चाणक्य नीति र बालेनको शैली

Nayabimarsha (Weekly Newspaper from Nepal)
कौशल कुमार भट्टराई

इतिहासमा केही व्यक्तित्व यस्ता हुन्छन्, जसका विचार र रणनीतिहरू समयको सीमाभन्दा धेरै परसम्म प्रभावशाली रहन्छन् । भारतीय उपमहाद्वीपका महान राजनीतिक चिन्तक, कूटनीतिज्ञ तथा अर्थशास्त्री चाणक्य त्यस्ता व्यक्तित्वमध्ये एक हुन् । करिब २३०० वर्षअघि उनले प्रतिपादन गरेका राज्य सञ्चालन, नेतृत्व, शक्ति सन्तुलन, गोपनीयता र रणनीतिसम्बन्धी सिद्धान्तहरू आज पनि राजनीति, प्रशासन, व्यापार र नेतृत्वका क्षेत्रमा अध्ययन गरिन्छन् । चाणक्यको मूल विश्वास थियो कि केवल शक्तिशाली हुनु पर्याप्त हुँदैन, त्यो शक्ति कहिले, कसरी र कुन उद्देश्यका लागि प्रयोग गर्ने भन्ने ज्ञान अझ महत्वपूर्ण हुन्छ ।
नेपालको समकालीन राजनीतिमा हेर्दा हालका प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) को कार्यशैलीलाई लिएर विभिन्न कोणबाट चर्चा हुने गरेको छ । कतिपयले उनलाई परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिने नयाँ पुस्ताका प्रतिनिधि मान्छन् । मेरो अध्ययनमा चाणक्य नीतिका प्रमुख नीतिहरु बालेनले आत्मसात गरेको जस्तो लागेको छ । त्यसो त मैले चाणक्य नीतिलाई अध्ययन गर्दा त्यो नीतिसँग मेल खाने गरी बालेनले आफ्नो कार्यशैली गर्दै गएको जस्तो मेरो बुझाई छ । त्यसैले उनको शैलीलाई चाणक्य नीतिका केही पक्षहरूसँग तुलना गर्दै आजको यो लेख तयार गरेको छु ।
विशेषगरी कम बोल्ने, अचानक निर्णय लिने, विपक्षीलाई आफ्नो अर्को कदम अनुमान गर्न कठिन बनाउने, जनसमर्थनलाई राजनीतिक शक्तिका रूपमा प्रयोग गर्ने तथा आवश्यक पर्दा मात्र धारणा सार्वजनिक गर्ने शैलीका कारण यस्तो तुलना गर्नु उचित लागेको छ । बालेन र चाणक्य फरक युग, फरक प्रणाली र फरक जिम्मेवारीका पात्र हुन् । चाणक्य साम्राज्य निर्माणका रणनीतिकार थिए भने बालेन लोकतान्त्रिक व्यवस्थाभित्र निर्वाचित जनप्रतिनिधि हुन् । नेतृत्वका केही आधारभूत सिद्धान्त भने समयसँगै बदलिँदैनन् । यही सन्दर्भमा चाणक्य नीतिका केही प्रमुख विशेषताहरू र बालेनको कार्यशैलीबीच देखिने समानताको विश्लेषण रोचक बन्ने ठानेर यो लेखमा मैले तुलनात्मक रुपमा पस्कने प्रयास गरेको छु ।
१. कम बोल, तर बोलेपछि प्रभाव पार्ने ः चाणक्यले अनावश्यक बोलाइलाई कमजोरी मान्थे । उनका अनुसार धेरै बोल्ने व्यक्तिले आफ्ना योजना, भावना र कमजोरी आफैं सार्वजनिक गरिदिन्छ । त्यसैले नेतृत्वमा मौनता पनि एउटा शक्ति हो ।
बालेनको सार्वजनिक जीवनमा यही विशेषता धेरै देखिन्छ । अन्य राजनीतिक नेताहरू जस्तो हरेक विषयमा दैनिक प्रतिक्रिया दिने शैली उनले अपनाएका छैनन् । कहिलेकाहीँ राष्ट्रिय राजनीतिमा ठूलो विवाद हुँदा समेत उनी लामो समय मौन बसेका देखिन्छन् । जब बोल्छन्, उनका अभिव्यक्तिहरू समाचारको मुख्य विषय बन्छन् ।
