा पर्यावरणीय सन्तुलनलाई बेवास्ता गरेर विकास गर्नु भविष्यका लागि महँगो साबित हुन सक्छ ।
यसैगरी, कानूनी प्रक्रिया छोट्याउने नाममा पारदर्शिता र सार्वजनिक उत्तरदायित्व कमजोर हुने खतरा पनि रहन्छ । यदि निगरानी संयन्त्र बलियो बनाइएन भने विशेष अधिकारको दुरुपयोग, भ्रष्टाचार वा राजनीतिक प्रभावको सम्भावना बढ्न सक्छ । स्थानीय समुदायको सहभागिता र अधिकार पनि कमजोर हुन सक्ने चिन्ता केही विज्ञहरूले व्यक्त गरेका छन् ।
त्यसैले ‘सनसेट ल’ को सफलताको आधार केवल प्रक्रिया छोट्याउनु मात्र होइन, त्यससँगै बलियो निगरानी, पारदर्शिता र जवाफदेहिताको व्यवस्था कायम गर्नु पनि हो । विकास र सुशासन दुवैलाई सँगै लैजान सकिएन भने यस्तो व्यवस्था विवादको विषय बन्न सक्छ ।
नेपालका लागि ‘सनसेट ल’ नयाँ अवधारणा जस्तो देखिए पनि यसको आधारभूत सोच पूर्ण रूपमा अपरिचित भने होइन । नेपाली कानूनी प्रणालीमा पनि केही व्यवस्थाहरू समयसीमित प्रकृतिका छन् । उदाहरणका लागि, सरकारले जारी गर्ने अध्यादेश निश्चित प्रक्रियाभित्र संसद्बाट अनुमोदन नभए स्वतः निष्क्रिय हुने व्यवस्था छ । यसले पनि कानूनी अधिकारलाई समयसीमाभित्र राख्ने सिद्धान्तलाई नै प्रतिविम्वित गर्छ ।
‘सनसेट ल’ विकासका अवरोध हटाउने एउटा औजार हो, आफैंमा समाधान होइन । यसले सडक, जलविद्युत्, प्रसारण लाइन, उद्योग तथा अन्य पूर्वाधार परियोजनालाई गति दिन सक्छ । त्यसका लागि कानूनी नियन्त्रण, वातावरणीय सुरक्षा, स्थानीय सहभागिता र सार्वजनिक उत्तरदायित्वलाई पनि समान महत्व दिनुपर्छ । यदि विकास र सुशासनबीच सन्तुलन कायम गर्न सकियो भने ‘सनसेट ल’ नेपालका लागि आर्थिक रूपान्तरणको महत्वपूर्ण माध्यम बन्न सक्छ । यदि यसलाई केवल प्रक्रियागत अवरोध हटाउने उपायका रूपमा मात्र प्रयोग गरियो भने यसले नयाँ विवाद र चुनौती पनि जन्माउन सक्छ । त्यसैले अहिलेको बहसको केन्द्रमा केवल “छिटो विकास” होइन, “जिम्मेवार र दिगो विकास” हुनुपर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *