सम्पादकीय
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानले सम्पन्न राष्ट्र हो । यही विविधताभित्रको एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति हो । संविधानले पनि सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा अवलम्बन गर्ने अधिकार सुनिश्चित गरेको छ । पछिल्ला केही वर्षयता सामाजिक सञ्जालमा फैलाइने अफवाह, उत्तेजक अभिव्यक्ति, राजनीतिक स्वार्थ तथा बाह्य प्रभावका कारण धार्मिक तथा सामाजिक सद्भावमा बेला–बेला चुनौती देखिन थालेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको पछिल्लो घटनाले पनि यही यथार्थलाई पुनः उजागर गरेको छ । एउटा स्थानीय विवाद धार्मिक संवेदनशीलतासँग जोडिँदै हिंसात्मक बन्दै जानु, सरकारी पक्षबाट गोली चल्दा एक जनाको ज्यान जानु, नौ जना घाइते हुनु, आगजनी हुनु, कफ्र्यु लगाउनुपर्ने अवस्था आउनु र चारै सुरक्षा निकाय परिचालन गर्नुपर्ने परिस्थिति सिर्जना हुनु कुनै पनि लोकतान्त्रिक समाजका लागि चिन्ताको विषय हो । यो घटना केवल एउटा जिल्लाको समस्या मात्र होइन, सम्पूर्ण मुलुकका लागि गम्भीर चेतावनी पनि हो । धार्मिक आस्थाका विषय अत्यन्त संवेदनशील हुन्छन् । यस्ता विषयमा तथ्यभन्दा बढी अफवाह फैलिने, भावनाभन्दा बढी उत्तेजना पैदा हुने र सत्यभन्दा बढी भ्रमले स्थान पाउने जोखिम रहन्छ । त्यसैले यस्ता घटनामा संयमता, कानूनी प्रक्रिया र संवाद नै सबैभन्दा प्रभावकारी उपाय हुन् । राज्यको पहिलो दायित्व नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्नु हो । त्यससँगै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउनु पनि उत्तिकै आवश्यक छ । यदि कुनै पक्षबाट कमजोरी भएको छ भने त्यसलाई लुकाउने होइन, पारदर्शी रूपमा अनुसन्धान गरी न्याय दिलाउनुपर्छ । न्यायमा ढिलाइ हुँदा अफवाहले स्थान पाउँछ, अविश्वास बढ्छ र समाजमा विभाजन गहिरिँदै जान्छ । त्यसैले सरकारले सुरक्षा व्यवस्थापनसँगै सत्य तथ्य सार्वजनिक गर्ने, पीडितलाई न्याय दिलाउने र सबै समुदायबीच विश्वास पुनःस्थापित गर्ने कामलाई प्राथमिकता दिनुपर्छ ।
देवानगञ्ज घटनापछि देशका विभिन्न स्थानमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सद्भाव–याली निकालिनु सकारात्मक पक्ष हो । समाजका अगुवा, धार्मिक नेता, नागरिक समाज र सर्वसाधारणले शान्ति, सहिष्णुता र आपसी सम्मानको पक्षमा उभिनु नै नेपाली समाजको वास्तविक चरित्र हो । त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा मंगलबार आयोजित सर्वदलीय भेलाबाट सबै राजनीतिक दलले आफ्ना तल्लास्तरका संगठनमार्फत धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गर्ने सहमति गर्नु स्वागतयोग्य कदम हो । राष्ट्रिय हित र सामाजिक एकताका विषयमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर साझा धारणा बनाइनु लोकतान्त्रिक परिपक्वताको संकेत पनि हो । यो सहमति कागजमा सीमित नरही गाउँ–टोलसम्म व्यवहारमा लागू हुन सके मात्र यसको सार्थकता प्रमाणित हुनेछ । आजको सूचना प्रविधिको युगमा एउटा झूटो सूचना केही मिनेटमै लाखौँ मानिससम्म पुग्न सक्छ । त्यसैले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा राजनीतिक कार्यकर्ताको जिम्मेवारी अझ बढी बढेको छ । पुष्टि नभएका सूचना, धार्मिक भावनामा चोट पुग्ने सामग्री वा उत्तेजना फैलाउने अभिव्यक्तिलाई निरुत्साहित गर्न सबै पक्ष सचेत हुनुपर्छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा घृणा, हिंसा वा विभाजन फैलाउने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । त्यस्तै, सुरक्षा निकायले पनि कानून कार्यान्वयन गर्दा अधिकतम संयमता अपनाउनुपर्छ । बल प्रयोग अन्तिम विकल्प हुनुपर्छ, पहिलो होइन । नेपालको इतिहासले कठिन राजनीतिक संक्रमण, प्राकृतिक विपत्ति र अनेक चुनौतीका बीच पनि सामाजिक सद्भावलाई जोगाउँदै आएको छ । यही सद्भावले देशलाई एकताबद्ध बनाएको हो । त्यसैले कुनै पनि घटना वा उक्साहटलाई सम्पूर्ण समुदायबीचको द्वन्द्वका रूपमा चित्रण गर्नु घातक हुन्छ । अपराधीको कुनै धर्म हुँदैन, हिंसाको कुनै जात हुँदैन र कानुन सबैका लागि समान हुनुपर्छ भन्ने मान्यता व्यवहारमा उतार्न सकिए मात्र दीर्घकालीन शान्ति सम्भव हुन्छ ।
देवानगञ्जको घटना अब हिंसाको श्रृंखला बढाउने बहाना होइन, आत्मसमीक्षाको अवसर बन्नुपर्छ । सरकारले निष्पक्ष अनुसन्धान र प्रभावकारी शान्ति व्यवस्थापनमार्फत नागरिकको विश्वास जित्नुपर्छ । राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई संयमता र सहिष्णुताको सन्देश दिनुपर्छ । धार्मिक अगुवाले मेलमिलापको वातावरण निर्माण गर्न अग्रसर हुनुपर्छ भने सञ्चारमाध्यम र नागरिक समाजले सत्य, जिम्मेवारी र सद्भावको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । विविधतामा एकता नेपालको पहिचान हो । यही पहिचान जोगाउनु आजको सबैभन्दा ठूलो राष्ट्रिय दायित्व हो । धार्मिक तथा सामाजिक सद्भाव कायम रह्यो भने मात्र लोकतन्त्र बलियो हुन्छ, विकासले गति लिन्छ र समृद्ध नेपालको सपना साकार हुन सक्छ । त्यसैले आजको आवश्यकता प्रतिशोध होइन, संयमÙ विभाजन होइन, एकताÙ घृणा होइन, सद्भाव हो ।