उदाहरणका लागि, संघीय सरकार, राजनीतिक दल वा प्रशासनिक निकायसँग विवाद उत्पन्न भएका बेला उनले लामो समय सार्वजनिक प्रतिक्रिया नदिई एकाएक सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका घटनाहरू छन् । यसले उनको प्रत्येक अभिव्यक्तिलाई बढी महत्व दिने वातावरण निर्माण गरेको छ । चाणक्यका अनुसार यही मौनताले नेतृत्वको प्रभाव बढाउँछ ।
२. योजना तयार नहुँदासम्म सार्वजनिक नगर ः चाणक्यले रणनीतिक योजनालाई गोप्य राख्नुपर्ने बताएका थिए । उनका अनुसार योजना कार्यान्वयन हुने बेलामा मात्र सार्वजनिक गर्दा विरोधी पक्ष तयारीविहीन हुन्छ ।
काठमाडौं महानगरका प्रमुख हुँदा बालेनले सञ्चालन गरेका कतिपय डोजर अभियान, अवैध संरचना हटाउने अभियान वा सडक अतिक्रमणविरुद्धका कदमहरूमा यही शैली देखिएको थियो । धेरै अवस्थामा विस्तृत सार्वजनिक बहसभन्दा पहिले नै महानगरको टोली कार्यक्षेत्रमा पुगेको देखिन्थ्यो ।
विशेषगरी नयाँ बसपार्क, फुटपाथ अतिक्रमण, नदी किनार क्षेत्र तथा सार्वजनिक जग्गा संरक्षणका अभियानहरूमा सम्बन्धित पक्षले पूर्ण तयारी गर्ने अवसर नपाउने गरी कदम चालिएको भनी आलोचना र प्रशंसा दुवै सुनिए । समर्थकहरूले यसलाई चाणक्य शैलीको रणनीतिक गोपनीयता भने भने आलोचकहरूले पर्याप्त संवादबिना गरिएको कदमका रूपमा व्याख्या गरे । यो शैली प्रधानमन्त्री बनेको यो बेला पनि बालेन प्रस्तुत गरिरहका छन् । नदी किनारका बस्ती हटाउनेदेखि लिएर संसद्मा अकस्मात पुगेर बोल्नका लागि हात उठाएर समय मागी रोष्टममा प्रश्नोत्तर कार्यक्रममा सरिक हुनुले पनि बालेनले यो नीतिलाई पालना गर्ने गरेको देखिएको छ ।
३. विपक्षीको कमजोरी पहिचान गर ः चाणक्यले शत्रुलाई हराउनुअघि उसको कमजोरी बुझ्नुपर्ने बताएका थिए । उनी प्रत्यक्ष युद्धभन्दा सूचनाको प्रयोगलाई बढी प्रभावकारी मान्थे ।
बालेनले विभिन्न सरकारी निकाय, ठेकेदार, भूमाफिया वा प्रशासनिक संरचनामाथि प्रश्न उठाउँदा प्रायः कानूनी, प्रशासनिक वा नैतिक कमजोरीलाई केन्द्रमा राख्ने गरेका छन् । उदाहरणका रूपमा काठमाडौंका सार्वजनिक जग्गा, नदी किनार अतिक्रमण तथा भवन मापदण्डका विषयमा उनले उठाएका प्रश्नहरूलाई लिन सकिन्छ । उनले प्रत्यक्ष व्यक्तिमाथि होइन, प्रणालीभित्रका कमजोरीमाथि प्रहार गर्ने प्रयास गरेको देखिन्छ । यसले बहसलाई व्यक्ति केन्द्रितभन्दा नीति केन्द्रित बनाउन सहयोग गरेको छ । यसैगरी हालै सम्पन्न निर्वाचनमा समेत उनले विपक्षीको कमजोरीलाई पहिचान गरी त्यसलाई आफ्नो चुनावमा प्रयोग गरेका थिए । विगतका नेताहरुको कार्यशैलीदेखि लिएर झापा निर्वाचन क्षेत्र नं.५ का मतदातासमक्ष पुग्दा उनले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका कमी कमजोरीलाई मतदातासँग उठाएका थिए ।
४. अर्को कदम कसैले अनुमान गर्न नसकोस् ः चाणक्यको एउटा महत्वपूर्ण नीति थियो कि नेता यति सहज रूपमा पढ्न सकिने हुनु हुँदैन कि विरोधीले उसको अर्को चाल पहिल्यै बुझोस् ।
बालेनको राजनीतिक तथा प्रशासनिक शैलीमा यही पक्ष विशेष रूपमा देखिन्छ । उनी कहिले राष्ट्रिय विषयमा कडा प्रतिक्रिया दिन्छन्, कहिले महिनौंसम्म मौन बस्छन् । कहिले संघीय सरकारसँग टकरावको अवस्थामा देखिन्छन् भने कहिले सहकार्यको भाषा बोल्छन् । उदाहरणका लागि, कतिपय विवादास्पद घटनामा तुरुन्त प्रतिक्रिया नदिएर केही दिनपछि मात्र धारणा सार्वजनिक गर्ने उनको शैलीले समर्थक र आलोचक दुवैलाई उनको अर्को कदमबारे अनुमान गर्न कठिन बनाउने गरेको छ । चाणक्यका अनुसार यही अनिश्चितता नेतृत्वको रणनीतिक शक्ति हो ।
५. जनतालाई आफ्नो सबैभन्दा ठूलो शक्ति बनाऊ ः चाणक्यले राजाको सबैभन्दा ठूलो सुरक्षा सेना होइन, जनताको विश्वास हो भनेका छन् । जनता साथमा भए सत्ता टिक्छ, जनता टाढिए शक्ति कमजोर हुन्छ ।
बालेनको उदय नै जनसमर्थनको बलमा भएको हो । कुनै ठूलो राजनीतिक दलको संरचना बिना काठमाडौंको नेतृत्वमा पुग्नु आफैंमा जनमतको शक्तिको उदाहरण हो । महानगर र संघीय सरकारबीच मतभेद देखिएका विभिन्न समयमा उनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जनताको समर्थनलाई नै आफ्नो मुख्य शक्ति बनाएको देखिन्छ । सामाजिक सञ्जालमा उनको पक्षमा उभिने ठूलो समूह हुनु पनि यही जनाधारको संकेत हो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब दुई तिहाईको बहुमत दिलाई प्रधानमन्त्री बन्नुमा उनले थोरै भाषण गरेर जनतालाई देशव्यापी रुपमा मन्त्रमुग्ध पार्न सक्नु पनि हो ।
६. आवश्यक पर्दा मात्र आक्रमण गर ः चाणक्यले अनावश्यक संघर्षलाई बुद्धिमानी मानेका थिएनन् । उनले समय आएपछि मात्र निर्णायक कदम चाल्नुपर्ने भनी आप्mनो नीतिमा राखेका थिए ।
बालेनको कार्यशैलीमा पनि धेरै समय प्रतिक्षा गरेर एकाएक कडा कदम चाल्ने प्रवृत्ति देखिन्छ । कतिपय विवादित संरचनामाथिको कारबाही वा प्रशासनिक निर्णयहरू लामो अध्ययनपछि आएको दाबी महानगरले गर्ने गरेको थियो । यसले समर्थकहरूलाई उनी आवेगमा होइन, अवसर हेरेर निर्णय गर्ने व्यक्ति हुन् भन्ने विश्वास दिलाएको छ ।
७. भावनाभन्दा परिणामलाई प्राथमिकता ः चाणक्य आदर्शवादीभन्दा व्यवहारवादी थिए । उनका लागि निर्णयको मूल्यांकन परिणामबाट हुन्थ्यो ।
बालेनले गरेका कतिपय निर्णय विवादित भए पनि समर्थकहरूले तिनलाई परिणाममुखी ठान्ने गरेका छन् । उदाहरणका लागि सडक अतिक्रमण हटाउने, सार्वजनिक स्थान खाली गराउने वा अव्यवस्थित संरचनामाथि कारबाही गर्ने विषयमा तत्काल आलोचना भए पनि दीर्घकालीन रूपमा शहर व्यवस्थापनका लागि आवश्यक कदम भएको तर्क प्रस्तुत गरिन्छ । लोकतन्त्रमा परिणामसँगै प्रक्रिया पनि महत्वपूर्ण हुने भएकाले आलोचकहरूले संवाद र सहमतिलाई समेत प्राथमिकता दिनुपर्ने बताउने गरेका छन् ।
८. आफ्नो उपस्थिति सधैं प्रत्यक्ष हुनुपर्दैन ः चाणक्यका अनुसार प्रभावशाली व्यक्तिको शक्ति केवल उसको उपस्थितिमा होइन, अनुपस्थितिमा पनि महसुस हुनुपर्छ ।
बालेन लामो समय सार्वजनिक कार्यक्रममा नदेखिए पनि राष्ट्रिय बहसमा उनको नाम निरन्तर चर्चामा रहने गरेको छ । राजनीतिक दलहरू, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनका सम्भावित कदमबारे निरन्तर चर्चा हुनु आफैंमा प्रभावको संकेत हो । चाणक्यको दृष्टिमा यस्तो अवस्था नेतृत्वको सफलतामध्ये एक मानिन्छ ।
९. संस्थागत कमजोरीमाथि प्रहार गर ः चाणक्यले व्यक्तिभन्दा प्रणाली सुधारलाई बढी महत्व दिएका थिए । उनी राज्य कमजोर बनाउने संरचनात्मक समस्याहरू हटाउनुपर्ने पक्षमा थिए ।
बालेनले पनि धेरैजसो समयमा व्यक्ति विशेषभन्दा संस्थागत समस्या, भ्रष्टाचार, ढिलासुस्ती, अव्यवस्था र प्रशासनिक कमजोरीमाथि प्रश्न उठाउने गरेका छन् । यही कारण उनका धेरै अभिव्यक्तिहरू कुनै एक व्यक्तिभन्दा एउटा प्रणालीतर्फ लक्षित देखिन्छन् ।
१०. छवि पनि शक्ति हो ः चाणक्यका अनुसार नेतृत्वमा वास्तविक शक्तिसँगै शक्तिशाली छवि पनि आवश्यक हुन्छ । मानिसहरूले सक्षम ठानेको नेता वास्तविकताभन्दा अझ प्रभावशाली बन्न सक्छ ।
बालेनको सार्वजनिक छवि स्वतन्त्र, निर्भीक र स्थापित राजनीतिक संस्कारविरुद्ध उभिने नेताको रूपमा निर्माण भएको छ । यही छविले उनका धेरै निर्णयलाई अतिरिक्त राजनीतिक ऊर्जा प्रदान गरेको देखिन्छ ।
११. अन्तिम लक्ष्य नबिर्स ः चाणक्यले नेतृत्वको सबैभन्दा ठूलो गुण लक्ष्यप्रतिको निरन्तर प्रतिवद्धता मानेका थिए । आलोचना, प्रशंसा, विवाद वा प्रशंसकको भीडले लक्ष्य बदलिनु हुँदैन ।
बालेनले काठमाडौंलाई व्यवस्थित, सफा र आधुनिक शहर बनाउने लक्ष्यलाई बारम्बार दोहो¥याउने गरेका छन् । त्यो लक्ष्य कति हासिल भयो भन्ने बहस छुट्टै विषय हो, तर सार्वजनिक रूपमा उनले आफ्नो मूल अजेन्डा परिवर्तन नगरेको देखिन्छ । यसैगरी प्रधानमन्त्री बनेपछि पनि उनले चालेका कामहरुलाई हेर्दा उनी आफूले चाहेका तथा चालेका कार्यहरुलाई लक्ष्यमा पु¥याउने पक्षमा रहेको देखिँदै आएको छ । कर्मचारीको टे«ड युनियनको खारेजी, कलेजमा राजनीतिक दलका विद्यार्थी युनियनहरुको उपस्थिति हटाउने जस्ता कार्यमा उनी अन्तिम लक्ष्यामा पुगेको नै देखिन्छ ।
माथिका बुँदागत कुराहरुलाई मैले तुलनात्मक रुपमा उठाए पनि चाणक्य नीति र बालेनको कार्यशैलीबीच पूर्ण समानता खोज्नु इतिहास र वर्तमान दुवैप्रति अन्याय हुन सक्छ । कम बोल्ने, रणनीतिक रूपमा निर्णय सार्वजनिक गर्ने, जनसमर्थनलाई शक्ति बनाउने, विपक्षीलाई अनुमान गर्न कठिन बनाउने, प्रणालीका कमजोरीमाथि प्रहार गर्ने तथा आवश्यक पर्दा मात्र कडा रूपमा प्रस्तुत हुने जस्ता पक्षहरूमा निश्चित रूपमा केही समानता देखिन्छ ।
सायद यही कारणले धेरै मानिसहरूले बालेनलाई परम्परागत राजनीतिभन्दा फरक शैलीको नेता मान्ने गरेको भनी प्रतिक्रिया दिने गरेका छन् । मैले भने बालेनको कार्यशैली धेरै मानेमा चाणक्यको नीतिसँग मेल खाने गरी तुलना गर्ने प्रयास गरेँ । आधुनिक लोकतन्त्रमा केवल चाणक्य शैलीको रणनीति पर्याप्त हुँदैन । त्यससँगै पारदर्शिता, संवाद, सहकार्य र संस्थागत उत्तरदायित्व पनि उत्तिकै आवश्यक हुन्छ । सफल नेतृत्व त्यही हो, जसले चाणक्यको रणनीतिक बुद्धिमत्तालाई लोकतान्त्रिक मूल्यहरूसँग सन्तुलित गर्न सक्छ । यही सन्तुलन कायम गर्न सकेमा मात्र कुनै पनि नेता दीर्घकालसम्म प्रभावशाली र जनविश्वासयुक्त रहन सक्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *